२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

फुटबल – विश्वकपको रौनक शुरु


२४ जेष्ठ २०७५, बिहिबार  

0
Shares

एभरेस्ट टाइम्स । फुटबलको कुम्भ मेला फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ यहि जुन १४ बाट सुरु हुँदैछ। ३२ टिमको सहभागिता रहने प्रतियोगिताका लागि सवै टिमले तयारी अन्तिम चरणमा पुर्‍याएका छन् । अन्तिम टिम घोषणा भइसकेको छ ।

रसियाका ११ शहरका १२ रंगशालामा हुने प्रतियोगितामा छनोट भएका ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ ।

समूह विभाजन अगस्ट महिनाको फिफा वरीयताका आधारमा गरिएको थियो । वरियताका आधारमा छनोट भएका ३२ टिमलाई ४ पोटमा विभाजन गरिएको थियो । प्रत्येक पोर्टबाट १–१ टिम ८ समूहमा परेका छन् ।

यस्तो छ समूह विभाजन र तयारी

समूह ए – रुस, साउदी अरेबिया, इजिप्ट, उरुग्वे
जुनमा रुस र साउदी अरेबियाबीचको खेलबाट आउँदो विश्वकपको ढोका खुल्नेछ । रुस एसियाली समूहबाट छनोट भएको साउदी अरेबियामाथि जित निकाल्दै सुनौलो यात्रा थाल्ने दाउमा छ । यो समूहमा उरुग्वे र इजिप्ट पनि छन् । तर, उरुग्वे र रुसलाई नै दोस्रो चरणमा पुग्ने देशका रूपमा हेरिएको छ । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने लुइस सुआरेज र पिएसजीका भरपर्दा स्ट्राइकर इडिन्सन काभानीको ‘स्टाइकिङ लाइनअप’ले उरुग्वेलाई समूह विजेताको दाबेदार बनाइदिएको छ । सन् १९३० र १९५० को विश्वकप विजेता उरुग्वे लगातार तेस्रोपल्ट छनोट भएको हो ।

यता, विश्वकप आयोजकको हैसियतले छनोट खेल्न नपरेको रुस सीधै छानियो । रुसले ११औँ पटक विश्वकप खेल्नेछ । अफ्रिकी क्षेत्रको छनोटमा समूह ‘ई’ को विजेता इजिप्ट भने सन् १९९० पछि पहिलोपटक विश्वकप खेल्दै छ । साउदी अरेबिया सन् २००६ पछि पहिलोपटक विश्वकप खेल्दै छ ।

समूह बी – पोर्चुगल, स्पेन, मोरक्को, इरान
‘टोटल फुटबल’ महारथी स्पेन र सर्वकालीन फुटबलर क्रिस्टियानो रोनाल्डो नेतृत्वमा रहने पोर्चुगलबीचको पहिलो खेल नै उत्कृष्ट हुने आशा छ । यी दुवै टिम दोस्रो चरणमा पुग्ने बलियो सम्भावना छ ।

सन् २०१० को विश्वकप विजेता स्पेन भने १५औँपटक विश्वकपमा सहभागी हुँदैन । आन्द्रे इनिस्टा, सर्जिओ रामोस, जेरार्ड पिके, जोर्ड अल्वाजस्ता खेलाडीका लागि सम्भवतः यो अन्तिम विश्वकप हुनेछ । चार वर्षअघि उपाधि रक्षाको अभियानसहित ब्राजिल पुगे पनि पहिलो चरणबाटै बाहिरिएको स्पेन यसपटक उपाधिको दाबेदार मानिएको छ । त्यसो त अघिल्लो वर्ष युरोकप उचालेको पोर्चुगल पनि पहिलेभन्दा सुदृढ छ । रोनाल्डोका लागि सम्भवतः यो विश्वकप अन्तिम हुनेछ । त्यसैले यो विश्वकप अविस्मरणीय बनाउने प्रयासमा उनी हुनेछन् । पोर्चुगल युरोपेली क्षेत्रको समूह बीको विजेता बन्दै लगातार पाँचौँपल्ट विश्वकपमा छनोट भएको हो । सन् १९६६ मा तेस्रो भएको पोर्चुगलले यसअघि सातपल्ट विश्वकपमा सहभागिता जनाइसकेको छ ।

अफ्रिकी क्षेत्रको छनोटमा समूह सीको विजेता मोरक्को सन् १९९८ पछि पहिलोपल्ट विश्वकपमा पुगेको हो । पाँचौँपटक विश्वकप खेल्न लागेको मोरक्को सन् १९८६ मा अन्तिम १६ मा पुगेको थियो । एसियाली क्षेत्रको छनोटमा समूह एको विजेता बनेर इरानले पाँचौँपल्ट विश्वकपमा स्थान सुरक्षित गरेको हो । सन् १९७८, १९९८, २००६ र २०१४ मा उसको यात्रा समूह चरणबाट अघि बढ्न नसकेको इतिहास छ ।

समूह सी – फ्रान्स, अस्ट्रेलिया, पेरु, डेनमार्क
समूह सीबाट दोस्रो चरणमा पुग्न सक्ने सबैभन्दा बलियो टिम फ्रान्स हो । सन् २००६ को विश्वविजेता फ्रान्स अघिल्लो वर्षको युरो उपविजेता हो । घरेलु मैदानमा सन् १९९६ मा ट्रफी उचालेयता फ्रान्सले लगातार विश्वकपमा सहभागिता जनाएको छ । यसपटक एन्टोइनी ग्रिजम्यान, पाउल पोग्वा, ओलिभर जिराउड, दिमित्री पायटजस्ता अट्याकिङ मिडफिल्डरजस्ता उत्कृष्ट खेलाडीको साथ फ्रान्स निकै बलियो देखिन्छ । यो समूहबाट अस्ट्रेलिया, पेरु, डेनमार्कले समूह उपविजेता बन्दै दोस्रो चरणमा पुग्न प्रतिस्पर्धा गर्नुपर्नेछ ।

ल्याटिन अमेरिकी क्षेत्रको छनोटमा अन्तिम खेलमा कोलम्बियासँग बराबरी खेलेपछि पाएको प्ले अफको मौका सदुपयोग गर्दै पेरुले ३६ वर्षपछि विश्वकपको टिकट पक्का गरेको हो । यता, युरोपेली क्षेत्रको छनोटको पाँचौँ चरणमा रिपब्लिक अफ आयरल्यान्डलाई समग्रमा ५–१ ले हराउँदै डेनमार्क सन् २०१० पछि पहिलोपल्ट विश्वकपमा छानिएको हो । उसको पनि विश्वकपमा यो पाँचौँ सहभागिता हो ।
अस्ट्रेलियाले भने अन्तरमहादेशीय प्ले अफमा होन्डुरसलाई पछि पार्दैै रुसको लागि टिकट पक्का गरेको हो । भूगोलले एसियामा नपर्ने भए पनि एसियाली क्षेत्रबाट विश्वकप छनोट खेल्दै आएको अस्ट्रेलियाले लगातार चौथोपल्ट सहभागिता जनाउँदै छ । सन् २००६ मा अन्तिम १६ सम्म पुगेको अस्ट्रेलिया यसपल्ट त्योभन्दा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ ।

समूह डी – अर्जेन्टिना, आइसल्यान्ड, क्रोएसिया, नाइजेरिया

छनोट चरणको अन्तिम खेल बाँकी हुँदासम्म पनि अर्जेन्टिनाको रुस यात्रा तय हुन सकेको थिएन । इक्वेडरसँगको अन्तिम खेलमा मेसीले ह्याट्रिक गरेपछि यात्रा सुनिश्चित भएको हो । समग्रमा १७औँ र लगातार १२औँपल्ट विश्वकपमा छानिएको अर्जेन्टिना समूह डीमा सबैभन्दा बलियो मानिएको छ । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने मेसी, म्यान्चेस्टर सिटीमा चम्किरहेका अगुइरो, युभेन्टसमा चम्किरहेका ड्यावाला, ह्युगेइनजस्ता खेलाडी अर्जे्न्टिनामा छन् । यो समूहबाट अन्तिम १६ मा पुग्ने सम्भावना क्रोएसियाको देखिन्छ । रियल म्याड्रिडका सबैभन्दा भरपर्दा मिडफिल्डर लुका मोड्रिक, बार्सिलोनाका इभान रेकोटिकजस्ता उत्कृष्ट फुटबलरको साथ उसलाई छ ।

क्रोएसिया युरोपेली क्षेत्रको पाँचौँँ छनोट चरणमा ग्रिसलाई समग्रमा ४–१ ले हराउँदै छानिएको हो । सन् २००६ को विश्वकपमा सहभागी भएर प्रभावशाली प्रदर्शन गरे पनि क्रोएसिया सन् २०१० मा भने छनोट हुन सकेको थिएन ।
रुस विश्वकपमा स्थान बनाउने दुई नयाँ टिममध्ये एक हो, आइसल्यान्ड । युरोपेली क्षेत्रको समूह ‘इ’को विजेता हुँदै पहिलोपल्ट विश्वकपमा सहभागी हुन लागेको आइसल्यान्डको खेल चासोमा परेको छ । अफ्रिकी क्षेत्रको छनोटमा समूह बीको विजेता बनेको नाइजेरियाका लागि यो सहभागिता तेस्रोपटक हो । छैटौँपटक विश्वकप खेल्न लागेको नाइजेरिया सन् १९९४, १९९८ र सन् २०१४ को विश्वकपमा दोस्रो चरणसम्म पुगेको थियो ।

समूह ई – ब्राजिल, स्विट्जरल्यान्ड, कोस्टारिका, सर्बिया
खेलाडीहरूको उच्च प्रदर्शन हेर्दा ब्राजिल यो समूहबाट सहजै अन्तिम १६ मा पुग्ने देखिन्छ । सबैभन्दा बढी पाँचपटक विश्वकपको ट्रफी उचालेको ब्राजिलसँग यसपटक नेइमार, ग्राव्रियल जेसस, कौटिन्हो, पौलिन्हो, मार्सेलो, ओस्कार, डेभिड लुइज, थिएगो सिल्भा, डानी अल्भासजस्ता स्टार खेलाडीको साथ छ । पाँचपटकको विश्वविजेता ब्राजिल अहिलेसम्म आयोजना भएका सबै विश्वकप खेल्ने एक मात्र टोली हो । सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा ट्रफी उचालेको ब्राजिल दक्षिण अमेरिकी छनोटमा विजेताका रूपमा रुस पुगेको हो । छैटौँपल्ट विश्वविजेता बन्दै रेकर्ड कायम गर्ने र सन् २०१४ मा घरेलु मैदानमा जर्मनीसँग व्यहोरेको नमीठो पराजयको पीडा भुलाउने सामथ्र्य ब्राजिलमा देखिन्छ ।

यता, लगातार चौथोपल्ट विश्वकप खेल्न लागेको स्विट्जरल्यान्ड युरोपेली क्षेत्रको पाँचौँ चरणको छनोटमा नदन आयरल्यान्डलाई समग्रमा १–० ले हराउँदै विश्वकपमा छानिएको हो । यो उसका लागि ११औँ विश्वकप हो । विश्वकपमा ठूलै उलटफेर गर्न नसके पनि सन् १९३४, १९३८ र १९५४ मा क्वार्टरफाइनलसम्म पुगेको उसको इतिहास छ ।

कोस्टारिका पाँचौँपल्ट विश्वकपमा पुगेको हो । सन् २०१४ मा क्वार्टरफाइनलसम्म पुगेको कोस्टारिकाले यसपल्ट अमेरिकी क्षेत्रको छनोटमा उपविजेता बन्दै रसियाको टिकट काटेको हो । सन् १९९२ सम्म युगोस्लाभिया र सन् १९९२ देखि २००६ सम्म सर्बिया एन्ड मोन्टेनेग्रेको अधिनमा रहेको सर्बियाको विश्व फुटबलमा खासै दबदबा देखिँदैन । तर, युरोपेली क्षेत्रको समूह ‘डी’को विजेता बन्दै सर्बिया समग्रमा १२औँपल्ट विश्वकपमा छनोट भएको हो ।

समूह एफ – जर्मनी, मेक्सिको, स्विडेन, दक्षिण कोरिया
रुस विश्वकपको सबैभन्दा कठिन समूहका रूपमा समूह ‘एफ’लाई लिन सकिन्छ । जर्मनी, मेक्सिको, स्विडेन र दक्षिण कोरियाबीचको प्रतिस्पर्धा रोचक हुने अनुमान छ । डिफेन्डिङ च्याम्पियन जर्मनी छनोट खेलदेखि नै यसपटक पनि उच्च फर्ममा छ । युवा खेलाडीको बाहुल्यताले जर्मनीलाई झन् मजबुत देखाएको छ । दोस्रो रोजाइका खेलाडीको बलमा कन्फेडेरेसन कप जितेको जर्मनी यसपटक पनि उपाधिको प्रबल दाबेदार हो ।

दोस्रो चरण पुग्ने अर्को टिम बन्न भने कडा भिडन्त हुने देखिन्छ । बलियो टिम मेक्सिको, इटालीलाई हराउँदै विश्वकपमा स्थान बनाएको स्विडेन र एसियाको पावरहाउसका रूपमा रहेको दक्षिण कोरिया पनि दोस्रो चरणमा पुग्न सक्ने सामथ्र्य राख्छन् ।

चारपल्टको विश्वविजेता जर्मनी डिफेन्डिङ च्याम्पियन हो । सन् १९५४, १९७४, १९९० को विजेता जर्मनीले २०१४ मा अर्जे्न्टिनालाई १–० ले पछि पार्दै चौथो उपाधि जितेको थियो । युरोपेली क्षेत्रको छनोटमा समूह सीको विजेता बन्दै रुसयात्रा तय गरेको जर्मनीको सहभागिता विश्वकपमा १९औँपटक हो । पछिल्ला १७ संस्करणमा उसको निरन्तरतको सहभागिताले पनि हरेक विश्वकपमा ऊ उपाधिको होडमा प्रमुख दाबेदार रहेको पुष्टि गर्छ ।

१६औँपटक विश्वकप खेल्न लागेको मेक्सिकोले अमेरिकी क्षेत्रको छनोटमा विजेता बनेर रुसयात्रा तय गरेको हो । लगातार सातौँपटक सहभागी हुने लागेको मेक्सिकोले विश्वकपमा क्वार्टरफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेको छैन । सन् १९७० र सन् १९८६ मा क्वार्टरफाइनलसम्मको यात्रा नै उसको सबैभन्दा सफल विश्वकप यात्रा हो ।

चारपटकको विश्वविजेता इटालीमाथि सनसनीपूर्ण नतिजा निकाल्दै स्विडेनले यसपटक विश्वकपका लागि टिकट पक्का गरेको हो । सन् २००६ पछि पहिलोपटक छनोट हुने क्रममा उसले युरोपेली क्षेत्रको छनोटको पाँचौँ चरणको होम एन्ड अवे खेलमा इटालीलाई समग्रमा १–० ले हरायो । यसपल्ट इटालीलाई विश्वकप पुग्नबाट रोकेको स्विडेनले सन् १९५८ को उपविजेताबाहेक उल्लेख्य प्रदर्शन गर्न सकेको छैन । एसियाको पावरहाउस दक्षिण कोरिया एसियाली क्षेत्रको छनोटमा समूह एको उपविजेता बन्दै छनोट भएको हो । दक्षिण कोरियाको यो १०औँ सहभागिता हो । लगातार नौपटक विश्वकपमा स्थान सुरक्षित गरेको दक्षिण कोरियाको सबैभन्दा राम्रो प्रदर्शन सन् २००२ मा घरेलु मैदानमा भएको विश्वकपमा सेमिफाइनलसम्मको यात्रा हो ।

समूह जी – बेल्जियम, पानामा, ट्युनिसिया, इंग्ल्यान्ड
हरेक विश्वकपमा दाबेदारका रूपमा हेरिने इंग्ल्यान्ड र उत्कृष्ट लयमा रहेको बेल्जियमबीच नै यो समूहमा शीर्ष को हुने भन्ने होडको सम्भावना छ । इडेन हजार्ड, रोमेलु लुकाकु, केभिन डी ब्रुएने, इलेक्स विसेल, फलानीजस्ता विश्वका चर्चित मिडफिल्डर र स्ट्राइकरले मात्र होइन, डिफेन्समा भिनसेन्ट कम्पनी र गोलपोस्टमा थिवाउटको उपस्थितिले पनि बेल्जियमलाई बलियो बनाएको छ । १३औँ पल्ट विश्वकपमा स्थान बनाएको बेल्जियमले युरोपेली क्षेत्रअन्तर्गत समूह एचमा छनोट खेलमा आफ्नो रवाफ देखाइसकेको छ ।
सन् १९६६ मा विश्वविजेता भएयता नतिजा दोर्होयाउन नसकेको इंग्ल्यान्डले यसपटक युरोपेली क्षेत्रको छनोटमा समूह एफको विजेता बन्दै रुसयात्रा तय गरेको हो । लगातार छैटौँपटक विश्वकपमा छनोट भएको इंग्ल्यान्डले समग्रमा १५औँ पटक विश्वकपमा सहभागिता जनाएको छ ।
पनामा विश्वकप खेल्ने अर्को एक नयाँ देश हो । अमेरिकी क्षेत्रको छनोटमा पनामा तेस्रो भएर विश्वकपमा पुगेको हो । अप्रत्याशित रूपमा अमेरिका विश्वकपबाट बाहिरिएको यो समूहमा पानामा गोलअन्तरमा होन्डुरसलाई पछि पार्दै सीधै छनोट भएको हो । यही समूहको ट्युनिसिया अफ्रिकीक्षेत्रको छनोटमा समूह एको विजेता बन्दै सन् २००६ पछि पहिलोपल्ट विश्वकप खेल्दै छ ।

समूह एच –पोल्यान्ड, सेनेगल, कोलम्बिया, जापान
समूह ‘एच’ मा रहेका देश झन्डै–झन्डै उस्तै क्षमताका देखिन्छन् । अहिलेसम्म विश्वकपमा ठूलो सफलता नपाएका पोल्यान्ड, सेनेगल, कोलम्बिया र जापानमध्ये कोलम्बिया र पोल्यान्ड दोस्रो चरणमा जाने सम्भावना देखिन्छ । गत संस्करणमा क्वार्टरफाइनलसम्म पुगेको कोलम्बिया यसपटक जेम्स रोड्रिग्वेज, राडामेल फाल्काओ, हुआन काउड्राडोजस्ता राम्रा खेलाडीका साथ रुस जाँदै छ । यता, छनोट चरणमा सबैभन्दा बढी १७ गोल गरेका राबर्ट लेवेन्डोस्कीको नेतृत्वमा पोल्यान्ड पनि बलियो देखिन्छ । सन् २००६ पछि पहिलोपटक विश्वकपमा छनोट भएको पोल्यान्ड युरोपेली क्षेत्रको छनोटमा समूह ‘ई’को विजेता हो । २००६ को पहिलो सहभागितामै नतिजा निकालेको सेनेगल त्यसको निरन्तरता चाहन्छ । यस्तै, एसियाको बलियो देश मानिने जापान पनि दोस्रो चरणमा पुग्ने प्रयासमा हुनेछ । लगातार छैटौँपटक विश्वकप खेल्ने एसियाली राष्ट्र हो, जापान । एसियाली क्षेत्रको छनोटमा समूह बीको विजेता बनेको जापानले सन् २००२ मा घरेलु मैदानमा भएको विश्वकप र त्यसपछि २०१० मा भएको विश्वकपमा समूह चरण पार गरेको थियो ।

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहिबार  ५ : १६ बजे