तस्विर: रासस
काठमाडौँ। वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको शान्ति प्रक्रियाका एक सहजकर्ता पद्मरत्न तुलाधरलाई अभिनन्दन गरेका छन् ।
यहाँ आज आयोजित कार्यक्रमा जोशीले उनलाई भगवान् बुद्धको मूर्ति प्रदान गर्नाका साथै उनको सम्मानमा ‘झी पद्मरत्न अभिनन्दन ग्रन्थ’ नामक पुस्तक पनि विमोचन गरे । तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गरेका वामपन्थी नेता तुलाधरले नेपाल सम्बतलाई राष्ट्रिय मान्यता दिलाउन तथा शङ्खधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गराउन दशकौँसम्म सङ्घर्ष गरेका थिए ।
नेवारी परम्पराअनुसार ७७ वर्ष सात महीना ७ दिन ७ घण्टा ७ पलामा गरिने एक महीना लामो ज्याः जँक्वो तुलाधरको अभिनन्दनसँग सम्पन्न भएको छ । सो अवसरमा वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेवा भएर जन्मिनु नै ठूलो सौभाग्य भएको बताउँदै अरू कुनै जातिमा नभएको ७७ वर्ष ७ महिना ७ दिन ७ घण्टा तथा ७ पलामा गरिने भीमरथारोहणको संस्कृति नेवार जातिमा मात्र रहेको बताए ।
जोशीले शान्ति प्रक्रियाका पक्षपाती पद्मरत्न तुलाधरले नेपाल संवत्, भाषा आन्दोलन, मानव अधिकारको क्षेत्र तथा नेपालमा भएको १० वर्ष लामो द्वन्द्वको समयमा शान्तिदूत भई महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । मानव अधिकारवादीसमेत रहेका वामपन्थी नेता तुलाधरले लामो सङ्घर्षपछि देशमा सङ्घीयता स्थापित भए पनि नेपाली जनताले चाहेको सङ्घीयता अझै नआएको बताउँदै जनताको आन्दोलन जारी रहेको बताए । उनले प्रदेश नं ३ को नाम नेवा ताम्सालिङका लागि आन्दोलन हुने बताउँदै यहाँको मुख्यमन्त्रीमा तामाङ वा नेवार हुनुपर्ने धारणा व्यक्त गरे ।