युवा उद्यमशीलता विकास अभियान प्रशिक्षण कार्यक्रम सुरु

२०७४ माघ ७, आईतवार २२:२९

शुभप्रभात राई/काठमाडौं

आईतबार भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड अन्तरगत युवा लक्षित युवा उद्यमशीलता विकास अभियान कार्यक्रम सुरु भएको छ । ‘म सक्छु, म गर्छु: म के बन्न सक्छु एक सफल र असल उद्यमी वा अन्वेषक?’ नाराका साथ सुरु भएको उक्त कार्यक्रम सोमबारसम्म जारी रहनेछ ।

राष्ट्रिय उद्यमशीलता विकास अभियान र राष्ट्रिय युवा गैर सरकारी संस्था महासंघ नेपालले आयोजना गरेको कार्यक्रमका वक्ताहरुले युवाले स्वदेशमै उद्यमशीलता विकास गर्ने बताएका छन् ।


कार्यक्रममा राष्ट्रिय उद्यमशीलता विकास अभियानको संस्थापक अध्यक्ष डा.प्रदिपमान तुलाचन, प्रविधि अभियन्ता महावीर पुन, व्यवसायी राजन शाक्यले युवाहरुले आँटेमा देशमै प्रशस्त आर्थिक प्रगति गर्न सकिने धारणा राखे ।

‘कुनै पनि काम जानेकै गर्नु पर्छ भन्ने छैन, मनमा उत्साह र निरन्तरता दिने हो भने हामीले जस्तो सुकै नयाँ काम नयाँ ढंगबाट गर्न सकिन्छ,’ म्यागासेसे पुरस्कारसमेत पाउन सफल महावीर पुनले भने, ‘असफल भएपनि कोशिश भने जारी नै राख्नु पर्छ तब मात्र सफलता हासिल गर्न सक्छौ । सयचोटीमा ९९ सयपल्ट असफलै भएपनि अन्तमा सफल हुन्छ ।’


युवा व्यवसायी राजन शाक्यले आम युवाले ठुलोे सपना देखे पनि उक्त सपना पुरा गर्न सानो चिजबाट सुरु गर्नुपर्ने बताए । शाक्यले भने, ‘अरुले गरेको देखेर म पनि त्यै काम गर्छु भनेर एकै चोटी धेरै लगानी गर्दा त्यो व्यक्ति सफलै हुन्छ भन्ने हुदैन, चाहे थोरै लगानी गरेर नै किन नहोस तर आफैले अनुभव बटुलेर, निर्णय गरेर निरन्तरता दिने हो भने त्यस्तो व्यक्ति शतप्रतिशत सफल उद्यमी बन्छ ।’

सम्पूर्ण अनुभव बटुली आत्मा निर्भर भइ उद्योग सञ्चालन गर्न सामाजिक सेवामा जोड दिनुपर्ने उनको धारणा थियो । कुनै व्यवसाय सामाजिक सेवामा जोडिँदा यसले उद्योगको सन्देश समाजमा नै राम्रो जाने उनले बताए ।

अभियानका अध्यक्ष डा.तुलाचन नेताहरु नै इनोभेटिभ नहुनुको कारण युवामा उधमशीलता हुन नसकेको दाबी गरे । उनले भने, ‘राम्रो ज्ञान, सीप, अनुभव भएका युवाहरु कयौं छन्, ज्ञान, सीप बटुलेर केही गरौ भन्छन् । तर नेपालमा अवसर नै नपाएको कारण बाध्य भएर विदेशिन्छन् ।’


नेपाली युवाहरु यही ज्ञानसीप बेचेर विदेशमा धनी भएको उनले बताए । विदेशमा विभिन्न समस्यासँग जुधेर काम गर्नुभन्दा स्वदेशमै धनी हुने प्रशस्त अवसर रहेको र यसलाई चिन्न सक्नुपर्ने तुलाचनको भनाई थियो । उनले भने, ‘म युवा वर्गमा यो सन्देश पु¥याउन चाहन्छु कि यहाँ धेरै नयाँ सम्भावनाहरु छन्, अवसर पनि छन् मात्र त्यसलाइ चिन्नु प¥यो । आफ्नो खर्च कसरी घटाउने जस्ता साधारण कुराहरुमा ख्याल गर्न अति आवश्कता पर्दछ ।’

उद्यमी बन्न र उद्योग खोल्न उनले केही टिप्ससमेत बाँडेका छन्। ‘उद्यम सुरु गर्न केही महत्वपूर्ण ध्यान दिनु पर्ने कुराहरु सपना बुन्नुहोस, संकल्प गर्नुहोस, सोच परिवर्तन गर्नुस र श्रमको महत्व बुझ्नुस् यस्ता करामा ध्यान दिने हो भने पक्कै तपाई युवामा उद्यमशीलता विकास अवश्य सुनिस्शित छ,’ डा तुलाचनले सुझाए ।

 

सम्बन्धित समाचार