काठमाडौं । जापानी बाल चित्रकार तथा कथाकार मिल साकाईको तेस्रो बाल चित्रकथा ‘वनभोज’ आज विमोचन भएको छ ।
लैनचौरस्थित नेपाल जापान बाल पुस्तकालयमा एक कार्यक्रममाझ उक्त किताब विमोचन भएको हो ।
नेपाली र अंग्रेजी भाषामा अनुवाद गरिएको उक्त किताब बरिष्ठ बाल साहित्य सर्जक तथा चित्रकारहरु शान्तदास मानन्धर, शाश्वत पराजुली, कृष्ण कुम्पुरे र केके कर्माचार्यलगायतले विमोचन गरे ।
सर्जक पराजुलीले उक्त किताबबारे भने ‘‘यो पुस्तक एकदम रमाइलो छ । यस पुस्तकले सम्पूर्ण बालबालिकालाई सरसफाइ तथा बृक्षरोपन गरेर हरियाली बनाउनु पर्छ भन्ने खालको मुख्य ज्ञान दिन्छ ।’’
चित्रकार केके कर्माचार्यले मिल साकाई बाल चित्रकार र कथाकार दुबै भएको कारण यो पुस्तक साह्रै सरल, हेर्दा आनन्द आउने खालको निर्माण भएको धारणा राखे । कर्माचार्यले भने, ‘कथाकार तथा चित्रकार मिल साकाई ले धेरै सोचेर यो पुस्तक बनाएको जस्तो देखिन्छ । साना साना नानीलाई चित्रले नै ज्ञान दिन खोजिएको छ ।’’
यस किताबका अनुवादक कुम्पुरेले जापानी भाषाबाट नेपाली भाषामा अनुवाद गर्न सजिलो भएको बताए । उनले भने, ‘‘धेरैजसो ग्रामरहरु मिल्ने भएको कारण यो पुस्तक जापानिज भाषा बाट नेपाली भाषामा ट्रान्सलेट गर्न मलाई अलि सजिलो भयो ।’’
वरिष्ठ बाल साहित्य सर्जक शान्तदास मानन्धर जापानी लेखकले नेपालको बारेमा सम्पूर्ण कुराको जानकारी लिएर नेपाली बालबालिकाको लागि यो पुस्तक लेखेकोले खुसी लागेको बताए । मानन्धरले भने, ‘यस पुस्तकमा धेरै जसो जापानमा नपाइने तर नेपालमा पाइने कुराहरु दर्शाइएको छ । जस्तै समोसा, सारङ्गी आदि । यसबाट मैले नै म केका लागि, कस्का लागि लेख लेख्दैछु भनेर ज्ञान पाएको छु । यस्ता बाल चित्रकथा नेपाका बालबालिकाका लागि लेख्नु भएकोमा उहाँलाई म व्याक्तिगत तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु ।’’
उक्त किताबहरु नेपाल जापान पुस्तकालयमार्फत निःशुल्क वितरण गर्ने कार्यक्रममा जानकारी गराइयो । सन् २०११ मा पूर्वी जापान र २०१५ मा नेपालमा गएको भूकम्पपछि साकाईले प्रत्येक बर्ष बाल चित्रकथा निःशुल्क वितरण गर्न शुरु गरेकी हुन् ।
नेपालको पश्चिमी क्षेत्र रोल्पा, प्युठान र धादिङ जिल्लामा निःशुल्क वितरण भइरहेको कार्यक्रममा जानकारी गराइयो यसअघि बाल चित्रकथा ‘नमस्ते’ र ‘चिठी’ नेपालीमा अनुवाद गरी निःशुल्क वितरण गरेको पुस्तकालले जनाएको छ ।
उक्त पुस्तक ‘मेच्या बुक्स फर योर स्माइल’ ले प्रकाशनमा ल्याएको हो । रमाइला र सन्देशमुलक किताबमार्फत साना नानीका लागि शान्त तथा सुन्दर वातावरण निर्माण नै यस पुस्तकको मुख्य लक्ष्य भएको प्रकाशकले जनाएको छ ।