२५ आश्विन २०८१, शुक्रबार | Sat Oct 12 2024

भक्तपुरका बस्ती डुबानमा, पहिरोले घर थिच्दा तामाङ परिवारका ३ जनाको मृत्यु


२८ असार २०७५, बिहिबार  

0
Shares

भक्तपुर । अविरल वर्षाका कारण हनुमन्ते खोलाको बाढी बढेपछि भक्तपुरको चारैवटा नगरपालिका क्षेत्रमा क्षति पुर्‍याएको छ । बाढीले कतिपय बस्ती डुबानमा पारे भने पहिरोले तीन जनाको मृत्यु भयो ।

बिहीवार राति ३ बजेदेखि बस्तीमा पानी पस्न थालेको र बिहानसम्म घरबाहिर निस्कन नसकेपछि सुरक्षाकर्मीको टोली बिहानैदेखि उद्धारमा खटिएको थियो । नगरकोट, बागेश्वरी, छालिङ्ग, ताथली र काभ्रेको बनेपादेखि बगेर आएको पानीको एक मात्र निकासका रुपमा रहेको हनुमन्ते खोलामा बाढी उर्लिएपछि बस्ती डुबानमा परेको हो ।

पहिरोले घर थिच्दा भक्तपुरको चाँगुनारायण नगरपालिका–७ मझुवा गाउँमा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार मृत्यु हुनेमा ७० वर्षीया हीरा लामा, पत्नी ६५ वर्षीया पानमाया लामा, नातिनी २ वर्ष ६ महिनाकी सम्पदा लामाको मृत्यु भएको छ । छोरा बुहारी भने पक्कीघरमा बसेकाले जीवित रहेको प्रहरीको भनाइ छ । राति पहिरोले थिचेर मृत्यु भए पनि परिवारले भने बिहान मात्रै थाहा पाएर शव निकाल्न लगाएको थियो । मृतक तीन जनाको शव भक्तपुर अस्पतालमा राखिएको छ ।

पहिरोले नगरकोटमा १०, बागेश्वरीमा तीन र छालिङ्गमा दुई गरी १५ वटा घर भत्किएको छ भने बाढीले कति टहरा र माटोको घर भत्काए भन्ने तथ्यांक आउन केही दिन लाग्ने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २८ असार २०७५, बिहिबार  ६ : ०६ बजे