१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

युवराज खतिवडासँग धेरै नगद, घरजग्गामा रघुवीर महासेठ


९ जेष्ठ २०७५, बुधबार  

0
Shares

काठमाडौं । बुधबार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरेको हो ।

कसको सम्पत्ति कति ?

 

प्रधानमन्त्री केपी ओली

सम्पत्ति विवरणमा प्रधानमन्त्री ओलीको नाममा एभरेस्ट बैंकमा ४२ लाख रकम मौज्दत रहेको छ।

तलबभत्ताबाट उक्त रकम प्राप्त भएको उल्लेख गरिएको छ। अरु सम्पत्ति भने प्रधानमन्त्री पत्नी राधिका शाक्यको नाममा रहेको छ। प्रधानमन्त्री पत्नीको नाममा भक्तपुर सूर्यविनायकमा डेढ रोपनी, झापामा १० कट्ठा जमिन रहेको छ। त्यसैगरी सुनका गरगहनामा १७-१८ तोला रहेको उल्लेख गरिएको छ।

प्रधानमन्त्री पत्नीको नाममा माछापुच्छ्रे बैंक र प्रभु बैंकमा १० लाख मौज्दत रहेको छ। त्यसैगरी राष्ट्रिय वचनपत्रमा २५ लाख कित्ता रहेको उल्लेख गरिएको छ।

रक्षामन्त्री पोखरेल

रक्षामन्त्री इश्वर पोखरेलको सबैजसो सम्पत्ती उनकी पत्नी मिरा पोखरेलको नाममा रहेको छ। मिराको नाममा काठमाडौंको टोखामा ३३ आनामा बनेको ३ तले घर रहेको छ।

त्यसैगरी भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना, धादिङ खानीखोलामा ४ रोपनी जग्गा मिराकै नाममा रहेको उल्लेख गरिएको छ। यता सुनचाँदीमा ९ तोला सुन र २५ तोला चाँदी उल्लेख गरिएको छ।

यता नेपाल राष्ट्र बैंकमा मिराको पेन्सन वचत रहेको छ भने एभरेस्ट बैंकमा १ लाख ४० हजार र सानिमा बैंकमा ५ लाख मौज्दत रहेको छ।

मीराकै नाममा बरुण हाइड्रोमा १० हजार शेयर, कृषि विकास बैंक २०० र मोडर्न कन्या मल्टिपल कलेजमा ५ हजार बराबरको सेयर रहेको छ। रक्षामन्त्री ईश्वरको नाममा झापामा १० कट्ठ पैत्रिक सम्पत्ति र ७ लाख बैंक मौज्दतमात्र रहेको उल्लेख गरिएको छ।

अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडा केपी ओली नेतृत्वको सरकारका धनी मन्त्रीमध्ये एक हुन् । उनले बुझाएको सम्पत्ति विवरण अनुसार उनीसँग ८ वटा बैंक तथा वित्तीय संस्थामा गरी ७२ लाख ३३ हजार रुपैयाँ छ। त्यसबाहेक दुई वटा बैंकमा युवराज खतिवडाको नाममा रहेको डलर एकाउन्टमा ६२ हजार ७०३ डलर (६७ लाख ६३ हजार रुपैयाँ बराबर) व्यालेन्स रहेको छ।

बुधवार सार्वजनिक भएको सम्पत्ति विवरणमा अर्थमन्त्री खतिवडाकी पत्नी कमला खतिवडाको नाममा २१ लाख १६ हजार रुपैयाँ बैंक व्यालेन्स रहेको उल्लेख छ ।

त्यस्तै खतिवडासँग नगद १ लाख ५० हजार रुपैयाँ रहेको उल्लेख छ ।

त्यस्तै उनको नाममा काठमाडौं- ४ मा २ वटा घर छ। खतिवडाको नाममा रहेको घर पाँच आनामा बनेको र श्रीमतीको नाममा रहेको घर १४ आनामा बनेको उल्लेख छ। घर बनाउनका लागि राष्ट्र बैंकबाट सापटी लिएको र राष्ट्र संघको सेवा बाट प्राप्त आयाबाट खरिद गरेको उल्लेख छ।

खतिवडा र उनकी श्रीमतीको नाममा विभिन्न स्थानमा जग्गा रहेको उल्लेख छ। जसमध्ये दुवैको नाममा भक्तपुर चाँगुनारायणमा १२–१२ आना जग्गा छ।

त्यस्तै खतिवडाको नाममा झापामा पनि जग्गा रहेको छ। त्यस्तै श्रीमतीको नाममा झापाको गौरादहमा पनि जग्गा छ। दोलखाको जिरीमा ९ हजार ७७५ वर्गफिट र काठमाडौँ कागेश्वरीमा ४ रोपनी एक आना जग्गा रहेको खतिवडाले बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ।
त्यस्तै उनीसँग १० तोला सुन र एक किलो चाँदी समेत रहेको उल्लेख गरेका छन्।

खतिवडाको नाममा सवल सहकारीमा पाँच लाख बराबरको ५ हजार कित्ता संस्थापक सेयर र श्रीमतीको नाममा दुर्गा भवानी सहकारीमा ५ हजार बराबरको पचास कित्ता सेयर रहेको उल्लेख छ ।

त्यस्तै उनले विभिन्न व्यक्तिलाई २४ लाख ऋण दिएका छन् ।

खतिवडासँग ९ लाख ६० हजारको कार, ८० हजार पर्ने रंगीन टेलिभिजन र ६५ हजार र ८५ हजार पर्ने दुई वटा मोबाइल समेत रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

गृहमन्त्री रामबहादुर थापा बादल

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नो सम्पत्ति विवरणमा २ वटा कुकुर रहेको उल्लेख गरेका छन्। संघीय सरकारको मन्त्रीको हकमा आज आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले छिमेकबाट २०७२ सालमा एक जोडी कुकुर प्राप्त गरेको उल्लेख गरेका छन्।

उनले आफ्नी श्रीमती नैनकला थापाको नाममा चितवनको भरतपुर–१०, चित्रसेन मार्गमा १ कठ्ठा ०.७५ धुर जग्गा अंशवण्डाबाट पाएको जनाएका छन्। त्यस्तै श्रीमतीकै नाममा भरतपुर–११, भोजाडमा आमाको पेवा बापत प्राप्त गरेको १ लाख रुपैयाँबाट किनेको जग्गासमेत उनले विवरणमा उल्लेख गरेका छन्।

६ तोला सुन रहेको उल्लेख गरेका मन्त्री बादलले सो सुन श्रीमतीको माइतीघर तथा विदेशबाट भाइ र बहिनीबाट उपहार पाएको बताएका छन्। रेष्टुरेन्ट व्यवसायबाट आम्दानी भएको ३ लाख रुपैयाँ नगद तथा संविधान सभाको पहिलो निर्वाचनमा सभासद हुँदाको तलबबापतको २० हजार रुपैयाँ हाल थापासँग रहेको देखिन्छ। गृहमन्त्री थापाले स्वकीय सचिवालय सदस्य विरु तामाङसँगको संयुक्त खातामा ३ लाख ६० हजार १ सय ९३ रुपैयाँ रहेको उल्लेख गरेका छन्। यो हाल गृहमन्त्री भएपछि एभरेष्ट बैंकमा जम्मा भएको रकम हो।

राष्ट्रिय महिला आयोगको अध्यक्ष हुँदा श्रीमती नैनकला थापाले अपर तामाकोशी जलविद्युत आयोजनाको १ सय ४६ कित्ता सेयर किनेकोे पनि विवरणमा देखाएका छन्। कर्मचारी सञ्चय कोषबाट कट्टी भएको रकमबापत १ लाख ४६ हजार रुपैयाँ बराबरको सेयर खरिद गरिएको देखिएको छ।

सम्पत्ति विवरणका अनुसार मन्त्री थापाले ऋण लिएका छैनन्।

मन्त्री बादलसँग २०६९ जेठ ११ मा खरीद गरिएको तत्कालीन एकिकृत नेकपा माओवादीको नाममा रहेको बा९च ७४३२ नम्बरको डिजेल गाडी रहेको छ।

यातायात मन्त्री महासेठ

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ ललितपुरमा एक र धनुषामा २ गरी तीन घर रहेको देखिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पति विवरणअनुसार महासेठको सात ठाउँमा जग्गा तथा ५२ तोला सुन छ।

महसेठ र उनकी पत्नी जुली महतोका नाममा विभिन्न ८ बैंकमा खाता रहेको देखाएपनि रकम उल्लेख गरिएको छैन।

५ वटा कम्पनीमा ४० करोडभन्दा बढीको शेयर लगानी छ।

उनले नबील बैंकबाट ३ करोड ऋण लिएको र एक करोड तिर्न बाँकी रहेको उल्लेख गरेका छन्। त्यस्तै तत्कालिन एस लगायत विभिन्न बैंकबाट २१ करोड कर्जा लिएको विवरण पनि उल्लेख छ।

 

संघीय मामिलामन्त्री लालबाबु पण्डित

यसमा संघीय मामिला तथा संसदीय व्यवस्था मन्त्री लालबाबु पण्डितले आफ्नो कमाईको एकथान पुरानो साइकलमात्र भएको उल्लेख गरेका छन्।

दुईपटक मन्त्री भइसकेका उनको मोरङको विराटनगरमा १ कट्ठामा बनेको ५ कोठे घर रहेको उल्लेख गरिएको छ। त्यसैगरी विराटनगर र ललितपुरको भैसीपाटीमा पनि घर रहेको उल्लेख गरिएको छ।

मन्त्री पण्डितकी श्रीमती विमला पण्डितसँग १० तोला सुन र १५ तोला चाँद रहेको छ। यता पण्डितको नाममा एभरेस्ट बैंकमा २५ लाख र श्रीमती विमलाको नाममा कृषि विकास बैंकमा ३० लाख रकम जम्म रहेको उल्लेख छ।

खानेपानी मन्त्री बिना मगर

खानेपानी मन्त्री बिना मगरसँग ५ तोला सुन भएको पाइएको छ। उनले पेस गरेको सम्पत्ति विवरणअनुसार सो सुनको प्राप्तिको स्रोत पैतृक उल्लेख गरिएको छ। त्यस्तै उनीसँग १६ तोला चाँदी पनि छ। चाँदीको पनि स्रोत पनि पैतृक नै उल्लेख गरिएको छ।

त्यस्तै चितवनमा स्वर्गीय पति प्रकाश दाहालको नाममा रहेको २ कठ्ठा जमिनसमेत मन्त्री मगरको सम्पत्ति विवरणमा उल्लेख छ। सो जग्गाको प्राप्तिको स्रोतमा मावली हजुरआमाबाट प्राप्त भएको उल्लेख छ। दाहालकै नामको स्कुटर पनि मन्त्री मगरको सम्पत्ति विवरणमा राखिएको छ।

त्यस्तै सासू सीता दाहालको १ कट्टा जमिन पनि सम्पत्ति विवरणमा समेटिएको छ। त्यसको स्रोत भने पैतृक/सगोल उल्लेख गरिएको थियो।

पराराष्ट्रमन्त्री ज्ञवाली

परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरणमा १४ लाख ऋण देखाएका छन्।

काठमाडौंको घरमा तला थप्ने प्रयोजनका लागि ज्ञवालीले विनोद श्रेष्ठ, श्रीकृष्ण गौतम, रामेश्वर अर्याल, रामेश्वर थापा, भीम घिमिरेसहित ९ जनासँग ऋण लिएको उल्लेख छ।

श्रीमती सरस्वती ज्ञवाली अर्यालको नाममा ४ आना २ पैसा ३ दाममा बनेको २ तले पक्की घरलाई ज्ञवालीले सम्पत्ति विवरणमा रुपमा देखाएका छन्। बुटवलको जग्गा बिक्री गरी उक्त घर निर्माण गरिएको विवरणमा उल्लेख छ।

मन्त्री ज्ञवालीले आफूसँग करिब २ तोला सुन रहेको पन सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

श्रममन्त्री गोकर्ण विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफूसँग निजी एउटा पनि सवारीसाधन नभएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

आज सार्वजनिक सम्पत्ति विवरणमा उनले गुल्मीको इस्मा गाउँपालिका ४ मा कच्ची घर र दुई कटेरा रहेको उल्लेख गरिएको छ। मन्त्री विष्टले विभिन्न बैंकबाट ७३ लाख ऋण लिएका छन्।

विष्टकी श्रीमती प्रमिला श्रेष्ठका नाममा काठमाडौंको सामाखुसीमा ४० लाख बराबरको जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ। विष्ट र श्रीमतीसँग करिब ७ तोला सुन रहेको विवरणमा खुलाइएको छ।

मन्त्री विष्टको गुल्मीको इस्मा गाउँपालिकामा करिब ४० रोपनी जग्गा रहेको विवरणमा छ। श्रीमती समेतको नाममा विभिन्न बैंकमा ७ लाख २१ हजार ७ सय ४३ रुपैयाँ नगद रहेको विवरणमा खुलाइएको छ। यस बाहेक विष्टसँग टिभी, मोबाइल सेट र दराज रहेको विवरणमा उल्लेख छ।

 

उद्योग मन्त्री मातृका यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले आफ्नो सम्पत्ति श्रीमती प्रमिलादेवी यादवको नाममा राखेका छन्।

ललितपुरको चापागाउँमा ३ रोपनी ४ आना १ पैसा जमिन रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ। उक्त जमिनको मूल्य १ करोड ५ लाख बराबरको हुने यादवले विवरणमा उल्लेख गरेका छन्।

बुधबार सार्वजनिक गरिएको सम्पत्ति विवरणमा यादवले सिरहाको ३ ठाउँमा, धनुषाको ४ ठाउँमा र लतिलपुरमा भएको जमिन पुर्ख्यौली, स्वआर्जन, ऋण तथा सापटीबाट खरिद गरिएको उल्लेख छ। श्रीमती प्रमिलादेवि यादवको नाममा सिरहाको रामनगर र धनुषाको सवेलामा घर रहेको उल्लेख छ। सिराहाको रामनगरमा साढे २ धुरमा घर रहेको यादवको सम्पत्ति विवरणमा उल्लेख छ।

यादवले कुल २ करोड ५१ लाख बराबरको सम्पत्ति श्रीमतीको र भाइको नाममा राखेका छन्। श्रीमतीको नाममा सिरहामा २० लाख र २५ लाख गरी ४५ लाखको करिब १३ धुर जमिन रहेको त्यस्तै श्रीमतीकै नाममा धनुषाको सवेलमा ४ कित्ता सम्पत्ति रहेको विवरणमा उल्लेख छ।

धनुषामा १ लाख ६५ हजार, १ लाख २० हजार  र ४८ लाख मूल्य बराबरको सम्पत्ति श्रीमतीको नाममा रहेको विवरणमा उल्लेख छ।

सुन डेढ तोलाको सिक्री ४ वटा र अन्य गहना गरी जम्मा १६ तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख छ। उक्त गहना विवाह, मुख देखाइमा श्रीमतीको माइती र आफन्तबाट प्राप्त भएको विवरणमा उल्लेख छ।

यादवले हालसम्म कुनै पनि ऋण नरहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

यादवले श्रीमती र आफूगरी तीन वटा बैंक खातामा रकम मौज्दात रहेको देखाएका छन्। आफ्नो नाममा नेपाल एसबीआई बैंकमा ६९ हजार ६ सय ९१, नेपाल इन्भेष्टमेन्ट बैंकमा २ लाख ७४ हजार ६ सय ९० र श्रीमती प्रमिलादेवीको नाममा इन्भेष्टमेन्ट बैंकमा १ लाख ९८ हजार ४ सय ९० रुपैयाँ रहेको उल्लेख छ।

श्रीमतीको नाममा एउटा गाडी रहेको विवरणमा उनले उल्लेख गरेका छन्। श्रीमतीको नाममा बा १४ प ७३० नम्बरको गाडी रहेको यादवको सम्पत्ति विवरणमा उल्लेख छ।

उर्जामन्त्री वर्षमान पुन

ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले आफ्नो नाममा नेपाल एभेरष्ट बैंकबाहेक अन्य कतै पनि सम्पत्ति नरहेको दाबी गरेका छन्।

सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले आमा र बाबुको नाममा दाङ र रोल्पामा करिब २० लाख ३० हजार बराबरको जमिनबाहेक अन्य कुनै पनि घरजग्गा आफ्नो नाममा नरहेको उल्लेख गरेका छन्।

आमा तीर्थमाली पुन मगर र बाबु इर्खाराम पुनको नाममा दाङ र रोल्पामा २० लाख ३० हजार बराबरको खरिद गरेको र पुर्खौली सम्पत्ति रहेको उनको विवरणमा उल्लेख छ।

पुनसँग सुन १५ तोला र डेढ केजी चाँदी रहेको उल्लेख छ। करिब ७ लाख बराबरको सुनचाँदी पुर्ख्यौली सम्पत्तिको रुपमा आफ्नो नाममा रहेको विवरणमा उल्लेख छ। पुनसँग एभरेष्ट बैंकमा ३ लाख ५० हजार रुपैयाँ रहेको उल्लेख छ।

शेयर र ऋण कुनै पनि नरहेको ऊमन्त्री पुनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

वनमन्त्री शक्ति बस्नेत

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले जाजरकोटमा एउटा घर छोरीको नाममा, ४ रोपनी जग्गा र २ वटा सहकारीमा सेयर भएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

आज सार्वजनिक विवरणमा बस्नेतले जाजरकोटको भेरी नगरपालिकमा छोरी संगम बस्नेतको नाममा ४ रोपनी ३ पैसा जग्गा र सोही जग्गामा घर रहेको उल्लेख गरेका छन्। बैंकमा १५ लाख नगद तथा सुन ५ तोला र चाँदी १० केजी रहेको उल्लेख छ। उक्त सम्पत्ति पारिश्रमिक र पैतृक रहेको विवरणमा उल्लेख छ।

नेकपा माओवादीको नाममा रहेको बा ९ च ७४३१ नम्बरको स्करपियो र एभरेस्ट बैंकमा २० लाख रुपैयाँ तलब बापतको रकम मौज्दात रहेको बस्नेतको विवरणमा उल्लेख छ। जाजरकोटमा उनीसँग २ सहकारीको सेयर छ। लालीगुराँस सहकारीमा १० हजार र हाम्रो नयाँ कृषि सहकारीमा ३० लाखको सेयर रहेको बस्नेतको सम्पत्ति विवरणमा उल्लेख छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल

शिक्षामन्त्री पोखरेलको चन्द्रमणि पोखरेलको नाममा रहेको खोटाङ रावाबेँसी गाउँपालिकामा करिब २३ रोपनी अंशबन्डा नभएको पैत्रिक सम्पत्ति रहेको छ । त्यसैगरी एभरेष्ट बैंकमा रु ३ लाख ६७ हजार सम्पत्ति रहेको छ ।

 नेपाल बंगलादेश बैंकमा रु १३ हजार ९९३ भएको र खोटाङको रुपाकोट सामुदायिक रेडियोमा सेयर भएको उल्लेख गरिएको छ ।

महिला मन्त्री थममाया थापा

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको नाममा म्याग्दीको बेनी ८ मा सात रोपनी जग्गा छ। उनले आमाबाट सो जग्गा प्राप्त भएको उल्लेख गरेकी छन्। आमाले एक तोला सुन दिएको उल्लेख गरेकी उनले बैकमा १५ हजार रूपैयाँ रहेको विवरण पेश गरेकी छन्।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा 

युवा तथा खेलकुद मन्त्री जगत बहादुर (जेबी) सुनारले आफूसँग २० लाख बैंक ब्यालेन्स र ५० तोला सुन रहेको उल्लेख गरेका छन्।

आफ्नो नाममा नविल बैंकमा रहेको १३ लाख पारिवारिक आम्दानी बचत रहेको तथा अन्जु कुमार विश्वकर्माको नामम सोही बैंकमा रहेको रकम तलव, पेवा र सहयोगबाट आएको उल्लेख गरेका छन्।

यस्तै हुम बहादुर बडालाई २०७४ साल चैतमा ५ लाख ऋण दिएको उल्लेख गरेका छन्।

यस्तै गरगहनामा २०५७ सालदेखी अहिलेसम्म गरेर करिब ५० तोला सुन रहेको उल्लेख छ। जुन पैतिक, श्रीमतीलाई प्राप्त पेवा र उपहारसमेत रहेको जनाएका छन्।

यसैगरी जेबी सुनारले आफ्नो सम्पतीमा कास्कीको लेखनाथ महानगरपालिका वडा नम्बर १९ मा २०३६ साल देखि बसोबास गर्दै आएको घर उल्लेख गरेका छन्। २-१३-०-२ क्षेत्रफलमा रहेको उक्त घर डिल बहादुर सुनारको नाममा छ।

यस्तै डिल बहादुर सुनारकै नाममा लेखनाथ महानगरपालिकामा १४ हजारमा खरिद गरेको पैत्रिक जग्गा रहेको छ भने श्री महेन्द्र मावीको ३ कोठे भवन निर्माण गरेवापत पाएको ४ रोपनी जग्गा रहेको समेत उल्लेख छ। यस्तै सावित्री सुनारको नाम ललितपुर उपमहानगरपालिकामा जग्गा रहेको उल्लेख छ।

डिल बहादुर सुनारकै नामम कृषी विकास बैंकमा साधारण शेयर वापत ४ हजारको संख्यामा ४ हजार रकम रहेको उल्लेख गरेका छन्।

पर्यटनमन्त्री रवीन्द्र अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीका कास्की र काठमाडौंमा तीन वटा घर छन्।  कास्कीमा उनको ९४.५ रोपनी जग्गा छ। मन्त्री अधिकारीसँग ६० तोला सुन ३० किलो चाँदी छ। उनको बैंक खातामा २४ लाख ५७ हजार रूपैयाँ छ भने तीस लाख २६ हजार सेयरमा लगानी गरेका छन्। उनी २० लाखको कार चढ्छन्। अधिकारीसँग ८० हजारको ल्यापटप र   १ लाख १५ हजार मूल्यको मोबाइल फोन २ वटा (एप्पल र सामसुङ) रहेको छ ।

कानुनमन्त्री शेरबहादुर तामाङ

पत्नी उषाकला राईको नाममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ मा तीन आना ३ पैसा २ दाम जग्गामा घर रहेको छ । उनको नाममा मोरङमा पनि प्रशस्त जग्गा जमिन छ ।

त्यस्तै मन्त्री तामाङको नाममा सिन्धुपाल्चोकको सिन्धुकोटमा पाखोबारी र खेतहरु देखाइएको छ भने पत्नी उषाकलाको नाममा मोरङमा सात कित्ता जग्गा छ । त्यस्तै उषाकलाकै नाममा खोटाङमा जग्गा छ । प्रदेशसभा सदस्य उषाकलाको माइती खोटाङ हो । उनी त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकसमेत हुन् ।

तामाङको काठमाडौं महानगरपालिका ९ मा ६ आना आना जग्गा छ । त्यस्तै मन्त्री तामाङको सम्पत्ति विवरणमा ३० तोला सुन देखाइएको छ । मन्त्री तामाङको बिभिन्न संस्थाको १५ लाख बराबरको शेयर रहेको छ ।

कृषि विकास बैंकबाट ४० लाख र अन्य बै‌ंकहरुमा ३० लाख गरी ७० लाख रुपैयाँ ऋ्ण देखिएको छ । मन्त्री तामाङको एउटा गाडी, एउटा मोटरसाइकल र २ थान ल्यापटप पनि सम्पत्ति विवरणमा देखाइएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार  ४ : ३९ बजे