४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल गोला प्रथाबाट टु‌ंगो लाग्दै


२७ जेष्ठ २०७५, आइतबार  

0
Shares

काठमाडौं: राष्ट्रिय सभा सदस्यहरूको कार्यकालको टुँगो असार ४ गते लाग्ने भएको छ । राष्ट्रिय सभाको नियमावली पारित भएसँगै संघीय संसद् सचिवालयले गोला प्रथाबाट सदस्यहरूको कार्यकाल टुँगो लगाउने तयारी गरेको छ ।

संविधानको धारा ८६ को (३) बमोजिम सदस्यहरूको कार्याकालको टुँगो गोला प्रथाद्वारा लगाइने व्यवस्था छ ।

सोही बमोजिम राष्ट्रिय सभा नियमावलीमा गोला प्रथा विधिको बारेमा प्रस्ट पारिएको छ ।

पहिलो पटकको लागि गोला प्रथाद्वारा उन्नाइस जना सदस्यको पदावधि दुई वर्ष, अर्को बीस जना सदस्यको चार वर्ष र बाँकी बीस जना सदस्यको छ वर्ष कायम हुने व्यस्था रहेको छ ।

राष्ट्रिय सभामा कूल सदस्य ५९ सदस्य रहेका छन् । जसमा नेकपाबाट ४१, कांग्रेसबाट १३, राजपा २ र फोरम  २ सदस्य रहेका छन् ।

गोला प्रथाका लागि प्रत्येक प्रदेशबाट निर्वाचित तीन जना महिला सदस्यको समूह, सबै प्रदेशबाट निर्वाचित सात जना दलित सदस्यको समूह, सबै प्रदेशबाट निर्वाचित सात जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सदस्यको समूह, यी समूहमा समावेश भएकाबाहेक प्रत्येक प्रदेशबाट निर्वाचित तीन जनाको अन्य सदस्यको समूह र राष्ट्रपतिबाट मनोनीत तीन जना सदस्यको समूहमा फरक फरक गोला प्रथा हुनेछ।

यसैबीच सोमबार दुवै सदनको संयुक्त नियमावली सम्बन्धमा दिउँसो १ बजे दुवै सदनको संयुक्त बैठक बस्दैछ।

प्रकाशित मिति : २७ जेष्ठ २०७५, आइतबार  ७ : ३५ बजे