१९ मंसिर २०८१, बुधबार | Thu Dec 5 2024

कांग्रेस सांसदहरुले भने: राष्ट्रपतिको कदम असंवैधानिक


१२ फाल्गुन २०७४, शनिबार  

0
Shares

काठमाडौंः नेपाली कांग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले नयाँ सरकारले सिफारिस गरेका तीन जनालाई मनोनित गरी राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक काम गरेको आरोप लगाएको छ।

शनिबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सांसदहरुको बैठकले संविधान बमोजिम कांग्रेस नेतृत्वका सरकारले सिफारिस गरेको सदस्यहरुलाई मनोनित नगरी नयाँ सरकारको सिफारिसलाई अनुमोदन गरेको कदमको विरोध जनाएको हो।

पार्टी सभापति शेरबहादुर देउवाका अध्यक्षतामा सम्पन्न बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान बमोजिम साविक मन्त्री परिषदले सिफारिस गरी राष्ट्रपतिले अनुमोदन गर्ने तीन जना राष्ट्रिय सभा सदस्यको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन नगरी असंवैधानिक तवरले अर्को  सरकारको असंवैधानिक प्रस्ताव ग्रहण गर्दै अनुमोदन गरेको घटनाप्रति नेपाली कांग्रेस संसदीय दलको बैठक गम्भीर आपत्ति व्यक्त गर्दै संविधानको रक्षक राष्ट्रपतिबाट संविधानको पूर्ण पालना गरी असंवैधानिक निर्णय तत्काल सच्चाउन जोडदार माग गर्दछ।’

बैठकले नेपाली कांग्रेस संसदीय दलको विधान  २०७४ सर्वसम्मतले पारित गरी अनुमोदनका लागि नेपाली कांग्रेस केन्द्रीय समितिमा पठाएको छ। त्यसैगरी बैठकले तीन तहको निर्वाचन देउवा नेतृत्वको सरकारले सफलतालपूर्वक सम्पन्न गराई संविधान कार्यान्वयन गराउने अभिभारा पुरा गरेकोमा देउवा नेतृत्वको मन्त्रीपरिषदलाई धन्यवाद दिएको सांसद मीनबहादुर विश्वकर्माले जानकारी दिए।

प्रकाशित मिति : १२ फाल्गुन २०७४, शनिबार  ९ : ०२ बजे