एभरेष्ट टाईम्स्, न्युयोर्क
तामाङ समाज उत्तर अमेरिकाले गायक सागर एस वाईबालाई सम्मान गरेको छ । नगद अमेरिकी डलर एक हजार सहित ट्रफी र प्रशंसा पत्र प्रदान गरी फेब्रुअरी २७ तारिक मंगलबार साँझ ज्याक्सन हाईटमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरेको हो । समाजका अध्यक्ष लक्यान लामाले गायक वाईबालाई नगद, ट्रफी र प्रशंसा पत्र प्रदान गरेका थिए । तामाङ समुदायको मौलिक लोकलयका गीतहरुको संरक्षण र संबर्धनमा गायक वाईबाले डेढ दशकदेखि अनवरत रुपमा पुराएको योगदानको लागि उनलाई सम्मान गरेको अध्यक्ष लामाले बताए ।
लगभग डेढ महिनाको अमेरिका भ्रमण पछी स्वदेश फर्कने पुर्व सन्ध्यामा तामाङ समाज न्युयोर्कले गायक वाईबालाई बिदाई कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा तामाङ समाज उत्तर अमेरिकाका अध्यक्ष लक्यान लामा, संस्थापक अध्यक्ष सुवास लामा, निवर्तमान अध्यक्ष शान्त थोकर पुर्वअध्यक्षहरु सूर्य पाख्रिन, भरत मोक्तान र ईन्द्र तामाङ, नेपाल अादिवासी जनजाति महासँघ, अमेरिकाका निवर्तमान अध्यक्ष लुईसाङ वाईबा, गायक सन्जोक योन्जन लगायत संस्थाका सदस्यहरु, पत्रकारहरु उपस्थित रहेका थिए । कार्यक्रममा सहभागीहरुले तामाङ समुदायको मौलिक गीत सँगीतले समुदायमा पारेका प्रभावका बारे छलफल समेत गरेका थिए । यसैगरी तामाङ मौलिक गीत सँगीतमा गायक वाईबाले पुराएका योगदानको चर्चा गर्दै उनलाई अझ अगाडी बढ्न सुझाव सहित शुभकामना दिएका थिए । तामाङ समाज न्युयोर्क तदर्थ समितीका संयोजक छेमाङ तामाङले गायक वाईबालाई खादा लगाई बिदाई गरेका थिए ।
गत जनवरी महिनाको १३ र १४ तारिक न्युयोर्कमा सम्पन्न उत्तर अमेरिकी तामाङ सम्मेलनमा सहभागी हुन र डम्फु साँझमा प्रस्तुती दिन गायक वाईबा अमेरिका आएका थिए । अमेरिका बसाईमा अन्य राज्यहरुमा पुगी ल्होछारको उपलक्षमा आयोजित कार्यक्रमहरुमा उनले थप प्रस्तुतीहरु समेत दिए । अमेरिका आउँने बाटो खुली सकेको र मुल ढोकाको चावी आफ्नो हातमा परी सकेकोले अमेरिकाको नेपाली समुदायले चाहेको खण्डमा कुनै पनि बेला अमेरिका आउँना सकिने उनले बताए । अमेरिकाको लागि बाटो खोली दिएकोमा तामाङ समाज उत्तर अमेरिका (तत्कालिन तामाङ समाज अमेरिका) प्रति उनले आभार ब्यक्त गरे । गीत सँगीतको माध्यमद्वारा तामाङ समुदायको भाषा, सँस्कृती र धर्मको संरक्षण र सम्बर्धनमा डेढ दशक बिताई सकेका गायक वाईबाले बिशेषत तामाङ जनजीवनसँग गाँसिएका लोकलयहरु म्हेन्दोमाया, साईकोले, म्हानेदोरा, सेलो, बोम्ताङ लगायतका गीतहरुमा स्वर भरेका छन् । नुवाकोट काहुलेका प्रतीभावान गायक वाईबालाई म्हेन्दोमाया किङको उपनामले समेत चिनिन्छन् ।