१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनआरएन पासपोर्टको बारेमा सरकारले सोचेको छैन – परराष्ट्रमन्त्री ज्ञवाली


५ भाद्र २०७५, मंगलबार  

0
Shares

काठमाडौं । गैर आवासीय नेपाली(एनआरएन)ले नेपाली नागरिकता पाउने भएका छन् । सरकारले एनआरएनले नागरिकता पाउने गरी बनेको विधेयक संसदमा दर्ता गरिसकेको छ ।

गृहमन्त्रीकोसमेत जिम्मेवारी सम्हालेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले उक्त विधेयक साउन २३ गते बुधवार संसदमा पेश गरेका हुन् । गृहमन्त्री रामबहादुर थापा इन्डोनेसियाको भ्रमणमा रहेका बेला पोखरेलले विधेयक संसदमा पेश गरेका हुन् ।

मुलुकी ऐनमा दफा ७ क थप गरी गैर आवासीय नागरिकता प्राप्त गर्न सक्ने शीर्षकमा एनआरएनको नागरिकतासम्बन्धी व्यवस्था गरिएको छ । उक्त दफामा भनिएको छ, ‘विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।’

२०७२ सालमा जारी भएको ‘नेपालको संविधान’ले एनआरएनले नेपालको नागरिकता प्राप्त गर्न सक्ने अधिकार उल्लेख गरेको थियो। ‘नेपाल नागरिकता ऐन, २०६३लाई संशोधन गर्न बनेको विधेयक’ मा विदेशमा रहेका नेपाली नागरिकलाई शर्तसहित नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था गरिएको थियो ।

पासपोर्ट पाउने कि नपाउने ?

संसदमा दर्ता भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ ले एनआरएन नागरिकताको पनि व्यवस्था गरेको छ । तर एनआरएन नागरिकता पाएकोले पासपोर्ट पाउने कि नपाउने ? पासपोर्ट नदिएमा एनआरएन नेपाली नागरिकले विदेशी नागरिक भएको हिसाबले विदेशी पासपोर्ट चलाउनु पर्ने हुन्छ ।

विदेशी पासपोर्ट चलाएपछि नेपाल आउँदा अन अराइभल भए पनि भिसा पक्कै लिनुपर्छ । कि एनआरएन नागरिकता देखाएपछि भिसा नलिई नेपाल आउने सुविधा दिने हो ? यो विषयमा संसदमा पनि प्रश्न उठेको छ र यो विषयमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यस्तो जवाफ दिएका छन् ।
‘गैरआवासीय नेपालीहरुको हकमा के गर्ने ? पहिले यो नागरिकता ऐन पारित होस । उहाँहरुले प्राप्त गर्ने त्यो नागरिकता जो राजनीतिक अधिकारबाहेकका अधिकार प्रयोग गर्न पाउनेगरी प्रस्तावित गरिएको छ । त्यसपछि यसबारेमा सोचौला । पासपोर्टको बारेमा अहिले सरकारले खासै सोचेको छैन,’ परराष्ट्रमन्त्री ज्ञवाली भने ।

 

प्रकाशित मिति : ५ भाद्र २०७५, मंगलबार  ८ : १५ बजे