२६ आश्विन २०८१, शनिबार | Sun Oct 13 2024

राष्ट्रिय सभामा ९ दलका ८३ उम्मेदवार : २१ दलले गरेका थिए दल दर्ता


११ माघ २०७४, बिहिबार  

0
Shares

काठमाडौं : राष्ट्रियसभाको निर्वाचन हुने ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी परेको छ।  बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका थिए।

नौ दलबाट समूहगत रूपमा महिला २६, अन्य २८, दलित १४ र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट १५ गरी ८३ जनाले मनोनयन दर्ता गराएको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिए।

राष्ट्रियसभा निर्वाचनका लागि २१ दलले निर्वाचन चिह्न प्राप्त गरे पनि एमाले, कांग्रेस, माओवादी, संघीय फोरम, राजपा, नेमकिपा, राप्रपा, जनमोर्चा र संघीय समाजवादी पार्टीले मात्रै उम्मेदवारी दिएका छन्।

एमाले र माओवादीले ४३ सिटमा साझा उम्मेदवार उठाएका छन्। मधेसी दल र कांग्रेसले पनि तालमेल गरेका छन् तर राप्रपा, नेमकिपालगायतले अहिलेसम्म कसैलाई समर्थन गरेका छैनन्।

प्रदेश १ मा एमालेबाट ६, कांग्रेसबाट चार, माओवादीबाट एक र राप्रपाबाट एक गरी १२ जना, प्रदेश २ मा एमालेबाट एक, माओवादीबाट एक, संघीय फोरमबाट दुई, राजपाबाट दुई र नेपाल संघीय समाजवादी पार्टीबाट एक गरी नौ जना, प्रदेश ३ मा एमालेबाट ६, कांग्रेसबाट चार, माओवादीबाट दुई र नेमकिपाबाट चार गरी १७ जना, प्रदेश ४ मा एमाले र कांग्रेसबाट चार-चार, माओवादीबाट दुई र राजमोबाट दुई गरी १२ जनाले उम्मेदवारी दिएका छन्।

त्यसैगरी, प्रदेश ५ मा एमाले र कांग्रेसबाट चार-चार, माओवादीबाट दुई र जनमोर्चाबाट एक गरी १२ जना, प्रदेश ६ मा एमालेबाट पाँच, कांग्रेसबाट चार र माओवादीबाट तीन गरी १२ जना, प्रदेश ७ मा एमाले र कांग्रेसबाट चार-चार र माओवादीबाट दुई गरी १० जनाको उम्मेदवारी परेको छ।

दर्ता भएका उम्मेदवारविरुद्ध माघ ११ गते बिहान १० देखि १२ गते ५ बजेसम्म उजुरी दिन सकिने आयोगले जनाएको छ। मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी माघ १३ र १४ गते अन्तिम निर्णय गरिने प्रदेश ३ का निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताए। माघ १४ गते २ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ। सोही दिन अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई चिह्न प्रदान गर्ने कार्यक्रम छ।

राष्ट्रियसभामा एकल संक्रमणीय मत प्रणालीबमोजिम प्रत्येक प्रदेशबाट तीन जना महिला, एक जना दलित, एक जना अल्पसंख्यक र अन्य तीन गरी आठ जना सदस्य निर्वाचित हुने व्यवस्था छ।एकल संक्रमणीय प्रणालीअनुसार स्थानीय तहको १८ र प्रदेशको ४८ मतभार कायम गरिएको छ। स्थानीय र प्रदेशको मतभारअनुसार वाम गठबन्धनले ४०, कांग्रेसले १२ र मधेसी दलले चार सिट जित्ने देखिएको छ।

 

प्रकाशित मिति : ११ माघ २०७४, बिहिबार  ८ : ०८ बजे