शुभप्रभात राई/काठमाडौं
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई तत्काल मनोवैज्ञानिक उद्दारको खाँचो रहेको बताएका छन् ।
शनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा कांग्रेस पार्टीले निर्वाचनमा व्यहोरेको हारबारे उल्लेख गर्दै प्रवक्ता शर्माले भने, ‘अहिले कांग्रेसलाई नवजीवनको खाँचो छ । भूकम्पको असरले जसरी मानिसहरुलाई राहत र उद्दारको खाँचो हुन्छ । त्यसरी नै अहिले कांग्रेसलाई मनोवैज्ञानिक उपचारको खाँचो छ ।’
शर्माले निर्वाचनमा कांग्रेसले हार व्यहोरेको हुनाले देशभरमा दुई महिनासम्म पार्टी मनोवैज्ञानिक उद्दारमा खटिने जानकारी दिए ।
कांग्रेस हारपछि नेतृत्वले राजीनामा दिनुपर्ने र चाँडै विशेष महाधिवेशन बोलाउनुपर्ने माग भइरहेको बेला उनले पार्टीले छिट्टै केन्द्रीय समितिको बैठक डाक्ने बताए । शर्माले भने, ‘हारको समीक्षा गर्नैपर्छ । अब बस्ने बैठकले केन्द्रीय समितिको बैठकको मिति तय गर्नेछ ।’
निर्वाचनपछि विभिन्न कांग्रेस हारको समीक्ष हुनुपर्ने भन्दै कांग्रेसका केही युवा नेता तथा पराजित नेताहरुले विशेष महाधिवेशनको माग गरेका थिए । सोही विषयमा शर्माले भने, ‘कतिपय साथीहरुले विभिन्न स्थानमा छलफल गर्नुभएको छ । ती छलफलका निचोडलाई पनि एकै ठाउँमा छलफल गरिनेछ । त्यो भनेको केन्द्रीय समिति नै हो ।’
प्रवक्ता हुनुअघि शर्मालगायत ७ युवा नेताले कांग्रेस पुनःजागरणका लागि हस्ताक्षर अभियानसमेत गरेका थिए । यससम्बन्धी प्रष्टीकरण दिदैं शर्माले भने, ‘मैले विशेष महाधिवेशन माग गरेको थिएन, अर्को ७० कटेकाले नेतृत्व गर्नुहुन्न पनि भनेको थिएन । पार्टी भनेको एजले हैन, एजेन्डाले चलाउने हो ।’
कांग्रेस पुनःजागरणका लागि पूर्व पश्चिम अभियानसमेत थालेका उनले भने, ‘कांग्रेसमा जो बदलिन्छ, उसले नेतृत्व गर्छ जो बदलिदैन उसले बिदा लिन्छ । यो नीति टोलदेखि केन्द्रसम्म र केन्द्रदेखि टोलसम्म लागु हुनेछ ।’
साक्षात्कारमा शर्माले आफू पनि मिडियाबाट नै राजनीतिमा आएको स्मरण गराउँदै कांग्रेस पार्टीको सूचना प्रवाह गराउन तयार रहेको बताए ।