२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024

अपहरणमा मारिएका बालक निशान खड्कको अन्त्यष्टि


२४ श्रावण २०७५, बिहिबार  

0
Shares

काठमाडौं । एघार वर्षीय बालक निशान खड्काको अपहरणपछि भएको हत्याले मर्माहित बनेका उनका बुवा गणेश खड्का त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै आर्यघाट पुगेका थिए । वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहनुभएका खड्का आजै नेपाल आएका हुन् ।

काठमाडौँ महानगरपालिका वडा नं ३२ काँडाघारी टाउनप्लानिङबाट गत आइतबार भएको अपहरण र हत्यापछि शिक्षण अस्पतालबाट परीक्षण गरी राखिएको निशानको शव आफन्तले आर्यघाट ल्याएर दाहसंस्कारका लागि तयारी अवस्थामा राखेको थियो ।

एउटै मात्र छोराको सतगद्का लागि आर्यघाट पुगेका गणेशले छोराको अनुहार हेरेपछि उनले मेरो बाबुलाई के भयो बाबु भनेर भक्कानिए ।

आमा चमेलीको बेलाबेलामा भएको बेहोसी र अरु आफन्तले व्यक्त गरेको रोदन र बेदनालाई हेर्न निकै कठिन देखिन्थ्यो । नातिको हत्याको खबर पाएर भोलिपल्ट नै मेलम्ची नगरपालिका– ९ दोबाटोबाट काठमाडौँ आएका ५२ वर्षीय हजुरबुबा जयबहादुर खड्काले नातिलाई दागबत्ती दिए ।

गत आइतबार बालकको आमा चमेलीको खाजा घरमा विगत तीन वर्षदेखि नियमितरुपमा खाजा खाँदै आएका सिन्धुपाल्चोक कार्थलीका २४ वर्षीय गोपाल तामाङ र नुवाकोट समरीका २३ वर्षीय अजय तामाङले अपहरण गरी बालकको हत्या गरेका थिए ।

निशानको अपहरण गरी मध्यपुरथिमि नगरपालिका– ७ नगदेश बुद्ध विहारसँगै रहेको श्याम लवटको आफ्नै डेरामा लगेर रु ४० लाख फिरौती मागेपछि बालक अपहरण भएको रहस्य खुलेको थियो । अपहरणपछि तामाङद्वयले बालकलाई धेरै पीडा दिएर विभत्स तरिकाले हत्या गरेकोे प्रहरीको अनुसन्धान र अस्पतालको शव परीक्षणबाट खुलेको छ ।

निशान काँडाघरीस्थित हाइल्याण्ड इङ्लिस स्कूलमा कक्षा ६ मा अध्ययनरत थिए ।

प्रकाशित मिति : २४ श्रावण २०७५, बिहिबार  ७ : ५२ बजे