२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

आयोजक रसियालाई हराउँदै क्रोएसिया सेमिफाइनलमा


२४ असार २०७५, आइतबार  

0
Shares

रुसको विश्वकप यात्रालाई क्रोएसियाले पेनाल्टीबाट पूर्णविराम लगाइदिएको छ ।

पहिलो पटक क्वाटरफाइनल पुगेसँगै घरेलु मैदानमा पहिलो पटक सेमिफाइनल पुग्दै कीर्तिमान रच्ने दाउमा थियो रसिया। सोचीको मैदानमा ३१ औँ मिनेटमा डेनिस चेरीसेभले गोल गरी अग्रता लिएको पनि हो ।

तर त्यो अग्रता आठ मिनेटमै क्रामारिचले गोल गरी तोडे ।
मध्यान्तरअघिको त्यो बराबरी ९० मिनेटको निर्धारित समयसम्म पनि जारी रहेपछि ३० मिनेटको एक्स्ट्रा टाइम थपियो ।

१०० मिनेटमा भिदाले गोल गरी क्रोएसियालाई अग्रता दिलाए। तर एक्स्ट्रा टाइम सकिन पाँच मिनेट बाँकी छँदा फर्नान्डेजको गोलले रसिया बराबरी गर्न सफल भयो ।

फलस्वरुप खेलको परिणामका लागि पेनाल्टी सुटआउट आवश्यक भयो । राउन्ड अफप १६ मा दुवै टिम पेनाल्टी सुटआउटबाटै विजयी भएर आएका थिए। तर यस पटक घरेलु मैदानमा रसिया निराश हुनुपर्‍यो ।

रसियाका तर्फबाट पहिलो पेनाल्टी हानेका स्मोलोभको प्रहार क्रोएसियन गोलकिपर सुभासिचले रोके । तर एक्स्ट्रा टाइममा गोल गरेर बराबरी गरेका फर्नान्डेजले वाइड हानी गोल गर्न सकेनन् ।

दुवै गोलकिपरले एक एक प्रहार रोकेका थिए। क्रोएसियाका तर्फबाट कोभासिचले गोल गर्न सकेनन् ।

इभान राकिटिचले पेनाल्टीबाट निर्णायक गोल गरी क्रोएसियालाई ४-३ को विजय दिलाए ।

क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ भने अर्को सेमिफाइनलमा फ्रान्स र बेल्जियमको खेल हुनेछ ।

प्रकाशित मिति : २४ असार २०७५, आइतबार  ७ : ५४ बजे