काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा प्रतिवद्धता जनाएकाले संविधान विरुद्ध मौसमी कुरा नगर्न प्रतिपक्षी दललाई सचेत गराएका छन् ।
सबै मिलेर संविधान ल्याएको भन्दै प्रधानमन्त्रीले संविधान जारी गर्ने बेलामा हस्ताक्षर गरेको जिम्मेबार राजनीतिक दलले संविधान विरोधी भाषा बोल्न नैतिकताले नदिने बताए । ओलीले संविधान प्रतिको इमान्दारिता देखाउन पनि आग्रहसमेत गरे ।
राष्ट्रिय सुचना आयोगले राष्ट्रिय सुचना दिवसको अवसरमा आईतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शक्तिको उन्माद र स्वार्थको घेरा भित्र रहेको संविधानको बर्खिलाप हुने गरि मौसमी कुरा नगर्ने प्रतिपक्षी दल नेपाली काँग्रेसलाई आग्रह गरेका हुन् । ओलीले भने “कहिले एउटा न्यायाधीश माथि झोक चल्यो भने र्दुबासा ऋषि रिसाएजस्तो गरेर उफ्रिएर महाअभियोगको प्रस्ताव राख्दिन्छौ , कहिले सुनुवाई समितिको प्रक्रियामा उत्पात सुरु हुन्छ । यो उत्पात समितिको फैसला आएपछि होइन त्यो भन्दा अगाडि देखि नै सुरु हुन्छ । के भएको ? अचम्म लाग्छ । त्यस हुनाले मौसमी कुरा गर्नु हुदैन हामीले ।”
प्रधानमन्त्री ओलीले संविधानमा सहमति जनाईसकेपछि अधिकार छ भन्दैमा, संख्या पुग्छ भन्दैमा सरकारले शक्तिको दुरुपयोग नगर्ने स्पष्ट पारे । अहिलेको सरकारले आवेग, उत्तेजना, आग्रह वा शक्तिको दुरुपयोग हुने दृष्टिले काम नगर्ने उल्लेख गर्दै ओलीले प्रतिपक्षी दलले सरकारका हरेक निर्णयलाई जबरजस्ती राजनीतिकरण गर्ने गरेको आरोप लगाए ।