१ फाल्गुन २०८१, बिहिबार | Thu Feb 13 2025

फागुन ४ चाइनिज अनलाइनको कपीपेस्ट हो, तामाङ समूदायको ल्होछार माघ ४ मै हो


३ माघ २०७४, बुधबार  

0
Shares

अजितमान तामाङ
उपाध्यक्ष
नेपाल तामाङ घेदुङ

यसपटक नेपाल तामाङ घेदुङले फागुन ४ मा सोनाम ल्होछार मनाउने निर्णय गरेको छ । घेदुङकै उपाध्यक्ष भने नेपाल तामाङ राष्ट्रिय घेदुङले तय गरेको माघ ४ नै ल्होछारको मिति सही भएको दाबी गर्दै आएका छन् । यही मितिलाई समर्थन गरेको कारण उनलाई घेदुङले कारबाहीको धम्की दिइसकेको छ । यही सन्दर्भमा घेदुङका उपाध्यक्ष अजितमान तामाङसँग एभरेस्ट टाइम्सले गरेको कुराकानीः

यसपटक माघ ४ मै ल्होछार मनाउने हुनुभयो है ?
सम्पूर्ण तामाङहरुले यसपटक मात्र हैन पहिलेदेखि नै माघमै ल्होछार मनाउनथें । यसपटक पनि माघ मै मनाउने भएको छ । माघ २ देखि नै विभिन्न कार्यक्रम गरी ल्होछार सुरु भइसकेको छ । माघ ४ मा टुँडिखेलमा भव्यताकासाथ ल्होछार मनाउने कार्यक्रम पनि तय भइसकेको छ । कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा आउनुहुनेछ ।

घेदुङले फागुन ४ मा मनाउने भनेर मिति नै तय गरिसकेको अवस्थामा तपाई घेदुङकै उपाध्यक्ष हुनुहुन्छ, नेतृत्वसँग असन्तुष्टि बढेर यस्तो गर्नुभएको हो ?
मलाई नेतृत्वप्रति कुनै असन्तुष्टि छैन । मैले भनेको तामाङ समूदायले घेदुङ स्थापना हुनु अगाडि देखि नै माघमै ल्होछार मान्थे । घेदुङले त २०४९ साल देखि मनाउन थालेको हो । अहिले आएर सोनाम ल्होछार मनाउने हाम्रो मिति फागुनमा धकेलेर मनाउने रे । बरु पुसमा पर्न सक्छ । फागुनमा त सोनाम ल्होछार पर्दैपर्दैन । कामको फूर्सद र तिथि, मिति बदल्ने भनेको माघमै हो । चरा बर्गको बिदासँगै कुकुर वर्गको सूरुवात माघ ४ मै हुदैँछ । यसलाई तोडमोड गर्नेको पक्षमा घेदुङका साथीहरु लाग्नुभएको छ । यो कार्यमा मेरो असन्तुष्टि हो ।

घेदुङले त तपाईंलाई कारबाही गर्ने भनेको छ नि, के गर्नुहुन्छ ?
मलाई घेदुङले के कारबाही गर्छ ? म २०४७ सालदेखि विभिन्न पदमा रहदैं उपाध्यक्ष भएको हुँ । उपाध्यक्षमा पनि स्वतन्त्र उठेर सर्वाधिक मत ल्याएर निर्वाचित भएको हुँ । बरु घेदुङमा भएकाहरुलाई आम तामाङहरुले कारबाही गर्छन । पूर्खादेखि चलिआएको तिथिमिति बदल्ने अधिकार घेदुङका पदाधिकारीलाई छैन । तामाङका संस्कृतिमा खेलाँची गर्ने अधिकार छैन । यो एक किसिमका दुर्भाग्य हो ।

तपाईंको दाबी माघ ४, घेदुङको दाबी फागुन ४ यो दुई कुराले त तामाङ समूदायमै विभाजन ल्याउने भयो नि हैन ?
हो, अब कुरा यही छ । उहाँहरुले एकजना आफूलाई विद्वान मान्नेबाट पात्रो बनाउनुभएको रहेछ । त्यो पात्रो चाइनिज एस्ट्रोलोजी भन्ने अनलाइनबाट कपीपेस्ट गरिएको छ । कसरी यसो गरियो त भनेर हेर्दै गएको असार महिनाबाटै बिगारेर लानु भएको रहेछ । ती विद्वानले सूरुमा घेदुङलाई गुलियो गुलियो खुवाउनुभयो । अहिले विष खुवाईदियो । यो कुरा साथीहरुले बुझेनन् ।

तामाङ समूदाय बौद्धमार्गी हुन्, भगवान बुद्धले झै मध्यमार्गी उपाय पनि त अपनाउन सकिन्थ्यो, अबका दिनमा त झनै विवाद बढेर जाने देखियो, नजिर पनि नराम्रो बस्ने भयो ?
मध्यमार्ग अपनाउन सकिन्थ्यो । यसो गर्ने भनेर पटकपटक भनिएकै हो । तर सम्पूर्ण तामाङ समूदायले जुगौ देखि माघमै मान्दै आएको ल्होछारलाई माघमा त हुदै हुदैन भनेर घेदुङकै केही साथीहरुले हठ गर्नुभएपछि यो सम्भव भएन । अबका दिनमा तिथि तय गर्न तामाङ खगोलशास्त्रीहरुको समिति गठन हुनुपर्छ र सोही समितिले निर्धारण गरेको तिथि सबैका लागि स्विकार्य हुन्छ ।

प्रकाशित मिति : ३ माघ २०७४, बुधबार  ८ : १६ बजे