मकवानपुर । प्रदेश नं ३ प्रदेशसभाको पहिलो अधिवेशन हेटौंडामा सम्पन्न भएको छ । नेपालमा यो पहिलो प्रदेश बैठक भएकोले ऐतिहासिक बैठक हो ।
सात प्रदेशमध्ये धेरै सांसद (११० सदस्य) भएको प्रदेश नं ३ को प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डोरमणि पौडेलले गरे ।प्रदेश प्रमुख अनुराधा कोइरालाबाट प्राप्त पहिलो अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएपछि दलका सांसदहरुले दलीय प्रतिनिधित्वका आधारमा मन्तव्य राखे ।
छलफलमा भाग लिँदै नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्यले जनताले राजनीतिक स्थिरता, समृद्धि, सुशासन र न्यायका लागि जनादेश दिएकाले इमान्दारिता र जवाफदेहिताका साथ अघि बढ्न आग्रह गरे ।
नेकपा (माओवादी केन्द्र) का शालिकराम जम्मरकट्टेलले मुलुकको परिवर्तनका लागि पटक पटक भएका आन्दोलन र प्राप्त उपलब्धिको रक्षा गर्दै आर्थिक विकासका लागि सबै लाग्नुपर्ने बताए ।
नेपाली काँग्रेसका इन्द्र बानियाँले वीरगञ्ज भन्सारसँग जोडिएको र काठमाडौँ हेटौँडा द्रुत मार्ग पनि बन्दै गरेकाले प्रदेशको राजधानी मकवानपुर नै वैज्ञानिक हुने बताए ।
सभामुखको निर्वाचन २७ गते
बैठकले प्रदेशसभाको अन्तरिम सभामुखको निर्वाचनका लागि यही माघ २७ गते निर्धारण गरेको छ । सो निर्वाचनका लागि आवश्यक कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई जिम्मेवारी दिइएको छ ।
प्रदेशसभाको अर्काे बैठक यही माघ २७ गते सोमबार दिउँसो ३ बजे बस्नेछ ।