१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

अमेरिकाको न्युयोर्कमा हुने नेपाल आदिवासी चलचित्र महोत्सव (निफ्फ)को तयारी पुरा


२५ भाद्र २०७५, सोमबार  

0
Shares

एभरेस्ट टाईम्स / न्यूयोर्क

न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ(फिप्ना)ले यही सेप्टेम्बर १५ र १६ मा आयोजना गर्न लागेको दोस्रो आदिवासी चलचित्र महोत्सव र निफ अवार्ड २०१८ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । फिप्नाले आज न्यूयोर्कको ज्याक्सन हाइटमा रहेको मुस्ताङ किदुगको कार्यालयमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी पूरा भएको जानकारी दिएको हो ।

महोत्सव संयोजक एवं फिप्नाका वरिष्ठ उपाध्यक्ष राजकुमार विष्टले नेपालको आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कार, संस्कृति र रितिरिवाजहरुको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागेको बताए । महोत्सवले आदिवासी जनजातिहरुको चलचित्रको विकास र बजार प्रवद्र्धन गराउन मद्दत पुर्याउने फिप्नाका अध्यक्ष मान रानामगरको भनाई छ । आदिवासी चलचित्रकर्मीहरुलाई मुलधारको चलचित्र क्षेत्रमा स्थापित गराउन सहयोग र प्रोत्साहन गर्न तथा आदिवासीहरुको संस्कार र संस्कृतिलाई लिपीवद्ध गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

न्यूयोर्कको क्वीन्सस्थित गुल्सन टेरेशमा २ दिनसम्म चल्ने महोत्सवमा आदिवासी जनजातिहरुको भाषा, धर्म, संस्कृति र रितिरिवाजमा आधारित रहेर बनाइएका ९ वटा चलचित्र, ३ वटा छोटो चलचित्र, २ वटा वृत्तचित्र र छनौटमा नपरेका विभिन्न समुदायको छोटो चलचित्रको विशेष प्रदर्शन गरिने आयोजकले जनाएको छ । महासंघले प्रारम्भिक चरणमा चलचित्र छनौटका लागि आदिवासी चलचित्र महासंघ नेपालका अध्यक्ष अमृत सुनुवारको संयोजकत्वमा ५ सदस्यीय प्रारम्भिक छनौट समिति गठन गरेको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । सुनुवारसहित अनिल बुढा, श्रीजना सुब्बा, अरुण प्रधान, भुपेन्द्र गुरुङ रहेका समितिले पहिलो चरणमा पूर्ण तथा छोटो चलचित्र र वृत्तचित्र गरी ४६ वटा मध्ये २४ वटा छनौट गरेर पठाएको विज्ञप्तीमा उल्लेख छ । जसमा २ भन्दा बढी चलचित्र मध्ये जातीय संस्थाहरुले उत्कृष्ट छानेर १, १ वटा पठाएको फिप्नाले जानकारी दिएको छ ।

त्यस्तै, फिप्नाले, चलचित्र महोत्सव तथा निफ अवार्ड २०१८ लाई निष्पक्ष र विवादरहित बनाउन सञ्चार क्षेत्र, अधिकारकर्मी र कला र संस्कृति क्षेत्रमा आवद्ध विभिन्न व्यक्तिहरु सम्मिलित चलचित्र निर्णायक समिति (जुरी) बनाएको फिप्नाका अध्यक्ष रानामगरले जानकारी दिए । महोत्सव संयोजक विष्टका अनुसार सञ्चारकर्मी शैलेश श्रेष्ठ संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा शम्भु मोक्तान, रोज मोक्तान, लिला राई, छिरिङ रिञ्जिन गुरुङ रहेका छन् । त्यस्तै छोटो चलचित्र तथा वृत्तचित्र छनौटको लागि फिप्ना सभामुख विनोद पोमोको संयोजकत्वमा नेपाल अमेरिका पत्रकार संघका (नेजा)का कोषाध्यक्ष मच्छे देवी गुरुङ र एभरेस्ट टाइम्सका सम्पादक ङिमा पाख्रिन रहेको ३ सदस्यीय निर्णायक समिति गठन गरेको फिप्नाले जनाएको छ । महोत्सवमा गुरुङको भेडीगोठालो, तामाङको सेम कि तम, नेवारको स्वयनगु, मगरको रैया, राईको यारी, शेर्पाको टिन्छेन फमा, लिम्बुको साम, मनाङको मनाङ्गे नानी, याक्खाको ओम्लाको प्रदर्शन गरिने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै महोत्सवमा छनौटमा परेका चलचित्रहरुलाई विभिन्न १० वटा विधामा विभिन्न अवार्डसहित उत्कृष्ट चलचित्र तथा वृत्तचित्रलाई नगद पुरस्कार दिइने भएको छ । उत्कृष्ट चलचित्रले एक लाख २५ हजार रुपैयाँ र अवार्ड, उत्कृष्ट छोटो चलचित्र तथा वृत्तचित्रले ३१, ३१ हजार नगद रुपैयाँ र अवार्ड प्राप्त गर्ने आयोजकले जनाएको छ । फिप्नाका महासचिव पे्रम गुरुङले महोत्सवमा विभिन्न जातीय साँस्कृतिक कार्यक्रम तथा विभिन्न जातजातिको कला र संस्कृति झल्कने विभिन्न प्रस्तुति समेत रहने जानकारी दिए ।

यो प्रस्तुतिमा विभिन्न दर्शकहरुको मतको आधारमा उत्कृष्ट प्रस्तुति गर्ने समूहले ५ सय डलरको नगद पुरस्कार प्राप्त गर्ने महासचिव गुरुङको भनाइ छ । यसैबीच, फिप्नाले महोत्सव सफल बनाउनको लागि फिप्ना अन्तर्गतका विभिन्न च्याप्टरहरु, जातीय संस्थाहरु, पत्रकार, शुभेक्षुक लगायत सम्पूर्ण महानुभावलाई सहयोगको लागि अनुरोध गरेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७५, सोमबार  २ : ०८ बजे