एभरेस्ट टाइम्स/न्युयोर्क
नेवारी समूदायले हरेक वर्ष मनाउँदै आएको इन्द्रजात्रा न्युयोर्कमा पहिलो पटक मनाएको छ । नेवा गुठीद्वारा आयोजना गरिएको इन्द्र जात्रा न्युयोर्कको ज्याक्सन हाइटमा परम्परागत शैलीमा मनाएको हो ।
मौलिक खाना परिकार सजाएको स्थानमा कुमारीलाई स्वागत गर्दै सेतो हात्ती र लाखे नचाएर इन्द्र जात्रा मनाए । नेवारी समूदायमा कुमारीलाई जीवित देवीको रुपमा पुज्दै आएका छन् । काखमा बोकेर ल्याएको कुमारीको आगमानसँगै ढोल र झ्याप्टाको तालमा नाच्दै आएको सेतो हात्ती र लाखे नृत्यले न्युयोर्कमा पुरानो नेवारी बस्तीको याद दिलाइरहेको थियो । ‘मलाई त असनमै पुगे जस्तै लाग्यो’ इन्द्र जात्रा हेर्न आएका प्रवीण लामा भन्छन्, ‘न्युयोर्कमा भएपनि यो पर्वले पाटन र असन चोकतिरको याद दिलायो ।’
‘नेवारी समूदायमा येन्यापुन्हीको नामले मनाउँदै आएको इन्द्रजात्रा किसानहरुको महत्वपूर्ण पर्वको रुपमा मनाउँदै आएको छ,’ नेवा गुठीका अध्यक्ष निर्मला प्रधानले भने, ‘प्रवास पनि नेवारी समूदायको मौलिक पर्वलाई निरन्तरता दिन न्युयोर्कमा पहिलो पटक आयोजना गरेको हो ।’
उनका अनुसार नेवारी समूदायमा धान काटिसकेपछि किसानहरुले भैरव र कुमारीको पूजा गरी आपसमा विभिन्न परिकार खाएर रमाइलो गरी मनाउँदै आएको पर्व हो । ‘विदेशमा हामीले बिर्सदै गएको यस्तो पर्व मनाउँदै एकताको लागि यस्तो कार्यक्रम गर्दै आएको हो,’ अध्यक्ष प्रधानले भने । इन्द्राजात्रामा पूजा सकेपछि गुठीका पदाधिकारीहरु मौलिक नेवारी पहिरानमा सजिएर नृत्य गरेका थिए ।
‘किसानहरुले आफ्नो खेती किसान सकेपछि भगवान इन्द्रलाई धन्यवाद दिएर रमाइलो गरी मनाउने मौलिक पर्व हो,’ गुठीका संस्थापक बीके नेवा:ले भने, ‘नेवारी भाषामा येन्यापुन्ही भनेको काठमाडौंको नेवारले मनाउने पर्व भनेपनि सवै नेवारहरुले मनाउने पर्व हो ।’ जात्रामा प्रस्तुत कलाहरुको संयोजक बसन्त डान्स सेन्टरका कोरियोग्राफर विजय नकर्मीले गरेका थिए । जात्रामा विभिन्न मुलुकका नागरिकहरु निकै रुचिका अवलोकन गरेका थिए ।