ङिमा पाख्रिन / न्युजर्सी
न्युयोर्कमा वरिष्ट पप गायक ओम बिक्रम बिष्ट सहयोग साँझ सम्पन्न भएको छ । गत शनिवार, डिसेम्बर ३० तारिक, न्युयोर्कको ज्याक्सन हाईट स्थित शेर्पा किदुग हलमा भएको कार्यक्रम नेपाली अमेरिकन कलाकार सँघ र रिभेल ईभेन्ट्को संयुक्त आयोजनामा भएको हो । सिर्जना स्याङदन, राजेश हमाल, अभय ढुंगेल, राम श्रेष्ठ, शिशिर श्रेष्ठ, न्हुच्छेमान डँगोल, दावा शेर्पा लगायतले आयोजकको तर्फबाट मुख्यरुपमा अगुवाई गरेका थिए । आयोजकका अनुसार कार्यक्रमबाट ५,२३७/- डलर संकलन भएको छ भने केहि थप सहयोग संकलन हुन बाँकी समेत रहेको छ । सँकलित रकम यसै हप्ताभित्र गायक ओम बिक्रम बिष्टलाई हस्तान्तरण गर्ने जानकारी नेपाली अमेरिकन कलाकार सँघका महासचिव अभय ढुंगेलले दिएका छन् ।
युवा कलाकार बिक्की पुलामी र सकुन ज्ञवालीद्वारा सँचालित कार्यक्रममा सपनाश्री, तिलक बम मल्ल, गम्बु शेर्पा, पुनम प्रधान, गीता बिर्लाकोटी, न्हुन्छेमान डंगोल, सँगिता मुखिया, बिमल डाँगी, राम श्रेष्ठ, राजेन्द्र राई, बिक्की पुलामी, पूजा न्यौपाने, सानु शेर्पा, विश्व तेन्जिङ, यशोदा खालिङ राई, बसन्ती राई, रानी श्रेष्ठ, सुरेन्द्र बास्तोला, सुबर्ण शाक्य, अनु खड्का लगायत कलाकारहरुले बिभिन्न नयाँ पुराना गीतहरु प्रस्तुत गरेका थिए । यसका साथै बिट्स ब्यान्डको तर्फबाट रोकेश गुरुङ, ठिले थकाली र रिञ्जी शेर्पाले पनि प्रस्तुती राखेका थिए ।
कार्यक्रममा न्युयोर्क स्थित नेपाली बाणिज्य दुतावासका बाणिज्यदूत कृष्ण कुमार क्षेत्रीले गायक बिष्टलाई सहयोगको लागि दुतावासको तर्फबाट सरकारको ध्यानाकर्षण गराई सकेको बताए । एभरेष्ट टाईम्ससँग फोनमा छोटो कुरा गर्दै गायक बिष्टले अहिलेसम्म सरकारको तर्फबाट कुनै सहयोग नपाएको स्पष्ट पारेका छन् । स्वास्थ्य मन्त्री दीपक बोहोरा समक्ष सहयोगको लागि अनुरोध गरिएको तर हालसम्म कुनै खबर नपाएको गुनासो उनले राखे । ‘सरकारी सहयोग पाउँना राजनीतिक पार्टीको कार्यकर्ता बन्नु पर्दो रहेछ’ उनले भने ‘म भने जनताको कलाकार बने’ । उनको घाँटीमा भएको खरावीले बोल्न पनि गाह्रो भईरहेको थियो ।
कुनै बेला पप सम्राटको उपनामले समेत चिनिएका ६३ बर्षिय गायक ओम बिक्रम बिष्टको दुवै मृगौलामा खराबी देखिएका पछि अहिले उपचारको क्रममा छन् । हप्तामा तीन पटकसम्म डयलोसिस गरी रहेका बिष्टको मृगौला प्रत्यारोपन गर्नु पर्ने भएको छ । यसको लागि ठुलो खर्चको भार हुने गर्दछ । छोरी जुवाईसँग न्ययोर्कको क्यानजोहोरी शहरमा रहेका बिष्टको डायलसिसको खर्च बीमाले ब्यहोरे पनि औषधीहरु अमेरिकामा अत्यन्तै महँगा हुन्छन्, जुन आफैले किन्नु पर्ने पारिवारिक स्रोतले बताएको छ । अमेरिकामै उपचार गराउने हो भने मृगौला प्रत्यारोपणका लागि कम्तीमा पाँच वर्षसम्म पर्खनुपर्ने हुन्छ । मृगौला दान पाउँना कम्तीमा पाँच वर्ष पर्खनुपर्ने बताएपछि भारत लगेर प्रत्यारोपण गर्ने योजना परिवारले बनाएको छ । लगातार डाइलाइसिस गरिरहेकाले उनलाई लामो यात्रा गर्न पनि मिल्दैन ।
उपचारमा लाग्ने खर्चका कारण तत्काल भारत जान पनि कठिन हुने बुझिएको छ । भारतमै गएर उपचार गर्दा पनि महँगो खर्च पर्न आउँछ । एक्लै जान नमिल्ने भएकोले बिरामी कुरुवा, मृगौला दान गर्ने व्यक्ति र उनका कुरुवा लगायत गरी केहि जनाको टोली नै गएर भारतमा एक महिना जति होटलमा बस्दा, खाँदा र उपचारमा लाग्ने सबै खर्च गर्दा कम्तीमा २५ लाख जति लाग्छ । अहिले यत्रो खर्च जुटाउन निकै अप्ठेरो परेको उनले बताएका छन् । प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गर्दै उनले भने, ‘मैले कहिल्यै कसैसँग मागेको थिइनँ । अहिले मेरो जीवन बचाउनका निम्ति कसैले माया र श्रध्दाले सहयोग गर्नुहुन्छ भने यस्तो अवस्थामा सबैको सहयोग लिन म बाध्य भएको छु ।’
गायक बिष्टको उपचार सहयोगार्थ नै अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास)को आयोजनामा वाशिङटन डिसी स्थित एम्वेशी हलमा पनि यही जनवरी २० तारिक साँझ एक कार्यक्रमको आयोजना हुँदैछ । न्युयोर्कबाट गायक पुनम प्रधान यसमा आफ्नो प्रस्तुती दिन कार्यक्रममा पुग्ने उनले जानकारी दिए ।
गायक विष्टको उपचार खर्च जुटाउने उद्देश्यले ‘गो फण्ड मी’ नामक अनलाइन आर्थिक संकलन अभियान पनि सँचालनमा छ । यस मार्फत सहयोग गर्न चहानेले यो लिङ्कबाट गर्न सक्ने छ । https://www.gofundme.com/4aso5fs