२५ मंसिर २०८१, मंगलबार | Wed Dec 11 2024

तामाङ घेदुङले शुरु गर्‍यो ताम्सालिङ जागरण अभियान


३० भाद्र २०७५, शनिबार  

0
Shares

काठमाडौं । ताम्सालिङ भूमिलाई केन्द्रित गरेर नेपाल तामाङ घेदुङले जागरण तथा संगठन निर्माण अभियान सुरु गर्ने भएको छ । आज घेदुङको संघीय सभाहलमा पत्रकार सम्मेलन गरेर घेदुङले त्यस सम्बन्धी जानकारी गराएको हो ।

सामाजिक मुद्दा सहितको राजनीतिक बिचार र राजनीतिक विचार सहितको सामाजिक जागरण भन्ने नारा दिइएको उक्त अभियानमा पहिलो, दोस्रो र तेस्रो गरी तिन चरणमा कार्यक्रम सञ्चालन गर्ने घेदुङका महासचिव बाबु घिसिङले बताए ।

उनको अनुसार पहिलो चरणमा नेवाः ताम्सालिङ (३ नं.) प्रदेशमा तामाङ बसोबास रहेको १०० भन्दा बढी स्थानीय तहमा संगठन निर्माण गर्ने, दोस्रो चरणमा सांस्कृतिक कार्यक्रम सहितको ताम्सालिङ जागरण सभाहरू सम्पन्न गर्ने र तेस्रो चरणमा निश्चित कार्यकर्तालाई (विशेष युवा लक्षित) प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

संगठन निर्माणको लागि १३ जिल्लालाई ६ वटा समूहमा विभाजन गरी संघीय कार्य समितिका पदाधिकारी, विभागीय प्रमुख, भातृसंगठनका अध्यक्ष, संघीय सदस्य, प्रदेश समितिका सदस्य र जिल्ला अध्यक्षहरूलाई जिम्मेवारी तोकिसकेको प्रदेश समितिका अध्यक्ष तथा संगठन संयोजक सोमबले तामाङले बताए ।

‘संगठन निर्माणको काम हामी असोज महिनाभित्र सक्ने योजनामा छौ,’ प्रदेश अध्यक्षले भने– यदि लम्बियो भने कात्तिक १५ सम्म पुग्न सक्छ । त्यसपछि लगत्तै जागरण सभा सञ्चालन गरिने उनले बताए ।’

जागरण सभामा ताम्सालिङ भूमि, समुदायको पहिचान, अधिकार, विगतमा तामाङमाथि भएको उत्पीडित, शैक्षिक चेतना जगाउने, समाजको विकृति, बिसंगति विरुद्धका गीत, नृत्य प्रस्तुत गरिनुका साथै अभियानमा तामाङ वक्ता र पहिचानवादी गैर तामाङ वक्ताहरूलाई समेत लाने घेदुङले योजना बनाएको छ ।

जागरण सभाको संयोजन घेदुङका सल्लाहकार तथा जापानका लागि पूर्व राजदूत डा. गणेश योञ्जनले गर्नेछन् । यसबाट तामाङ समुदायको सामाजिक, सांस्कृतिक, राजनीतिक चेतनाको ढोका खोल्ने योञ्जनले बताए । यसखालको जागरण सभाहरू ल्होछार अगावै सम्पन्न भए पनि ल्होछारमा समेत एक महिना सामाजिक, राजनीतिक जागरणको रूपमा पर्व मनाइने भएको छ ।

पछिल्लो चरणमा राज्यको ध्यान आकृष्ट गर्ने खालको आन्दोलन गर्न नसकेको हुँदा तामाङ समुदाय विभेदमा पर्दै गएको डा. योञ्जनले बताए । उहाँले अभियानको क्रममा कुनै तत्त्वहरूबाट अवरोध भए त्यसको लिस्ट तयार गर्दै त्यसको मुकाविला तयार गर्नुपर्ने प्रस्ट पारे । घेदुङलाई हेर्ने दृष्टिकोण केही मान्छेहरूको नकारात्मक भएको भन्दै आफू यो अभियान सफल बनाउन जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।
पत्रकार सम्मेलनमा पूर्व कानुन राज्य मन्त्री दिलमान पाख्रिनले पहिचानको मुद्दाको कारण नै पहिलो संविधानसभा अवसान भएको भएको भन्दै आफ्नो समुदायको मुद्दाको लागि दल छोडेर हिँड्न पनि तयार हुनुपर्ने बताए । उनले भने– दलहरूले आदिवासी जनजातिलाई फकाई फकाई आँखामा पट्टि बाँधेर खाल्डोमा हाल्ने काम ग¥यो ।

ल्होछार पर्व सम्पन्न भएपछि भाषा, साहित्य तथा प्रशिक्षण विभागको संयोजनमा तत्कालै कार्यकर्ताहरूको नेतृत्व विकास, संगठनको महत्त्व, पहिचानको आन्दोलन तथा स्थानीय सत्तासँगको सहकार्य जस्ता विषयमा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिने भाषा विभाग प्रमुख काजीमान थिङले बताए ।

उनले भने– प्रशिक्षण कार्यक्रममा तामाङ युवाहरूलाई लक्षित गरेर चैत महिनाभित्रमा सक्ने योजना रहेको छ । त्यसपछि यो अभियानको समापन गरिने र अर्को कार्यक्रमको तयारी गरिने थिङले बताए ।

यो तिनै चरणको कार्यक्रमबाट ताम्सालिङ क्षेत्रका कम्तीमा १०० स्थानमा घेदुङको संगठन बन्ने, जागरण सभा ५० स्थानमा सञ्चालन गरेर कम्तीमा २५००० जनालाई सामुदायिक मुद्दाको बारेमा सचेत गराउने र प्रशिक्षण कार्यक्रम मार्फत कम्तीमा २५०० जना प्रतिबद्ध घेदुङको कार्यकर्ता जन्माउने घेदुङले दाबी गरेको छ ।

पत्रकार भेटघाटमा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले सबै अभियन्ताहरूलाई तोकिएको जिम्मेवारी पुरा गर्न आग्रह गरेका छन् । उनले भने– सक्नुहुन्छ हिँड्नोस्, हिँड्न नसके सहयोग गर्नुस्, दुवै गर्न सक्नुहुन्न भने बिदा लिनोस् ।

संस्थामा पद लिएर काम नगर्नेहरूको भिड बढेको भन्दै गोलेले यसखालको व्यक्तिहरूबाट नै संगठनले गति लिन नसकेको बताए । उनले भने– कसैलाई पद पुगेन भने आफू कुर्सी खाली गर्न तयार छु तर काम गर्नुस् । अभियानमा समय दिन नसक्नेले हिँड्नेलाई आर्थिक सहयोग गर्नुपर्ने अभियानकर्मीहरूको बैठकको निष्कर्ष छ । अध्यक्ष गोलेले देश, विदेशमा रहेका सबै संघ, संस्था, प्रबुद्ध व्यक्तित्वहरूलाई अभियान सफल बनाउन सहयोगको लागि आग्रह समेत गरे । अभियानको आर्थिक व्यवस्थापनका लागि घेदुङ बहुउद्देश्यीय सहकारी संस्थामा ताम्सालिङ जागरण कोष खडा गरेको छ । जागरण सभा र प्रशिक्षण अभियानको क्रममा सहयोगदाताहरुको नाम र सहयोग राशि वाचन गरिनेछ ।

उक्त कोष घेदुङका सल्लाहकार डा. गणेश योञ्जन, प्रदेश समितिका अध्यक्ष सोमबले तामाङ र घेदुङका कोषाध्यक्ष रूपबहादुर योञ्जनको संयुक्त दस्तखतबाट सञ्चालन हुने भएको छ । अभियानको समाप्तिपछि कोषको आय–व्यय सार्वजनिक गरिने कोषाध्यक्ष रूपबहादुर योञ्जनले बताए ।

पत्रकार सम्मेलनको सञ्चालन घेदुङको सूचना तथा सञ्चार विभाग प्रमुख जगत दोङले गरेका थिए भने स्वागत मन्तव्य महासचिव बाबु घिसिङले गरेका थिए । अभियानको सम्बन्धमा सम्पूर्ण जानकारी भाषा, साहित्य तथा प्रशिक्षण विभाग प्रमुख काजीमान थिङले गरेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७५, शनिबार  ८ : १४ बजे