११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

राष्ट्रपतिमा कसले मार्ला बाजी? यस्तो छ हिसाब


२३ फाल्गुन २०७४, बुधबार  

0
Shares

काठमाडौं । तेस्रो राष्ट्रपति को बन्ला? यसको छिनोफानो फागुन २९ मा हुनेछ ।

राष्ट्रपतिका लागि नेकपा एमालेबाट राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली कांग्रेसबाट कुमारीलक्ष्मी राईको उम्मेदवारी परेको छ ।

नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनसम्बन्धी व्यवस्था छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुनेछ ।

संघीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार संघीय कानूनबमोजिम फरक रहेको छ । संघीय संसद्का सदस्यको मतभार ७९ छ भने प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको छ ।

संविधानबमोजिमको निर्वाचक मण्डलको तत्काल कायम रहेको कूल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति निर्वाचित हुनेछ । निर्वाचनको सिलसिलामा आयोगले मंगलबार मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरेको थियो । आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८८० जना मतदाता कायम छन् ।

संसद र प्रदेशको मतको हिसाब गर्ने हो भने विद्यादेवी भण्डारीले जित्ने देखिन्छ । संघीय संसद र प्रदेशबाट एमाले र माओवादीको मत भार जोड्दा ३३ हजार ६७५ पुग्छ । कांग्रेसको कुल मत भार ११ हजार ४२८ मात्र छ ।

संघीय संसद (राष्ट्रियसभा र प्रतिनिधिसभा) मा एमालेका कुल १४८ सांसद छन् भने प्रदेशसभा सदस्यहरु २४३ जना छन् । यसैगरी माओवादीबाट संघीय संसद (राष्ट्रियसभा र प्रतिनिधिसभा) मा ६५ र प्रदेशसभामा १०८ सदस्य रहेका छन्।

केन्द्र र प्रदेश संसदमा गरी नेपाली कांग्रेसको कुल मत भार ११ हजार ४२८ मात्र छ । राजपा र फोरमको भोट थपिँदासमेत कांग्रेसले जित्ने अवस्था छैन ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार  १० : २५ बजे