लोकदोहोरी गायिका रमिला न्यौपाने सिन्धुपाल्चोकको बाँडेगाउँ– ३ बाट काठमाडौंमा पढ्न आएकी थिइन् । छोरीले सहरमा पढोस् र सरकारी जागिरमा लागोस् भन्ने रमिलाको परिवारको चाहना थियो । अहिले भने उनी लोक तथा दोहोरी क्षेत्रकी चर्चा कमाएकी छिन् ।
काठमाडौंमा गायनमा पहिचान खोज्न उनलाई झन्डै ८ वर्ष संघर्ष गर्नुप¥यो । जतिवेला उनी गायन क्षेत्रमा आफ्नो पाइला राख्ने ठाउँको खोजीमा थिइन् । अहिले भने उनले १५० भन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । १४ वटा लोकसंगीतका एल्बम बजारमा ल्याइसकेकी न्यौपानेले ‘म त आउँदिन है कालु हो, मेड इन नेपाल, झमझम् दर्कियो पानी, ओम शिव शंकर भोला, आँखा मारी–मारी, बर्बादै भयो, आशीर्वाद माग्छु, घाम लाग्यो शितलु भयो, काठमाडौंमा ट्याक्सी चलाउने, नराम्ररी फसें, फेसबुकमा फोटो, आउ–आउ माया, सिस्नुपानीलगायतका एल्बममा स्वर दिएकी न्यौपानेले स्वदेशका अधिकांश स्थानमा आफ्नो प्रस्तुति दिइसकेकी छिन् । ‘आज त भेट्न आउँदिनँ है कालु’ यो तिजको गीतले उनलाई चर्चामा ल्यायो । उनै गायिकासँग यसपटक एभरेस्ट टाइम्सले गरेको कुराकानीः
विगतको दुःख र अहिलेको सफलतालाई कसरी तुलना गर्नुहुन्छ?
पढ्न काठमाडौं आएकीले बुवाममीले क्याम्पसमा लाग्ने शुल्क र कोठाभाडा मात्रै पठाउनुहुन्थ्यो । मलाई भने संगीत पनि सिक्नु थियो । संगीतको पनि क्लास जान थालेपछि खर्च धान्नै गाह्रो भयो । यसका लागि निकै संघर्ष गर्नुप¥यो ।
गाडीभाडा नभएर कुनै दिन मीनभवनदेखि बागबजार, पिके क्याम्पससम्म हिँडेरै आइयो । म्युजिक क्लासमा फी तिर्न नसकेको क्षण पनि थियो । पहिलो गीत गाउँदा देविका केसी र मैले ५–५ हजार रुपैयाँ पायौँ । त्यसवेला खुसीले उफ्रिएका थियौँ ।
अहिले त राम्रै पैसा कमाउनुहुन्छ है ? कति हुन्छ महिनामा ?
तिजको सिजनको वेला महिनामा १२ देखि १५ लाखसम्म कमाइन्छ । हुँदै नभएको महिना ४ देखि ५ लाख हुन्छ । विदेशमा स्टेज कार्यक्रमहरु हुँदा अलिअलि कमाई हुन्छ । जे होस आफूले सोचेको जस्तै कमाई भइरहेको छ ।
गीत पनि थुप्रै गाइसक्नुभयो होला ?
अहिलेसम्म डेढ सयजति गीतमा स्वर दिए । बढीजसो तिजका गीत चर्चित छन् । ‘आज त भेट्न आउँदिनँ है कालु’ यो तिजको गीतले चर्चामा ल्यायो । यस्तै, चर्चित उनका गीत अरू पनि छन् । मेड इन नेपाल, झमझम् दर्कियो पानी, ओम शिव शंकर भोला, आँखा मारी–मारी, बर्बादै भयो, आशीर्वाद माग्छु, घाम लाग्यो शितलु भयो, काठमाडौंमा ट्याक्सी चलाउने, नराम्ररी फसें, फेसबुकमा फोटो, आउ–आउ माया, सिस्नुपानीलगायतका एल्बममा पनि गीत गाएकी छु । केही समयअघि ‘काम गरेर तल परिन्न’ बोलको गीत बजारमा ल्याए ।
गायनबाहेक अरु के केमा आवद्ध हुनुहुन्छ ?
खासमा म फुल टाइम गायिका नै हुँ । अरु कलाकारका हकहितका लागि काम गर्ने काममा पनि लागेकी छु । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ३ नम्बर प्रदेशको संयोजक हुँ ।
प्रस्तुतिका लागि कुनकुन देश पुग्नुभयो ?
सांगीतिक यात्राकै क्रममा युके, अस्ट्रेलिया, जापान, रसिया, दुबई, कतार, बहराइन, मलेसियालगायतका पुगें । देशभित्रकै मेला–महोत्सवमा पुगिरहेकै हुन्छु।
म्युजिक भिडियो ल्याइरहनुभएकै छ, गीत र म्युजिक भिडियोमा लगानी कसरी गर्नुहुन्छ ?’
‘मेरो आफ्नै एल्बमका लागि सम्पूर्ण लगानी मेरै हो । अरूको एल्बममा गाउँदा त्यसमा लगानी अरूले नै गर्ने हो । आफू क्षमतावान भएर सबैसँग चिनजान गर्न सके यो क्षेत्रमा भविष्य राम्रो छ ।
अबको उद्देश्य के छन् ?
‘अब जानेकै कुरा यही हो । अरू क्षेत्रमा जागिर खाऊँ भन्ने सोख छैन । सांगीतिक क्षेत्रमै निरन्तर लाग्ने हो ।
गीतसंगीतमा लाग्नेलाई तपाईंको सुझाव ?
अहिलेको डिजिटल प्रविधिमा आफूलाई अपडेट गरिएन र मिडियाले साथ दिएन भने जति नै राम्रो क्षमता र कला भए पनि मानिस केही समय छायामा पर्दोरहेछ । तर, राम्रो गर्ने मान्छेलाई सबैले खोजी गर्छन् नै ।