६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

अमेरिकाको बिभिन्न शहरमा तामाङ चलचित्र बुम्बा प्रदर्शन हुने


२२ चैत्र २०७४, बिहिबार  

0
Shares

एभरेष्ट टाईम्स / न्युयोर्क

तामाङ भाषा, रीतिरिवाज, सँस्कार-संस्कृति तथा मूल्य मान्यतालाई संरक्षण र सम्बर्धन गर्ने गरी बनेका चलचित्रलाई हरेक बर्ष अमेरिकाका बिभिन्न शहरमा तामाङ समाज उत्तर अमेरिकाले प्रदर्शन गर्ने भएको छ । पहिलो पटक गोपीलाल लामा निर्देशित चलचित्र ‘बुम्बा’ टेक्सासको डालास र न्युयोर्कको ज्याक्सन हाईटमा देखाउँने निश्चित भएको अध्यक्ष लक्यान लामाले बताएका छन् । उनका अनुसार डालासमा यहि अप्रिल ८ तारिक आईतबार र न्युयोर्कमा अप्रिल २१ तारिक शनिबार प्रदर्शनीको लागि ब्यवस्था गरिएको छ ।

मुख्य आयोजक तामाङ समाज उत्तर अमेरिका रहेर सह-आयोजक तथा स्थानीय ब्यवस्थापन चाँही स्थानिय च्याप्टरले गरेको अध्यक्ष लामाले बताएका छन् । सोहि अनुसार तामाङ समाज डालासले डालासमा र तामाङ समाज न्युयोर्कले न्युयोर्कमा ब्यवस्थापन गरेको उनले बताएका छन् । तामाङ समाज उत्तर अमेरिकाले हरेक च्याप्टरहरुसँग यसरी नै मिलेर काम गर्ने अवधारणा रहेको पनि अध्यक्ष लामाले जानकारी दिएका छन् । उनले भने, ‘हामीले हाम्रो च्याप्टरहरुलाई नै अगाडी बढाउँने हो । च्याप्टरसँगै मिलेर काम गर्ने हाम्रो अवधारणा छ ‘ । अमेरिकाको अन्य राज्यहरुका च्याप्टरसँग पनि चलचित्र देखाउँने लगायत अन्य बिभिन्न ईस्युमा छलफल भैरहेको उनले बताएका छन् । चलचित्र बिधा मनोरञ्जन मात्र नभएर शिक्षा र बलियो आवाज पनि भएको बताउँदै अध्यक्ष लामाले भने, ‘हामी चहान्छौ, हाम्रो समुदायको बुलन्द आवाज बोक्ने चलचित्रहरु बन्नु पर्दछ । हाम्रो सन्ततीलाई हाम्रो ईतिहास, हाम्रो गौरव र हाम्रो अावश्यक्ताको पाठ दिने गरी चलचित्रहरु बनाईनु पर्दछ । यसको लागि हामीले हामी बसेको ठाउँमा चलचित्रहरुको प्रदर्शनी गरेर निर्माताहरुलाई सघाउँनु पर्दछ । उत्साह जगाउँनु पर्दछ ‘।

पहिलो पटक डालासमा तामाङ चलचित्र देखाउँन लाग्दा समुदायका सदस्यहरु उत्साहित देखेको तामाङ समाज डालासका अध्यक्ष छिरिङ तामाङले बताएका छन् । चलचित्र देखाउँनका लागि लगभग सबै तयारी पुरा भैसकेको बताउँदै चलचित्र बुम्बामा अंग्रेजी सब टाईटल भएकोले सबैलाई चलचित्र बुझ्न सजिलो हुने जानकारी उनले दिएका छन् । यसै गरी तामाङ समाज न्युयोर्क तदर्थ समितीका संयोजक छेमाङ तामाङले न्युयोर्कमा धेरै मुलधारका नेपाली चलचित्रहरु देखाए पनि तामाङ चलचित्र भने अझै तामाङ जातिको संघ संस्थाले नै देखाउँन पहल गर्नु परेको तीतो यथार्थ रहेको बताएका छन् । तामाङ चलचित्रलाई अमेरिकामा प्रदर्शन ब्यवस्था मिलाउँनु राम्रो काम हो भन्दै तदर्थ समितीका सदस्य-सचिव अमर तामाङले खूशी ब्यक्त गरेका छन् । गैह्र आवासीय नेपाली संघ, अमेरिकाका सहकोषाध्यक्ष पवन योन्जन तामाङले तामाङ भाषा सिक्नको लागि तामाङ चलचित्र हेर्नु पर्ने सुझाएका छन् ।

चलचित्र बुम्बाका लेखक तथा निर्देशक गोपीलाल लामाले चलचित्रलाई अमेरिकाका बिभिन्न स्थानमा प्रदर्शन ब्यवस्था मिलाएकोमा खुशी ब्यक्त गरेका छन् । कार्यकारी निर्माता समेत रहेका लामाले आफूलाई थप चलचित्र बनाउँन उत्साह र उर्जा थापेको बताएका छन् । चलचित्रका नायक ऋतुराज पाख्रिन तामाङ र नायिका सुष्मा थिङ तामाङले अमेरिकाका दर्शकहरुबाट माया र प्रतिक्रिया पाउँने आशा राख्दै आफ्नो फेसबुक पेजमा बुम्बा चलचित्र हेर्ने अनुरोध पोस्ट गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७४, बिहिबार  १२ : १२ बजे