न्युयोर्क । तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले यसअघि भएका गल्तीहरुलाई सच्याएर अघि बढ्न सके मिरिक सम्मेलन सफल हुने बताएका छन् ।
रेडियो हिमालयसँग कुराकानी गर्दै लामाले भारतको मिरिकमा आयोजना हुने अन्तराष्ट्रिय तामाङ काउन्सिलको चौथो सम्मेलन विश्वभरका तामाङहरुको संगठनलाई एकताबद्ध बनाउनका लागि हुन लागेको उल्लेख गर्दै यही सम्मेलनबाट यसअघिका गल्तीहरु सच्याएर अघि बढ्नुपर्ने धारणा राखे ।
डिसेम्बर १४, १५ र १६ मा भारतको मिरिकमा हुने सम्मेलनबारे अध्यक्ष लामाले भने, ‘मिरिकमा विश्वभरका तामाङहरुको हकहितमा खुलेको तामाङसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुले भाग लिँदैछन्। सबै सहभागी भएर सफल बनाउनुपर्छ। सबैलाई आह्यवान गर्छु।’
लामाले २००५ मा दार्जिलिङमा आयोजित दोस्रो सम्मेलनमा भाग लिएको स्मरण गराउँदै थपे, ‘दोस्रो सम्मेलनमा म नेपालको प्रतिनिधि भएर भाग लिएको थिएँ। विधान कमिटिमा पनि म थिएँ। अफसोच सबै ठाउँबाट के गुनासो आएको छ भने अहिले चौथो सम्मेलन हुँदैछ। यसले खासै केही गरेन। सबैलाई समेट्न सकेन। यो नेपाल र भारतकोमात्र संगठन हो कि भन्ने खालको भान विश्वभरी परेको छ।’
यो भ्रम चिर्नका लागि सबै ठाउँका तामाङलाई नेतृत्वमा अटाउनुपर्ने सुझावसमेत लामाले पेश गरे।
‘हाम्रो निचोड भनेको विश्वभरीका तामाङ र तामाङको संगठनलाई एकताबद्ध गर्ने संगठन चाहिएको छ। जस्तै तामाङ सोसाइटी अफ नर्थ अमेरिकाले नर्थ अमेरिकाभरका तामाङहरुलाई एकतावद्ध गरी अगाडि बढाउने कन्सेप्टका साथ आएको छ त्यसैगरी विश्वभरका तामाङ संगठनहरुरुलाई एकताबद्ध गरी अघि बढ्ने संस्था चाहिएको हो,’ अध्यक्ष लामाले भने।
उनले हिजोका दिनमा कसले के गर्यो, किन गरेन भनेर जान थाल्यो भने तामाङका मिसनहरु र परिकल्पना गरेका सपनाहरु कहिल्यै पुरा नहुने दाबीसमेत गरे । भने, ‘म सबैलाई आह्वान गर्छु। अब हामी यतिखेर आएर पहिचान र मुद्दासँग नजिक छौ। यसको समाधानका उपायहरु कस्ता छन् समस्या कस्ता होलान र ती समस्या कसरी समाधान गर्ने भनेर हामी जागरुग छौ यति बेला। हामी अब हिजोको गल्तीलाई सच्याएर अघि बढ्नुपर्छ। पछाडि फर्कनुहुदैन। अग्रजहरुले युवा पुस्ताका लागि प्लेटफर्म बनाइदिनुभएको छ। यो प्लेटफर्म युज गरेर नयाँ पिढीले नयाँ कन्सेप्टअनुसार नयाँ मिसनअनुसार पूर्ती गर्नुपर्छ। सबै तामाङहरुको भावनालाई अटाउनुपर्छ। हामीले आफ्नो जातिको उत्थानको लागि जुन कन्सेप्ट लिएर अगाडि बढेका छौ। त्यो अभियान यहीबाट हामीले थालेको खण्डमा हामी पुरा हुन्छौ।’
यो चोटि नर्थ अमेरिकाले विशेष रुपमा भाग लिने जानकारी दिँदै लामाले भने, ‘हामी कन्सेप्टसहित भाग लिँदैछौ । तामाङको अधिकारका लागि ठोस योजनासहित हाम्रो उपस्थिति रहनेछ । सबैलाई हाम्रो आह्वान मिरिकमा भेटौ। हरेक देशको अध्यक्षहरुसँग कोअर्डिनेसन भइरहेको छ । उहाँहरुको समय मिलाइरहेको छ । हरेक देशको नेतृत्वसँग कुरा भइरहेको छ। यो हेर्दा मिरिक सम्मेलन भव्य हुनेछ भन्ने हामीले विश्वास गरेका छौ ।’