जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले आज जनकपुरधामस्थित जानकी मन्दिरमा षोडशोपचार विधिबाट विशेष पूजाअर्चना गरेका छन् ।
मन्त्रको प्रधानता रहेको सो पूजा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र गराइने परम्परा छ । जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो प्रधानमन्त्री हुन् ।
षोडशोपचार विधिबाट गरिने पूजामा पञ्च आहुति, पञ्चतन्त्र, पाँचजना पण्डितद्वारा मन्त्रोच्चारण गरी पूजा आराधना गराइन्छ, जसमा माता सीतालाई वस्त्र, गरगहना र शङ्गारका सामग्री अर्पण गरिने चलन छ ।
जानकी मन्दिरमा पूजाअर्चनाका लागि आउँदा भारतीय प्रधानमन्त्री मोदीलाई जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए ।
भारतीय प्रधानमन्त्री मोदी मन्दिर परिसरमा रहेको शालिग्राम मन्दिरमा पूजाअर्चना र अखण्ड सीताराम भजनमा स्तुतिसमेत गरे ।
भारतीय प्रधानमन्त्री मोदीलाई जानकी मन्दिरमा महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोशन दासले मैथिल संंस्कृतिअनुसार स्वागत गरेका थिए ।
मोदीले जानकी मन्दिरमा पूजा गरेपछि संक्षिप्त सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा राजा जनक र ‘जानकी माता’को दर्शनको प्रबन्ध मिलाएको भन्दै प्रधानमन्त्री ओलीलाई धन्यवाद दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मोदी नेपाल आएकोमा नेपाली जनता खुसी भएको भनाइ राखेका थिए । मोदी आजै काठमाडौं आउनेछन् ।