शुभप्रभात राई/काठमाडौं
टुरिस्ट गाईड एसोसिएन अफ नेपाल(टुर्गान) को २४ औं साधरणसभा सम्पन्न भएको छ । २०४६ मा स्थापना भई नेपालको पर्यटन क्षेत्रमा सक्रिय रहँदै आएको एसोसिएसनले ‘दिगो पर्यटनका लागि व्यावसायिक दक्षता’ भन्ने मुल नाराका साथ २४औं बार्षिक साधरणसभा आयोजना गरेको थियो ।
काठमाडौंको कमलादीस्थित सिडब्लु पार्टी हलमा आयोजित साधारणसभा उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री जितेन्द्रनारायण देवले पर्यटन क्षेत्र गफगाफले मात्रै मौलाएको बताए ।
मन्त्री देवले अब पर्यटन क्षेत्र ठोस एजेन्डासहित चल्नुपर्ने उल्लेख गर्दै एक हप्ता भित्र पर्यटनसँग सरोकार राख्ने संघसंस्थाबीच गम्भीर छलफल गरेर पर्यटनको गति र दिशा निर्धारण गर्न पर्यटन बोर्डलाई निर्देशन दिए ।
मन्त्री देवले आफू भाषणबाजीभन्दा काम गर्ने स्वभाव रहेको भन्दै पर्यटन व्यावसाय क्षेत्रमा अवैधानिक रुपमा काम गर्न खोज्नेलाई बाँकी नराख्ने चेतावनी दिए ।
कार्यक्रममा मन्त्री देव नेपाल पर्यटन बोर्डको सञ्चालक समितिका सदस्य दिपक महत नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया, टानका अध्यक्ष नवराज दाहाल टुर्गानका भुपूअध्यक्ष हरेराम बराललगायत उपस्थित थिए ।
तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति
साधारण सभाले केदार तामाङको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।
नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा भाईकृष्ण खड्का, प्रथम उपाध्यक्षमा थानेश्वर देवकोटा, द्वितिय उपाध्यक्ष प्रभालक्ष्मी प्रधानाङ्ग, महासचिव बद्री नेपाल, कोषाध्यक्ष कुमार पुरी, सचिव ब्रम्हदेव शाक्य छन् ।
सदस्यमा यज्ञबहादुर कार्की, बिष्णुप्रसाद भट्राई, मथुराप्रसाद मानन्धर, राजेन्द्रबहादुर राई, दिपचन्द्र कालिका, शंकर भट्टराई र दिपक गिरीलगायत १४ जना रहेका छन् ।
निर्वाचित कार्यसमितिलाई पर्यटन मन्त्री देवले शुभकामना तथा बधाई दिएका थिए ।
अध्यक्ष चयन भएपछि तामाङले गाइडको सीप अभिवृद्धिका लागि कक्षा सञ्चालन गर्ने प्रतिवद्धता जनाए । भने, ‘अब तत्कालै टुरिस्ट गाईडहरुको सीप अभिवृद्धि गर्न विभिन्न भाषा, धर्म तथा संस्कृतिसम्वन्धी कक्षा सञ्चालन गर्छौ ।’
उनले नेपालको पर्यटन क्षेत्रको विभिन्न महत्वपूर्ण संघ संस्थाहरुसँग समन्वय र सहकार्य गरी अगाडि बढ्ने बताए । त्यसैगरी तामाङले टुर्गानलाई आर्थिक रुपमा सवल, सक्षम र आत्मानिर्भर बनाउन चाँडै बृहत छलफल गर्ने गाइडहरुको व्यावसायहरुको हकहित र अधिकारको प्रत्याभुति र यो पेशालाई सम्मानित, मर्यादित र गरिमामय बनाउन हमेशा प्रयत्नशील रहने वचनसमेत दिए ।
तामाङले गाइडको दुर्घटना बीमाको लागि नेपाल सरकारसँग समन्वय गरी अगाडि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।