न्युयोर्क । नेवा: नख: न्यूयोर्कको आयोजनामा न्यूयोर्कमा पाँचौं सामुहिक ईही (वेलविवाह) सम्पन्न भएको छ । जुलाई २९ मा नेवा: गुभाजु (पुरोहित) समन्तश्री बज्राचार्यज्यूले नेवा: बिधिपूर्वक ईही सम्पन्न गराएका हुन् । उनलाई गुरूमा पुष्पा बज्राचार्यज्यू र नेवा: नख: का महासचिव श्री महेन्द्र बिर बज्राचार्यज्युले थाकुलि ( मूख्य कर्ता) भै सहयोग गरी पुजा गरेका थिए ।
न्युयोर्कको ज्याक्सनहाइटमा रहेको शेर्पा किदुगको भवनमा गरिएको सामुहिक ईहीमा ३ जना बालिका रोज श्रेष्ठ, आड्रिका शाक्य र अर्पिता गोसाँइ सहभागी रहेका थिए ।
कार्यक्रममा नख:का कार्यबाहक अध्यक्ष राजा शाक्य, उपाध्यक्ष विष्णुमान प्रधान, महासचिव महेन्द्र बिर बज्राचार्य र संस्थाका सल्लाहकार अजयमान छोचूंज्युहरूले ईही गर्ने बालिकाहरू लाई सहभागिताको सर्टिफिकेट वितरण गरी उज्जल भबिष्यको कामना गर्दै बधाई ज्ञापन गरेका थिए ।
नेवा: नख: न्युयोर्क, नेवारी परम्परा, कला र संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि २०११ मा न्युयोर्कमा स्थापना गरिएको नेवा: संस्था हो । यो संस्थाले समुदायको हितका लागि बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ।
अमेरिकाबाट नेपालमा गएर ईही गर्दा धेरै खर्चिलो हुने भएकाले न्युयोर्कमै यसरी गरिएको नेवारी परम्परागत इहीबाट अभिभावक र बालिकाहरु लाभान्वित भएको आयोजक संस्था नेवा: नख: न्युयोर्कका उपाध्यक्ष विष्णुमान प्रधानले जानकारी दिए । यस्ता कार्यक्रमबाट नेवारी मौलिक संस्कृति र परम्परासमेत संरक्षण र प्रबर्द्धन हुने उनको भनाई थियो ।