२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

‘पियर्सन टिचर अवार्ड’ का लागि विश्वभरका शिक्षकसँग प्रतिस्पर्धा गर्दै नेपाली, यसरी गर्न सकिन्छ भोट


१ माघ २०७४, सोमबार  

0
Shares

नेत्र तामाङ/काठमाडौं

‘पियर्सन इएलटी टिचर अवार्ड–२०१८’ मा नेपाली शिक्षक पनि प्रतिस्पर्धाका लागि छनोट भएका छन् । बेलायत र अमेरिकामा प्रत्येक वर्ष प्रदान गरिने यस अवार्डका लागि पहिलोपटक नेपाली शिक्षक छानिएका हुन् ।

उक्त प्रतिस्पर्धामा पोखराका शिक्षक वामनप्रसाद घिमिरे छनोटमा परेका हुन् । विश्वभरका सयभन्दा बढी शिक्षक प्रतिस्पर्धामा रहेको यस प्रतिस्पर्धामा उनलाई जिताउन भने भोट दिनुपर्ने हुन्छ । माघको १० गतेसम्म उनलाई भोट गर्न सकिन्छ । भोट गर्नका लागि भिडियो लिंक मात्र खोले हुने र कुनै शुल्क लाग्दैन ।

अहिलेसम्ममा घिमिरे भोटिङका आधारमा दोस्रो स्थानमा छन् । उनी मलेसियाकी नुरजहाँ सुल्तानलाई पछ्याउदैछन् ।

भोट दिनका लागि यस लिंकमा क्लिक गर्नुहोला

बेलायतको अंग्रेजी भाषा सिकाउने प्रख्यात संस्था पियर्सनले यो कार्यक्रम सञ्चालन गर्छ । विश्वभरका शिक्षकहरुलाई पाँच क्षेत्रमा भाग लगाइएको छ । एसिया र ओसिनिया क्षेत्रबाट उनीसँग २९ जना प्रतिस्पर्धामा छन् । प्रत्येक क्षेत्रबाट एक एक जना उत्कृष्ट छानिने र त्यससँगै एकजनालाई ‘पियर्सन इएलटी टिचर अवार्ड–२०१८’ अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

को हुन् वामन घिमिरे?

वामनप्रसाद घिमिरे पोखराको मदरल्यान्ड बोर्डिङका शिक्षक हुन् । अंग्रेजी विषय सरल तरिकासँग पढाउने खुबी भएको भन्दै सन् २०१४ मा उनलाई अमेरिकी सरकारले ‘टिचर एक्सीलेन्सी’ अवार्ड प्रदान गरेको थियो ।

त्यसो त उनलाई अस्ट्रेलिया सरकारले पनि उत्कृष्ट शिक्षकको अवार्ड प्रदान गरिसकेको छ । सन् २०१२ मा कास्की जिल्लाको उत्कृष्ट अंग्रेजी शिक्षकको अवार्ड पनि पाएका उनले अमेरिका र अस्ट्रेलिया पुगेर त्यहाँका विद्यार्थीहरुलाई पढाइसकेका छन् ।

उनी नेपालमा अमेरिकी सरकारद्वारा सञ्चालन गरिरहेको निःशुल्क अनलाइन कोर्स ‘मकिङ’मासमेत सक्रियापूर्वक लागिरहेका छन् । अमेरिकका विभिन्न विश्वविद्यालयबाट सञ्चालित यस्ता कोर्सहरु नेपालमै बसेर सित्तैमा गर्न सकिन्छ ।

अवार्ड प्रतिस्पर्धामा किन ?

नेपाली शिक्षक पहिलोपटक छनोटमा परेकाले पनि यो महत्वपूर्ण भएको शिक्षक घिमिरेले बताए । उनले भने, ‘प्रत्येक वर्ष हुने यो अवार्डमा यसपटक नेपाली शिक्षकले पनि दाबी गर्न पाएको छ । यो खुसीको कुरा हो । यदि यो अवार्ड जित्न पाएमा नेपाली शिक्षकको पनि सम्मान उचो हुनेछ ।’

नेपालमा शिक्षण हेपिएको पेशा भएको उल्लेख गर्दै घिमिरे भन्छन्, ‘हाम्रो देशमा शिक्षक भनेको घरबाट स्कुल र स्कुलबाट घरमात्र बुझ्छन् । त्यसैले पनि धेरैजसो यो पेशा रोज्न चाहदैनन् । तर यो पेशा सम्मानित पेशा हो भनेर प्रमाणित गराउन पनि यो अवार्ड जित्नै पर्छ ।’

आफू विभिन्न देशमा पुगेको र ती देशमा प्रेरणात्मक शिक्षकको परिचय दिएर फर्केको उनी बताउँछन् । इन्टरनेसनल इङलिस टिचर कन्भेन्सन नामक विश्वभरका शिक्षकहरुको भेलामा घिमिरेले आफ्नो प्रस्तुतिसमेत तय गरिसकेका छन् ।

‘प्रतिस्पर्धा अलग्गै ठाउँमा छ । यस कन्भेन्सनका लागि मेरो पेपर प्रेजेन्टेसन पनि एक्सेप्ट भएको छ,’ उनी भन्छन्, ‘नेपालीको सहयोग पाएमा पक्कै पनि पेपर प्रेजेन्टेसनसँगै अवार्ड पनि उचाल्न पाउनेछु ।’ माघ ११ मा फाइनलिस्ट घोषणा हुनेर मार्च वा अप्रिलमा कन्भेन्सन तय हुनेछ । कार्यक्रम बेलायतको ब्राइटनमा हुने घिमिरेले बताए ।

 

प्रकाशित मिति : १ माघ २०७४, सोमबार  १० : १९ बजे