तेम्बा दोङ्बा ह्योल्मो
विनासकारी भूकम्पले सिंगो नेपाललाई क्षति पुर्याउँदा ह्योल्मो जातिको आस्थाको केन्द्रको रुपमा स्थापित काठमाडौं बौद्धमा अवस्थित ह्योल्मो समाज सेवा केन्द्रको सामुदायिक भवन, ह्योल्मो गुम्बालाई पनि क्षति पुग्यो । गुम्बाको भूई तल्लाका केही पिलरहरु र गुम्बाको मूख्य देवालयका भित्तासहित अन्य भागमा भूकम्पले क्षति पुर्याएको थियो । उक्त क्षतिका कारण लामो समय सम्मा ह्योल्मो समुदायहरुले विभिन्न पूजापाठ तथा मर्दापर्दाका कार्यहरुमा उपभोग गर्न पाएनन् ।
स्वदेश तथा विदेशमा रहेका आदिबासी ह्योल्मोहरुको रगत पसिनाले बनेको यो गुम्बालाई एउटा सामुदायिक भवन वा मन्दिरमात्र नभई ह्योल्मो जातिको आस्थाको केन्द्रको रुपमा पूजिन्छ । अन्य समुदायसमेत हरेक सुखदुःखमा काम लागेको यस गुम्बालाई भूकम्पले क्षति पु¥याउदा दुःख नमान्ने, मन नदुखेको ह्योल्मो सायदै कोही होला ।
धेरैलाई आफ्नो घर भत्केकोमा भन्दा पनि यस गुम्बालाई पु¥याएको क्षति प्रति बढि चिन्तित भए । युवा युवतीदेखि वृद्धवृद्धा सबैले यस गुम्बालाई पुनः पहिलेकै स्वरुपमा कसरी ल्याउने होला भन्नेमा चिन्तित हुदै त्यसको लागि उपायहरु पहिल्याउन लागे । जहाँ ईच्छा त्यहाँ उपाय भने झै, सारा ह्योल्मोले ईच्छाएपछि आफ्ना घरहरु अझै पुननिर्माण हुन बाँकी रहेपनि ह्योल्मो गुम्बालाई भने ढल्न दिएनन् र पुनः पहिलाकै अवस्थामा जगाएरै छाड्यो ।
ह्योल्मो समाज सेवा केन्द्रका वर्तमान पदाधिकारी, पुनर्निर्माण समितिका पदाधिकारी लगायत भूतपूर्व पदाधिकारी तथा आम ह्योल्मोहरुको करिब दुई वर्ष लामो प्रयास अनि अथक परिश्रम पश्चात अहिले ह्योल्मो गुम्बाले पहिलेकै रुप पाएको छ । यस गुम्बाको पुनर्निमाण कार्य सम्पन्न भए लगतै विसं २०७४ साल मंसिर २४, २५, २६ र २७ गते गरी जम्मा चार दिनसम्म विविध औपचारिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरी ह्योल्मो गुम्बाको ह्राब्ने (प्राण प्रतिस्थापन) कार्यक्रम सम्पन्न गरिएको छ ।
राब्ने कार्यक्रमको पहिलो दिन मंसिर २४ गते गुम्बालाई दुलही झैं सजाई ह्योल्मोका लामा गुरुहरुबाट विविध धार्मिक पूजापाठ गरी प्रतिस्थापन कार्यको थालनी गरिएको थियो । दोस्रो दिन हिमाली बौद्ध धर्म अन्तर्गत ङिङ्मा सम्प्रादयका श्रद्धय धर्म गुरु क्याब्जे दुन्जोम याङसी रिन्पोछेबाट विविध धार्मिक मन्त्रोचरण गरी धार्मिक पुजापाठका साथ प्राण प्रतिस्थापन कार्य सम्पन्न गरिएको थियो । ह्राब्ने कार्यसँगै उपस्थित सम्पूर्ण महानुभावहरुलाई रिन्पोक्षेबाट दीर्घायु अभिषेख (छेवाङ) प्रदान गरिएको थियो । सोही अवसरमा हिमाली बौद्ध धर्म दर्शनमा उल्लेख्य योगदान दिएका तथा बौद्ध धर्म दर्शन प्राप्तीको निम्ति ल्होसुम डुवा (तीन वर्ष तीन महिनाको) कठिन तपस्य पुरा गर्नु भएका ह्योल्मो समुदायका धर्मगुरुहरुलाई विशेष प्रशंसापत्र सहित सम्मान पनि गरिएको थियो ।
ह्राब्ने कार्यक्रमको तेस्रो दिन मंसिर २६ गते नेपाल सरकारका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्निर्मित ह्योल्मो गुम्बाको समुद्घाटन गर्नु भएको थियो । सोही अवसरमा गुम्बाको पुननिर्माण कार्यमा उल्लेख्य योगदान पुर्याउने विभिन्न संघ संस्था तथा महानुभावहरुलाई सम्मान पत्र र खादाले सम्मान गरिएको थियो ।
ह्राब्ने कार्यक्रमको अन्तिम दिन मंसिर २७ गतेका दिन ह्योल्मो समुदायका किन्जोचेन्दी लामाहरुबाट गुरु रिन्पोक्षेको नाच (बा क्षाम) प्रस्तुत गरिएको थियो । बा क्षामको साथामा ह्योल्मोका कलाकारहरुबाट मौलिक सांस्कृतिक स्याब्रु नाच पनि प्रस्तुत गरी मनोरञ्जन गरेका थिए । ह्योल्मो समुदायका श्रद्धय धर्मगुरु मेमे ङवाङ तेन्जिङ रिन्पोक्षेबाट सारा जगतको कल्याण तथा विश्व शान्तिको निम्ति जिन्श्रेक (होम) पुजा गरी राब्ने पुजा सम्पन्न गरिएको थियो ।
ह्योल्मो समुदायबाट मात्रै करिब एक करोडभन्दा बढी चन्दा सहयोग संकलन गरेर उक्त गुम्बाको पुननिर्माण कार्य सम्पन्न भएको छ । अल्पसंख्यक ह्योल्मो जाति जनसंख्यको हिसाबले थोरै भए पनि आफ्नो जातिको शानको रुपमा रहेको ह्योल्मो गुम्बाको पुननिर्माणका लागि दिल खोलेर गरिएको चन्दा सहयोग तथा तदारुक्तालाई मध्येनजर गर्दा साँच्चै ह्योल्मो गुम्बा ह्योल्मोहरुको आस्थाको केन्द्र हो भन्ने प्रष्ट हुन्छ । भूकम्पले तहसनहस पारेका अधिकांश भौतिक संरचनाहरु पुननिर्माण हुन नसकिरहेको अवस्थामा ह्योल्मो गुम्बाको पुननिर्माण अनि प्राण प्रतिस्थापन (ह्राब्ने) कार्यक्रम सम्पन्न गरेर ह्योल्मो समुदायले आफ्नो आस्थाको केन्द्रलाई ढल्न नदिई पुनः पहिलाकै रुपमा जगाएको छ । यस अर्थमा सो कार्यको लागि योगदान दिएका सारा ह्योल्मोहरुले गौरवानुभूति गर्ने त छदै छ, त्यस कार्यमा योगदान पुर्याएका सबै धन्यवादका पात्र समेत बनेका छन् ।
सर्वमंगलम ।