२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025

ट्रम्प र किमबीच शिखर वार्ताको तयारी


१९ जेष्ठ २०७५, शनिबार  

0
Shares

-बीके नेवा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच ऐतिहासिक शिखरवार्ता हुने सम्भावना अन्त्य भएको छैन । जुन १२ मा नेताद्वयबीच सिङ्गापुरमा हुने भनिएको शिखर वार्ता स्थगित गर्नुभएका ट्रम्पले आफ्नो निर्णयमा पुनःविचार गर्दै सोही मितिमा शिखर वार्ता हुने बताउनुभएको छ । उत्तर कोरिया शिखरवार्ताप्रति सकारात्मक रहेको र वार्ता गर्न तयार रहेकोले शिखर वार्ता हुने आशा बढेको हो ।

सम्भावित वार्ताप्रति विश्व समुदायले निकै चासो देखाएको छ । अत्यन्तै कटुतापूर्ण सम्बन्ध रहेका दुई मुलुकबीच हुने पहिलो ऐतिहासिक शिखर वार्ता आफैमा महत्वपूर्ण छ । उत्तर कोरिया र अमेरिकाबीच सम्बन्ध सुधार हुनु समग्र विश्व शान्ति र स्थायित्वकै लागि महत्वपूर्ण कदम हुनेछ ।
अमेरिकाले दक्षिण कोरिया, जापान र त्यहाँ रहेका आफ्ना सैन्य अखडाको सुरक्षाका लागि उत्तर कोरियालाई आणविक निशस्त्र बनाउन चाहेको छ । सानो मुलुक भए पनि उत्तर कोरियाले अमेरिकासम्म मार हान्नसक्ने अन्तर महादेशीय आणविक क्षेप्यास्त्र बनाएको छ ।

छैटौँ पटकसम्म आणविक परीक्षण गरेको उत्तर कोरिया सैन्य हिसाबले दक्षिण कोरिया र जापानभन्दा शक्तिशाली छ । आफ्नो मुुलुकको सुरक्षाका लागि धेरै खर्चेर सेना र हतियारलाई जोड दिएको उत्तर कोरियाले अब आणविक होडबाजीमा नलागी शान्तिका लागि काम गर्ने सङ्केत गरेको छ । युद्ध उत्तर कोरियाको चाहना होइन,मुलुक रक्षाका लागि आणविक हतियार बनाउनु उसको वाध्यता भएको दावी गरिएको छ ।

लेखक

अमेरिका र उत्तर कोरियाबीच सम्बन्ध राम्रो बनेको छैन । तर पछिल्ला दिनमा सम्बन्ध सुधार हुने सम्भावना बढेको छ । अमेरिकी विदेशमन्त्री र सीआईएका प्रमुखले हालै उत्तर कोरिया भ्रमण गरेर प्रस्तावित शिखर वार्ताका लागि सहजीकरण गर्न मद्दत पुगेको छ । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताबीच अहिलेसम्म शिखरवार्ता भएको छैन । त्यसैले पनि अब हुने शिखरवार्ताले विश्वशान्ति र स्थायित्वका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

उत्तर कोरियाविरुद्ध अमेरिकाले वर्षौदेखि कडा आर्थिक नाकाबन्दी लगाएको छ । साथै संयुक्त राष्ट्रसङ्घीय नाकाबन्दी पनि उसमाथि छदैछ । यस्तो दोहोरो नाकाबन्दीको मारमा पनि उत्तर कोरियाले आणविक हतियार बनाउन र परीक्षण गर्न छाडेन । दक्षिण कोरिया,जापान,अमेरिका र संयुक्त राष्ट्रसङ्घसँगको सम्बन्ध खराब भएपछि उत्तर कोरिया थप आक्रामक बनेको हो । उसका गतिविधिले विश्वलाई नै तर्सित बनाएको पृष्ठभूमिमा हालै उत्तर कोरियाली सर्वोच्च नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच सम्पन्न शिखरवार्ताले शान्तिको ठूलो आशा पलाएको छ । यही शिखरवार्ताको सफलताले अर्को शिखर वार्ता लागि मार्गप्रसस्त गरेको हो ।

अप्रत्यासित रुपमा सत्तामा आउनुभएका अमेरिकी राष्ट्रपति ट्रम्प पछिल्ला दिनमा विश्वशान्तिका लागि केही काम गर्ने पक्षमा देखिनुभएको छ । पहिले त उहाँले उत्तर कोरियाविरुद्ध सैन्य कारबाहीको सोच र तयारीसमेत गर्नुभयो । तर उत्तर कोरियाविरुद्धको सैन्य कारबाही प्रत्युत्पादक बन्ने निष्कर्ष निकालेपछि उहाँले सोच परिवर्तन गरी शिखर वार्ताका लागि तयार हुनुभयो । तर प्रस्तावित शिखरवार्ता उहाँले नै स्थगित गर्नुभयो । सिरियाभन्दा फरक पृष्ठभूमिको उत्तर कोरियासित बिग्रेको सम्बन्ध सुधार गरी आणविक कार्यक्रक रोक्न सक्नुभयो भने ट्रम्पका लागि पनि यो ठूलो सफलता हुनेछ । त्यसैले उहाँले उत्तर कोरियासित शिखरवार्ता गर्नुहुने अपेक्षा टरेको छैन ।

अमेरिकामा राष्ट्रपति ट्रम्पको लोकप्रियता बढ्न सकेको छैन । उहाँले गर्नुभएका विवादास्पद निर्णयहरुले नयाँ वहस सुरु भएको छ । सत्तामा आएपछि ट्रम्पले पूर्वराष्ट्रपति बाराक आबोमाले गर्नुुभएका महत्वपूर्ण तथा दीर्घकालीन महत्वका निर्णयहरु रद्द गर्ने काम गर्नुभयो जसले गर्दा उहाँ विवादमा मुछिनुभयो ।

ओबामा कालमा भएका जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता, क्युवासित स्थापना भएको कूटनीतिक सम्झौता, इरानसित गरिएको आणविक सम्झौता, इजरायल—प्यालेस्टाइन नीति,ट्रान्स प्यासिफिक सम्झौताबाट पछि हट्नु भएका ट्रम्पले नयाँ काम गर्न सक्नु भएको छैन । उहाँले गर्नु भएका पछिल्ला निर्णयहरुको देशभित्र र बाहिर आलोचना भएको छ । अमेरिकालाई फेरि महान् बनाउने उहाँको अभियानले गति लिन सकेको छैन । यो अवस्थामा उहाँले विगतका राष्ट्रपतिहरुले गर्न नसकेको नयाँ काम गर्नुभयो भने निश्चिय नै उहाँको लोकप्रियता बढ्ने छ । सबैका लागि चासोको विषय बनेको उत्तर कोरिया र अमेरिकाबीचको वार्ता सफल भई सम्बन्ध सुधार हुनसक्यो र उत्तर कोरियाको आणविक कार्यक्रम बन्द गर्ने सहमति ट्रम्प र किमका बीचमा भयो भने यसले विश्वलाई नै नयाँ सन्देश दिनेछ । त्यसका लागि पर्याप्त गृहकार्य गर्न जरुरी छ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच भएको ऐतिहासिक शिखर वार्तापछि सम्बन्धमा नयाँ आयाम थपिएका बेला अमेरिका र दक्षिण कोरियाबीच भएको संयुक्त सैनिक अभ्यासले फेरि आशङ्का बढाउने काम गरेको छ । संयुक्त सैनिक अभ्यासप्रति उत्तर कोरियाले तीव्र असन्तुष्टि र आक्रोश जनायो । सोही कारण देखाइ अमेरिकी राष्ट्रपति ट्रम्पले जुन १२ मा गर्ने भनिएको शिखर वार्ता स्थगित गर्नुभयो । तर सोही मितिमा शिखरवार्ता गर्ने तयारी फेरि हुँदै छ । केही गरी सो मितिमा वार्ता नभए आपसी सहमतिमा अर्को मिति तय गरिने बताइएको छ । वार्तालाई सहज बनाउन एक अर्का मुलुकलाई उत्तेजित बनाउने अनर्गल प्रचार बन्द गराउनुपर्छ । ट्रम्प र किमबीच हुने शिखर वार्ताका लागि सहज वातावरण बनाउन दक्षिण कोरियाका राष्ट्रपति मुन अमेरिका जानुभयो । उहाँले अमेरिकी राष्ट्रपति ट्रम्पसित भेटवार्ता गरी वार्ताको वातावरण बनाउने प्रयास गर्नुभयो । ट्रम्प र मुनबीचको यो भेटवार्तालाई उत्तर कोरियाले सकारात्मक रुपमा लिएको छ । ट्रम्पसँगको भेटपछि मुनले फेरि उत्तर कोरियाली नेता किमसग्ाँ आकस्मिक भेट गर्नुभएको छ । वार्ताका लागि दुवै नेता तयार रहनुभएकाले जुन १२ मा शिखरवार्ता हुने सम्भावना फेरि बढ्दै छ । यदि सो मितिमा नभए पनि उपयक्त समयमा शिखरवार्ता गरिने अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनु भएको छ । उत्तर कोरिया भने जुन १२ मै वार्ता गर्न तयार रहेको बताएको छ ।

युद्धले समस्या समाधान गर्न सक्दैन,यसले विनासमात्र निम्त्याउँछ भन्ने कुरालाई ट्रम्प, मुन र किमले आत्मसात् गरेजस्तो देखिएको छ । युद्ध गर्ने पक्षमा नहुँदा नहुँदै पनि अविश्वासको वातावरण अझै अन्त्य भइसकेको छैन । उत्तर कोरियाविरुद्ध लगाइएका आर्थिक नाकाबन्दी हटाउने विषयमा ट्रम्प र किमबीच सहमति भयो,उत्तर कोरियाको आणविक कार्यक्रम बन्द गर्ने र उत्तर कोरियासित कूटनीतिक सम्बन्ध स्थापना भयो भने निश्चय नै शिखरवार्ता सार्थक हुनेछ ।

शान्ति र मेलमिलाप आजको आवश्यकता हो । दम्भ र घमण्डले विनास निम्त्याउँछ । विश्वशान्ति र समृद्धिका लागि शक्ति राष्ट्रहरु मिलेर काम गर्नुपर्छ । सानो मुलुक उत्तर कोरियालाई विश्व समुदायबाट एक्ल्याउँदा र कडा नाकाबन्दी लगाउँदा त्यो झन् प्रत्युत्पादक बन्यो । चाहेर पनि उत्तर कोरियालाई कमजोर बनाउन सकिएन । उत्तर कोरियाले आणविक क्षेत्रमा गरेको नाटकीय प्रगतिले छिमेकीहरुलाईमात्र नभएर विश्व समुदायलाई नै चुनौती दियो । त्यसैले अब मिल्नुको विकल्प छैन । उत्तर कोरियालाई मनाएर,राम्रो सम्बन्ध स्थापित गरी आणविक हतियारको कार्यक्रम बन्द गर्दै आणविक शक्तिलाई शान्तिपूर्ण प्रयोजनका लागि उपयोग गर्नु नै सबैका लागि हितकर हुनेछ ।

अमेरिका र उत्तर कोरियाबीच सम्बन्ध बिग्रदा यसले ठूलो समस्या निम्त्यायो । अविश्वासकै कारण आणविक युद्धको खतरा बढायो । आणविक युद्ध भयो भने अहिलेसम्म मानव जातिले गरेका ऐतिहासिक उपलब्धि, कला र सिर्जना सबै ध्वस्त हुने खतरा छ । त्यसैले युद्धलाई सधैका लागि निषेध गर्न जरुरी छ ।

अब अमेरिकालेमात्र होइन संयुक्त राष्ट्रसङ्घले पनि उत्तर कोरियामाथि लगाएको आर्थिक नाकाबन्दी हटाउनुपर्छ । उत्तर कोरियालाई एक्लाउने काम बन्द गर्नुपर्छ । उत्तर कोरियाले पनि सहमतिमा आएर विश्व समुदायको चाहना र चासोलाई सम्बोधन गर्नुपर्छ । नयाँ शिराबाट सम्बन्ध सुधार हुन सक्यो भने एक्काइसौँ शताब्दी मानव समुदायका लागि हितकर हुनेछ । विश्व सुरक्षा र शान्तिका लागि मिल्नुको विकल्प देखिँदैन । एकले अर्काको हित र चासोलाई सम्बोधन गर्ने हो भने युद्धको बोटामा जानुपर्ने अवस्था नै सिर्जना हुँदैन ।

अतः विश्वको सर्वशक्तिशाली राष्ट्र अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियासितको विवाद शिखरवार्तामार्फत मिलाउनुभयो र दुई कोरियाबीच मेल गराउन सफल हुनुभयो भने यो उहाँको राजनीतिक भविष्यका लागि पनि निकै महत्वपूर्ण उपलब्धि हुनेछ । साथै,उत्तर कोरिया पनि विश्व राजनीतिको मूलधारमा आउन मार्गप्रशस्त हुनेछ ।

प्रकाशित मिति : १९ जेष्ठ २०७५, शनिबार  ८ : ०७ बजे