१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

एमाले र माओवादी मिलेर बन्यो नेपाल कम्युनिष्ट पार्टी


३ जेष्ठ २०७५, बिहिबार  

0
Shares

काठमाडौ‌ं । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता  प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ ।

राष्ट्रिय सभा गृहमा आयोजित विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गरे । विसं २००६ मा पुष्पलालको नेतृत्वमा गठित साम्यवादी दलको नाम नेकपा नै थियो । करीब सत्तरी वर्षअघि नेकपा घोषणा गर्दा पाँच जना संस्थापक(नरबहादुर कर्माचार्य, नारायणविला जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठसहित) थिए भने आज ४४१ जनाको केन्द्रीय सदस्य घोषणा गरिएको छ । सो अवसरमा एक मिनेट ताली बजाएर खुशीयाली व्यक्त गरिएको थियो । कार्यक्रममा नवगठित कम्युनिष्ट पार्टीको घोषणापत्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाचन गरेर सुनाएका थिए ।

पूर्वप्रधानमन्त्री नेपालले नेपाल एकीकरण गर्दा पृथ्वीनारायण शाहले भन्नुभएको‘मेरा साना दुःखले आर्जेको मुलुक होइन’ भन्ने भनाइलाई सापट लिँदै एकता प्रक्रिया सानो दुःखले सहज बनेको होइन भन्ने धारणा राखे ।

सरकारले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को विषयलाई अगाडि बढाउन नयाँ पार्टी जिम्मेवारपूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले जनताको भावनालाई बुझेर काम गर्नुपर्ने बताए ।

गत असोज १७ गते दुई पार्टीबीच छबुँदे सहमति भएर वाम गठबन्धन बनाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सामूहिक घोषणापत्रमार्फत दुवै दल अगाडि बढेका थिए । दुई पार्टीले संयुक्त रुपमा अगाडि सारेको नीति, कार्यक्रम तथा योजनालाई कार्यान्वयन गर्न पार्टी पंक्तिले देखाएको तदारुकता र अनुशासनसमेत मननयोग्य रहेको नेता नेपालको भनाइ थियो ।

नवगठित पार्टीका अध्यक्ष द्वय प्रचण्ड र प्रधानमनत्त्री ओलीले बलियो पार्टी बनेको बताए ।

प्रकाशित मिति : ३ जेष्ठ २०७५, बिहिबार  ८ : ४७ बजे