शुभप्रभात राई / काठमाडौं
नेपाल भारत प्रवुद्ध समूहका सदस्य डा राजन भट्टराईले विगतमा भएका तिक्तता अन्त्यका लागि प्रधानमन्त्रीको केपी शर्मा ओली भारत भ्रमणमा जान लागेको बताएका छन् ।
बुधबार राजधानीको भृकुटी मण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित ‘प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण’बारेको अन्तर्क्रियामा एमाले नेतासमेत रहेका भट्टराईले वर्तमान सरकार छिमेकी राष्ट्र भारतसँग सुमधुर सम्बन्ध बनाउदै विगतमा भएका तिता कुराहरुको अन्त्य हुने गरी वार्ता गर्न सफल हुने बताएका हुन् ।
कार्यक्रममा भट्टराईले प्रधानमन्त्री ओलीको भारत भ्रमणसँगै आर्थिक विषयमा विशेष कुराकानी हुने बताउदै भ्रमणको बेला थोरै विषयमा वार्ता भए पनि धेरै उपलब्धि हुने गरी वार्ता हुने दाबी गरे ।
उनले अबको सरकारले पारस्परिक हित र सम्मानका साथ अघि बढ्ने, छिमेकी राष्ट्रहरुसँग एक अर्कामा सुमधुर सम्बन्ध साथै जायज बिषयलाई एकले अर्कोलाई हस्तक्षेप नगर्ने कुरामा प्रतिबद्ध जनाए ।
उनले भने, ‘आजको सरकार मूल्य र मान्यताअनुसार नै नेपालले आफ्ना अन्तर्राष्टिय सम्बन्धलाई बढावा दिन्छ, यही दृष्टान्तसहित हामी नेपाल–भारत र नेपाल–चीन सम्बन्धलाई अघि बढाउँछौं । र ‘पारस्परिक हित र सम्मानका साथ अघि बढ्छौं ।’
भारत भ्रमणको एजेण्डा तय गर्न अहिले आन्तरिक गृहकार्यसमेत सुरु भइसकेको उल्लेख गर्दै भारतसँग प्रधामन्त्रीले बिकासका कुराहरुमा पनि जोड दिने बताए ।