काठमाडौं । वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा उपचाररत रहँदाकै अवस्थामा आज निधन भएको छ ।
मस्तिष्काघात भएर अस्पताल भर्ना भएका उनको छातीको गम्भीर सङ्क्रमणबाट मृत्यु भएको उनको परिवारकाले जनाएको छ । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका खेलेका पूर्व स्वास्थ्य तथा श्रममन्त्री तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गरेका थिए ।
तुलाधर दुई पटक सरकार र माओवादीबीच भएको वार्ताका मध्यस्थकर्ता थिए ।
२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको अल्पमतको सरकारमा श्रम र स्वास्थ्य मन्त्रीको कार्यभार तुलाधरले सम्हालेका थिए ।
पञ्चायतकालमा २०४३ सालमा ‘जनपक्षीय’ उम्मेदवारका रुपमा सूर्य चिह्न लिई राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका तुलाधरले राष्ट्रिय पञ्चायतको बैठकमै बहुदलको माग गरेर सबैलाई अचम्ममा पारेका थिए ।
तुलाधरले बहुदल घोषणापछि २०४८ र २०५१ सालमा निरन्तर दुई पटक काठमाडौँबाट सूर्य चिह्नमा चुनाव जितेका थिए ।
तर एमाले र माले फुटेपछि २०५६ सालमा भएको संसदीय निर्वाचनमा स्वतन्त्र वामपन्थीका रुपमा चुनाव लडेका उनले पञ्चायत कालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको भन्दा कम मत पाएका थिए। त्यसपछि तुलाधर कहिल्यै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिएनन्।
तुलाधरका पत्रकार तथा साहित्यकार पनि थिए । स्व तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । तुलाधरको सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।