९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

२०१० को विजेता स्पेनलाई घर फर्काउँदै रसिया क्वाटरफाइनलमा


१७ असार २०७५, आइतबार  

0
Shares

सन् २०१० को विश्वविजेता स्पेनलाई पेनाल्टीसुटआउटमा ४-३ ले पराजित गर्दै आयोजक रसिया विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।

घरेलु मैदानमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको समय १-१ को बराबरीमा रोकिएपछि पेनाल्टीसुटआउटबाट खेलको निर्णय भएको हो । जहाँ स्पेनका कोके र इयागो असपास गोल गर्न असफल भए । दुवैको पेनाल्टी प्रहार रसियाका गोलकिपर अकिनफिभले बचाए। आसपासको पेनाल्टी गोलकिपर अकिनफिभले ढलिसकेका बेला खुट्टाले छेकेर बचाएका थिए ।

रसियाका लागि स्मोलोभ, इग्नासोभिक चेरिसेभ र गोलोभिनले गोल गरे। स्पेनका इनेष्टा, पिके र रामोसले मात्र गोल गरे ।

रसियाले अब क्वाटरफाइनलमा क्रोएसिया र डेनमार्कबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

मस्कोस्थित लुजनिकी स्टेडियममा रसियाका सर्गेई इग्नासेभिचले आफ्नै पोस्टमा गोल गरेपछि स्पेनले १२औँ मिनेटमै घरेलु टोली विरुद्ध अग्रता बनाएको थियो ।

तर रसियाले पहिले हाफमै बराबरी गोल फर्कायो। ४१औँ मिनेटमा अर्टेम ज्युबाले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थपिएको हो ।

निर्धारित समयमा स्पेनले बारम्वार आक्रमण गरेपनि गोल गर्न भने सकेन ।

खेल अतिरिक्त समयमा गएपछि विश्वकप फुटबलको इतिहासमै पहिलो पटक फोर्थ सब्स्टिच्युसनको प्रयोग पनि यही खेलमा भयो । फिफाको नयाँ ल अफ गेम अनुसार अतिरिक्त समयमा खेल पुगेको खण्डमा चौथो वैकल्पिक खेलाडी प्रयोग गर्न पाउनेछ ।

९७औँ मिनेटमा डालेभ कुज्याभको स्थानमा रसियाले अलेक्जान्डर येरोदखिनलाई मैदान उतार्दै चौथो वैकल्पिक खेलाडी खेलायो । यस्तै स्पेनले पनि १०४औँ मनेटमा मार्को असेन्सिओको स्थानमा रोड्रिगोलाई चौथो वैकल्पिक खेलाडीको रुपमा खेलायो ।

प्रकाशित मिति : १७ असार २०७५, आइतबार  ११ : ११ बजे