६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

इन्द्रावती गाउँपालिका महोत्सव सम्पन्न: अध्यक्ष कप मिलनचोकलाई


३ बैशाख २०७५, सोमबार  

4
Shares

फूलमान तामाङ/नवलपुर

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा आयोजित गाउँपालिका महोत्सव सम्पन्न भएको छ । समारोहमा सम्बोधन गर्दै कोइरालाले सरकारी शिक्षासमेत निःशुल्क नरहेको बताएकी छन् ।

प्रदेश ३ की प्रमुख अनुराधा कोइरालाले सरकारले उपलब्ध गराएको निःशुल्क शिक्षा नाममात्रको निःशुल्क भएको बताइन् ।
सोमबार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा आयोजित गाउँपालिका महोत्सव समापन समारोहमा सम्बोधन गर्दै कोइरालाले सरकारी शिक्षासमेत निःशुल्क नरहेको बताएकी हुन् ।

कोइरालाले विद्यालयसम्म जान बालबालिकाले पोसाकदेखि कपीकलमसम्म किन्नुपर्ने भएकोले यो शिक्षा निःशुल्क नभएको दाबी गरिन्। ‘सरकारले शिक्षा नि:शुल्क भन्ने गर्छ, तर नि:शुल्क छैन। स्कुलमा जान ड्रेस, जुत्ता किन्नु पर्छ। त्यो अभिभावकले नै किन्नुपर्छ। त्यसलाई नि सरकारले उपलब्ध गराउनुपर्छ,’ उनले भनिन् ।


सरकारले वैशाख २ बाट भर्न अभियान चलाइरहँदा यस्ता विषयमा पनि ध्यान दिनुपर्ने कोइरालाको सुझाव थियो। त्यसै गरी कोइरालाले देश विकासको लागि बालबालिकाको शिक्षामा जोड दिनु पर्ने बताइन् ।

उनले अभिभावकले नै छोरीलाई शिक्षामा विभेद गर्ने गरेको पाइएको उल्लेख गर्दै भनिन्, ‘छोरालाई स्कुल पठाउँछ, छोरी त पराइ घर जाने जात हो भनेर स्कुल पठाउन हिच्किच्याउछ। त्यस्तो लैंगिक विभेदको मानसिकता हामीले हटाउनपर्छ। तबमात्रै विकासको सम्भावना छ। अनावश्यक खर्च नगर्नुस् बरु सन्तानको शिक्षामा जोड दिनुस्।’


गाउँपालिकाद्वारा आयोजित प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता तथा प्रथम इन्द्रावती महोत्सव ऐसेलुखर्क मैदानमा सम्पन्न भएको थियो।
गाउँपालिका अध्यक्ष वंशलाल तामाङको सभापतित्वामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद निमा लामा, गाउँपालिकाका विभिन्न पार्टीका प्रतिनिधि, वडाध्यक्ष, वडा सदस्य उपस्थित थिए।

महोत्सवको समापनमा वडा नम्बर ३ का वडाध्यक्ष एवम् कार्यक्रमका संयोजक देवप्रसाद बानियाँले स्वागत गरेका थिए।

अध्यक्ष कप मिलनचोकलाई

चैत २८ मा सुरु भएको अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि इन्द्रावती ८ मिलनचोकले जितेको छ। इन्द्रावती ११ बोटगाउँलाई २-० गोलको अन्तर ले पराजित गर्दै मिलनचोकले उपाधि लगेको हो।

विजेताले ५० हजार ५०० सहित मेडल र प्रमाणपत्र पाए भने उपविजेता इन्द्रावती ११ ले पनि ३५ हजार ५०० नगदसहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गरे। इन्द्रावती ६ बाडेगाउँ तेस्रो हुँदै २० हजार ५०० नगदसहित शिल्ड मेडल प्रमाणपत्र पाए। सान्त्वनामा इन्द्रावती १० भोटसिपाले नगद १० हजारसहित कप मेडल तथा प्रमाणपत्र पाए ।

लोकदोहोरीमा इन्द्रावती ५ पहिलो

लोकदोहोरी प्रतियोगितामा इन्द्रावती ५ पहिलो भएको छ। प्रतियोगितामा ८ समूह सहभागी भएको थियो। वडा ८(केटा) भर्सेस वडा ३(केटी) वडा ४ भर्सेस वडा ७ वडा ५ भर्सेस वडा ६ वडा २ भर्सेस ९ मा लोकदोहोरी प्रतियोगिता भएको थियो।


कलाकार हरू भीम तामाङ, हरि थापा स्मृति गौतमा, उमा श्रेष्ठ, भिमसेन खतिवडा,रमिला न्यौपाने, कल्पना दाहालले पनि प्रस्तुति दिएका थिए।

दिगो विकास र सुशासनको लहर इन्द्रावती गाउँपालिकाको रहर भन्ने नाराका साथै चैत २८ देखि वैशाख २ सम्म महोत्सव तथा अध्यक्ष कप आयोजना गरिएको थियो।

इन्द्रावती गाउँपालिका लाई समृद्धि बनाउने स्थानीय स्तरमै उत्पादन भएका वस्तुहरू चिनाउने साथै पर्यटन, उद्योग र इन्द्रावती लाई चिनाउने आशा साथ महोत्सव आयोजना गरेको इन्द्रावती अध्यक्ष वंशलाल तामाङले बताए। महोत्सवको पहिलो दिन उद्घाटन वैशाख १ मा कानुनमन्त्री शेरबहादुर तामाङ र सामाजिक विकास मन्त्री युवराज दुलालले गरेका थिए।

प्रकाशित मिति : ३ बैशाख २०७५, सोमबार  ९ : २० बजे