काठमाडौं: उम्मेदवारी दर्ताकै दिन प्रदेश १, २, ५ र ७ मा गरी १७ जना निर्विरोध भएका छन्। १७ सिटमा त्यति नै संख्यामा मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेश १ मा तीन महिला, प्रदेश २ मा तीन महिला, एक दलित र एक अपांगता वा अल्पसंख्यक, प्रदेश ५ मा तीन महिला र प्रदेश ७ मा तीन महिला र तीन खुला समूहमा निर्विरोध भएका हुन्।
प्रदेश १ मा महिलातर्फ एमालेकी नैनकला ओझा, माओवादीकी बीना पोखरेल र कांग्रेसकी सरीता प्रसाईं, प्रदेश २ मा महिलातर्फ माओवादीकी शशिकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिलाकुमारी यादव, दलिततर्फ संघीय फोरमका रामप्रित पासवान र दलिततर्फ राजपाका वृशेषचन्द्र लाल, प्रदेश ५ मा महिलातर्फ एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटा, प्रदेश ७ मा महिलातर्फ कांग्रेसकी तारादेवी जोशी, एमालेकी कमला ओली र इन्दु कडरिया तथा खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरेराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन्।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने दिन उनीहरूलाई औपचारिक रूपमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।