२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

अपांगता भएका एसइइ उतीर्णहरुलाई नेविसंघको सम्मान


५ भाद्र २०७५, मंगलबार  

0
Shares

काठमाडौं। नेपाल विद्यार्थी संघ केन्द्रिय समितिले हालै एसइइमा उतीर्ण भएका अपाङ्ग विद्यार्थीहरुलाई सम्मान गरेको छ।

मंगलवार राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा नेविसंघको आयोजनामा एसइइ उतीर्ण २५ बहिरा तथा ५ जना निर्वाचनमा वियजी भएका र अन्य क्षेत्रमा योगदान पुर्‍यएकालाई सम्मान गरेको हो । सबैलाई कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्मानपत्र हस्तानतरण गरे।

कार्यक्रममा प्रमुख अतिथि रामचन्द्र पौडेल, नेपाल केन्द्रिय अपाङ्ग विद्यार्थी समन्वय समितिका सभापति कल्पना खड्का, लोकतान्त्रिक अपांग महासंघका सभापति भोजराज श्रेष्ठ, राष्ट्रिय सभाका सदस्य प्रकाश पन्त, प्रदेश सभाका सांसद भिमसेन खत्री, कांग्रेसको महासमिति सदस्य कान्छाराम तामाङ, नेविसंघका पूर्वसभापति केशव सिंह, वर्तमान नेविसंघका सभापति नैनसिंह मोहर, उपसभापति नविन राई लगायतको उपस्थिति रहेको थियो ।

सम्मानित हुनेमा चित्रबहादुर तामाङ, दिलबहादर तामाङ, अल्विना कुमारी चौधरी, एलिसा कोइराला, अञ्जना सिवा, बिष्णुमाया महर्जन, सन्ध्या सिंह, दिनेश महर्जन, हरिकृष्ण मानन्धर, हरिमाया घले, कविता कार्की, निसान तामाङ, निसा पोखरेल, पस्मिना थापा, प्रवेश रिजाल, प्रलवराज जोशी, राजकुमार शाह, सागर केसी, साराजना पाठक, सञ्जिता तिमल्सिना, सुस्मिता थापा, सुरेश ढुङ्गाना, समिमा तामाङ, सुमन लामा लगायत छन् ।

एसइइमा उतीर्ण भएका अपांगता भएका विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा नेविसंघका अध्यक्ष नैनसिंह महरले आफू निगाहको भरमा अध्यक्ष नभएको प्रश्ट पार्दै भने ‘महाधिवेशनबारे अहिले नेविसंघका लागि तेस्रो घन्टी बजेको छ। जस्तो परीक्षामा तीन घन्टामा पास हुनुका लागि लेख्नुपर्छ। त्यस्तै हाम्रो कार्यकालका लागि तेस्रो घन्टी बजेको छ।’

महरले महाधिवेशनका लागि सबै तयारी रहन निर्देशन दिँदै सबैको सहयोगका लागि आग्रहगर्दै उनले भने, ‘साथीहरु तीन महिना छ। सबैले सहयोग गर्नुहोस्। मेरो पनि गल्ती हुन सक्छ । सच्चिन सबैको साथ चाहिन्छ ।’

आफ्नो कार्यकालमा धेरै जिल्लाको विवाद हल गरेको दाबी गर्दै महरले नेविसंघकै पदाधिकारीले अघि बढ्न नदिएको गुनासोसमेत गरे। भने, ‘पहिले ११ जिल्लामा १७ बर्षदेखि विवाद थियो। अहिले ६ जिल्लामा मात्र यस्तो विवाद छ। बर्गेनिङको गुटबन्दी नहोस। म प्रदीप पौडेल देखि रञ्जित कर्णसम्म महाधिवेशनको पक्षमा छु । विधानअनुसार सहमतिमा लाग्नुपर्छ ।’

कार्यक्रममा सम्पूर्ण एसइइ उतिर्ण विद्यार्थीहरुलाई बधाई साथै शुभकामना व्यक्त गर्दै पौडेलले केन्द्रिय समितिको निर्णय अनुसार भदौमा गर्नुपर्ने महासमिति बैठकको मिति अझै तय नभएकोमा असंतुष्टी जनाउदै उनले महासमितिमा प्रस्तुत गरिने विधान संशोधन समिति गठनका लागि आफूले तीन हप्ताअघि नै नाम दिए पनि पार्टी नेतृत्वले विधान समितिका सदस्यको नाम नदिएको भनेर आफूलाई बदनाम गराउन खोजेको बताए।

नेपाल बिद्यार्थी संघको अधिवेशन टार्ने प्रपञ्च सुरु भएको भन्दै पार्टीको निर्देशक समिति नै अधिवेशन टार्ने प्रपञ्चमा लागेकाले सचेत हुन बिद्याथीहरुलाई आग्रह गरे। उनले नेपाल बिद्यार्थी संघ केन्द्रीय समितिको म्याद तीन महिना थप्दा महाधिवेशनको कार्यतालिका नआउदा अधिवेशन प्रति आशंका बढेकोसमेत बताए।

नेपाल विद्यार्थी संघको महाधिवेशन घोषणा नगरेर सिंगो पार्टी नै बर्बाद हुनसक्ने टिप्पनी गर्दै उनले भने ‘कांग्रेसमा अहिलेको आवश्यकता भनेको पार्टीको आमुल सुधार, गुट उपगुटको अन्त्य गरौ भन्दै भन्दै उल्टै गुट बनाउदै नहिड्न, गुट उपगुटको अन्त्य र अहिले नै म नेता त नेता भनेर हिड्नुभन्दा कांग्रेसमा सुधार गर्न आवश्यक छ।’

पौडेलले तीन महिना थपेर मात्र नपुग्ने बताउदै तत्कालै क्याम्पस, जिल्ला, प्रदेश अधिवेशन सकेर केन्द्रीय अधिवेशन दसैँ र तिहारको बीचमा गर्नुपर्ने र उनले अन्तिम समयमा गर्ने भन्न थालियो भने फेरि पनि महाधिवेशननै नहुने समेत दाबीगरे।

प्रकाशित मिति : ५ भाद्र २०७५, मंगलबार  ९ : ३८ बजे