एभरेस्ट टाइम्स/न्युयोर्क
शेर्पा किदुगले ल्होसार पाटीलाई मनोरन्जनात्मक बनाउन विगत झैं यसपटक पनि कार्यक्रममा भाग लिन चाहने कलाकारलाई रिहार्सल गरेर मात्र छनोट गर्ने भएको छ । किदुगले रिहार्सल कार्यक्रम फेब्रुअरी ११ तारिखको दिन किदुगको भवनमा राखेको जनाएको छ ।
कलाकार छनोट रिहार्सल कार्यक्रममा शेर्पा, नेपाली र अंग्रेजी भाषामा नृत्य गर्नेहरु र यी भाषाहरुमा गीत गाउने कलाकारलाई आव्हान गरेको किदुगको महासचिव तेन्डी शेर्पाले जानकारी दिए । उनकाअनुसार कार्यक्रममा भाग लिने इच्छुक कलाकरले फेब्रअरीको १० तारिखसम्ममा नाम दर्ता गर्नुपर्ने छ । कार्यक्रममा भाग लिने कलाकारको उमेरको हकमा २५ वर्षभन्दामुनिको हुनुपर्ने र सामूहिक नृत्य गर्न चाहनेको हकमा बढीमा ६ जना मात्र राखिएको जनाएको छ ।
शेर्पा गीत र नृत्य प्रतियोगितासँगै विशेष बाल कार्यक्रम
शेर्पा जातिको भाषा र संस्कृतिको संरक्षणका लागि शेर्पा किदुग अमेरिकाले विगत बर्षमा झैं यसपटक पनि शेर्पा गीत तथा नृत्य प्रतियोगिताको आयोजना गर्ने भएको छ । ल्होसारको दोस्रो दिन फेब्रुअरीको १७ तारिख हुने प्रतियोगितामा शेर्पा गीतमा ठलु लगायत अन्य गीतहरु र नृत्यमा सेब्रु, प्रतियोगिता हुन लागेको छ ।
१५ बर्षमुनि, ३० बर्षमुनि र ३० बर्षभन्दा मथिको उमेरकोबीच प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सिडी र कुनै पनि ट्रेक् प्रयोग गर्न नपाईने जनाएको छ । प्रतियोगितामा निर्णायकले गीतको शब्द, स्वर, सुर, ताल, नृत्यमा पोशाक, हाउभाउ र नृत्य प्रस्तुतिको आधारमा मुल्याङ्कन गरिने किदुगले जनाएको छ । त्यस्तै उक्त दिन बेलुकी भने शेर्पा बालबालिकाका लागि ल्होसारको बिशेष कार्यक्रम हुनेछ । उक्त कार्यक्रम ९ बर्षदेखि १७ वर्ष उमेरको बालबालिकालाई विशेष हुने भएको छ ।