काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीन दिने भ्रमणमा ५४ सदस्यीय जम्बो प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् ।
प्रधानमन्त्री ओली शुक्रबार राजकीय भ्रमणका लागि त्यसतर्फ जाँदै छन् ।
टोलीमा को को?
प्रधानमन्त्रीको भारत भ्रमणमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसहित अर्थमन्त्री डा. युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादव प्रधानमन्त्रीको भ्रमण टोलीमा छन् ।
परराष्ट्रमन्त्री ज्ञवाली चैत २२ र २३ गते अजरबैजानमा असंलग्न राष्ट्रहरुको मन्त्रिस्तरीय सम्मेलनमा सहभागी हुन जाँदै छन्। उनी त्यतैबाट दिल्ली पुग्ने छन् ।
त्यस्तै प्रधानमन्त्रीसँग परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागी, परराष्ट्र मन्त्रालयका चिफ अफ प्रोटोकल दीपक अधिकारी, मुख्यसचिव लोकदर्शन रेग्मी भ्रमण टोलीमा सहभागी हुने छन् ।
प्रधानमन्त्रीसँग विभिन्न दलका ९ सांसद पनि भारत जाने छन्। सांसदहरु दिनानाथ शर्मा, शरदसिंह भण्डारी, रामेश्वर यादव, विमलप्रसाद श्रीवास्तव, सीताराम महतो, उमा रेग्मी, गणेशसिंह ठगुन्ना, रामवीर मानन्धर र शान्ता चौधरी प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी हुने छन् ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार डा. कुन्दन अर्यालसमेत प्रधानमन्त्रीसँगै भारत जाने छन्। प्रधानमन्त्री निकट परराष्ट्रविद् तथा नेपाल भारत प्रवुद्ध समूहका सदस्य डा. राजन भट्टराई पनि प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा समावेश गरिएको छ ।
प्रधानमन्त्रीसँग निजी क्षेत्रबाट नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, उपाध्यक्ष दीपक मल्होत्रा, इच्छाराज तामाङलगायतका व्यवसायीहरु समेत भारत जाने छन् । प्रधानमन्त्रीसँग उनकी पत्नी राधिका शाक्यसँगै प्रधानमन्त्रीको सुरक्षा अधिकारीहरु समेत नेपाली प्रतिनिधि मण्डल टोलीमा सहभागी हुने छन् ।
यता चलचित्र क्षेत्रबाट नायक राजेश हमाल र चलचित्र निर्देशक दिनेश डिसी पनि टोलीमा सहभागी हुनेछन् ।
मनार्थ पिएचडी उपाधि
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले मानार्थ पीएचडीको उपाधिसमेत पाउने भएका छन् ।
प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा उत्तराखण्डस्थित पन्तनगरमा रहेको गोविन्द बल्लभ पन्त कृषि एवं प्रौधोगिक विश्वविद्यालयबाट पीएचडीको उपाधि पाउने छन् ।
भ्रमणका क्रममा २५ गते आइतबार विश्वाविद्यालयमा हुने दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीलाई ‘डाक्टर’ मानार्थ उपाधि दिइने विश्वविद्यालयले जनाएको छ ।
यस्तो छ भ्रमण तालिका
चैत २३ –बिहान ९ : ०० बजे त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उड्ने ।
–इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल झरेपछि सिधै राष्ट्रपति भवन पुग्ने ।
–केहीबेरको आरामपछि भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रिया हुने। नेपालमा लगानीको ओलीले इन्डिया फाउन्डेसन तथा भारतीय उद्योग वाणिज्य महासंघ (फिक्की)द्वारा आयोजित बेग्लाबेग्लै कार्यक्रमलाई सम्बोधन गर्ने ।
–कार्यक्रमपछि दिवाभोजमा सहभागी हुने ।
–भारतीय राजनीतिक दलका नेताहरूले राष्ट्रपति भवनमै प्रधानमन्त्री ओलीलाई भेट्ने। भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, भाजपाका शीर्ष नेता, भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम यचुरी, पूर्वसांसद डीपी त्रिपाठी र अन्य साना दलका नेताले भेट्ने ।
–साँझ बाह्रखम्बारोडस्थित नेपाली दूतावासमा नेपाली समुदायसँग भेटवार्ता गर्ने।
–नेपाली दूतावासले प्रधानमन्त्रीको सम्मानमा एक होटलमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने। रात्रीभोजमा दिल्लीस्थित कूटनीतिक र राजनीतिक समुदाय पनि सहभागी हुनेछन्। दूतावासले भारतका प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेता, पूर्वमन्त्री, नेपालका लागि पूर्वराजदूतलगायतलाई पनि निमन्त्रणा गरेको छ।
२४ चैत –बिहानै राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्रीलाई स्वागत गर्ने र केहीबेर वर्ता हुने।
–भारतीय सेनाले उच्च सैनिक गार्ड आफ अनर दिने ।
–भारतका राष्ट्रपति रामनाथ कोविन्द तथा उपराष्ट्रपति बैंकया नायडुसँग शिष्टाचार भेट हुने ।
–त्यसपछि प्रधानमन्त्री ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल सहभागी हुने। राजघाटमा महात्मा गान्धीको समाधीस्थलमा द्विप प्रज्ज्वलन गर्ने ।
–हैदरावाद हाउसमा सुरूमा ओली र मोदीबीच वन टु वन वार्ता हुने। लगत्तै प्रतिनिधि मण्डलका सदस्यसहितको उपस्थितिमा छलफल।
–छलफलपछि दुई देशबीच हुने सम्झौता तथा पत्रआदनप्रदान सम्बन्धी कार्यक्रम हुने।
–संयुक्त पत्रकार सम्मेलन गरेर सम्झौताबारे जानकारी दिने। ओली र मोदीले सम्बोधन गर्ने।
–हैदरावाद हाउसमै दिवाभोजमा सहभागी हुने ।
–साँझ विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह र वित्तमन्त्री अरुण जेट्लीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने।
२५ चैत –ओली हेलिकोप्टरमा दिल्लीबाट उत्तराखण्डको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि विश्वविद्यालयको भ्रमणमा जाने ।
–साँझ दिल्लीबाट स्वदेश फर्किने ।