२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

मातृभाषा मोह : काम छाडेर नेपाली भाषा कक्षा सञ्चालन गर्दै अमेरिकन नेपाली


२० कार्तिक २०७५, मंगलबार  

0
Shares

 

आङछिरिङ शेर्पा/न्युयोर्क

अमेरिकामा नेपालीहरुको जनसंख्या त बढ्दै छ भने नेपाली भाषाको प्रयोगमा भने ह्रास आउन थालेको छ । यस्तो अवस्थामा आउँदो पुस्ताले नेपाली भाषा र सँस्कृति बिर्सने पो हुन् कि भन्ने चिन्ताले अभिभावकहरुलाई पिरोल्न थालेको छ ।

विश्वको जुनै कुनामा पुगेका अहिलेका नेपाली पुस्ता नेपाली भाषा बोलेपनि आफ्ना सन्ततिले बोल्न छाड्ला कि भनेर उनीहरु चिन्तित हुन थालेका हुन् । यही चिन्ताले सताएका दुई नेपाली चेलीले न्युयोर्कको ज्याक्सनहाइटमा नेपाली भाषा कक्षा नै थालेका छन् ।

अमेरिकाको व्यस्त दैनिक । भनेजस्तो फुर्सद कसलाई हुन्छ र ? तर, घरको काम र परिवारलाई दिने समयसमेत कटौति गरेर पदमा लिंख मगर र सरस्वती राईले आफ्नै पकेट खर्चमा दुई बर्षदेखि नेपाली भाषाको कक्षा सञ्चालन गर्दै आएका छन् ।

ज्याक्सनहाइटस्थित इन्टरनेसनल मार्सल आर्ट्सको डोजोभित्र चलिरहेको यो कक्षामा करिब ४० जना बालबालिका नेपाली सिक्न धाउँछन् ।
‘नमस्ते’ हलभित्र प्रवेश गर्ने वित्तिकै अभिवादन गर्छन् उनीहरु । त्यसपछि नेपाली राष्ट्रिय गान ‘सयौ थुङगा फुलका हामी’ गाउँछन् । त्यसपछि भुइँमा बसेर नेपाली शब्द र वाक्यहरु सिक्दै बेलाबेला विभिन्न नेपाली चाडपर्वबारे पढ्छन् र यो पर्व मनाएरै तरिका पनि सिकाइन्छ ।

‘नेपाली अमेरिकी समाजमा यही जन्मेको बालबालिका र नेपालबाट आएका बालबालिकाले नेपाली भाषा बोल्न छाडेको सुने र देखेपछि हामीले भावी पुस्तामाझ नेपाली भाषा र सँस्कृति जोगाउनु पर्छ भनेर यो कक्षा थालेका हौं’ पदमा भन्छिन्, ‘विशेष गरी प्रवासमा नेपालीको पहिचान जोगाइ राख्नका साथै नेपालमा जाँदा पनि हाम्रो बालबालिकाले राम्रारी नेपाली भाषा बोल्न सकोस भन्ने उद्देश्यले यो कक्षा सञ्चालन गरेको हो ।’

नेपाली साहित्यमा लामो समयदेखि कमल चलाउँदै आएकी गीतकार पदमा पछिल्लो समय समाजसेवीको रुपमासमेत चिनिएकी छन् । पदमाले स्वस्थ्य क्षेत्रमा कार्यरत सरस्वती राईसँग मिलेर कक्षा सञ्चालन थालेकी हुन् । दुबैले शुरुदेखि दुई वर्ष आफ्नै खर्चमा कक्षा सञ्चालन गरे । उनीहरुको अभियानलाई डोजोको पनि साथ रह्यो । डोजोले कक्षा सञ्चालन गर्ने कोठा एक वर्षसम्म निशुल्क उपलब्ध गरायो ।

त्यस्तै अभिभावकहरुले पनि उनीहरुको नेपाली भाषाप्रतिको माया देखेर बेलाबेला उपहार दिए । कक्षामा बालबालिकाको संख्या बढ्न थालेपछि यस पटकदेखि भने उनीहरुले एकजनाबाट १० डलर चन्दा स्वेच्छिक रुपमा लिन थालेका छन् ।

‘नेपालमा राम्रो नेपाली बोल्ने हाम्रै छोराछोरीले यहाँ आएपछि बोल्न छाडेकाले भाषा कक्षा खोलेका हौं,’ अर्का सञ्चालक सरस्वती भन्छिन्, ‘नेपालबाट साढे ३ बर्ष उमेरमा यहा ल्याएको छोरीले विस्तारै नेपाली भाषा बोल्न अप्ठयारो र गाह्रो मानेको महसुस हुन थालेपछि हामी मिलेर कक्षा शुरु गरेका हौं ।’

सेप्टेम्बर २०१६ बाट आरम्भ भएको कक्षामा शुरुमा ८ जना बालबालिका थिए । उनीहरु सञ्चालकद्वयकै छोरीहरु र आफन्तको छोराछोरी । अहिले यति धेरै विद्यार्थी आउँछन् भनेर नसोचेको सरस्वती बताउँछिन् । ‘निरन्तर रुपमा चलाउन सकिदैन कि भनेर पनि धेरै प्रचारप्रसार पनि गरेनौं,’ राइले भनिन् । उनकाअनुसार अहिले विद्यार्थीको संख्या पनि बढ्दै गएपछि महिनाको २ सय डलर भाडा तिरेर स्कुल चलाइरहेका छन् । हरेक विद्यार्थीको अभिभावकले दिएको साथ र हौसलाले कक्षा चलाउन उत्साह भरेको र सहज भएको राई बताउँछिन् । पदमा र सरस्वतीको भावनालाई कदर गर्दै उमा थापामगरले शुरुवातदेखि नै शिक्षिकाको रुपमा विशेष सहयोग गर्दै आइरहेकी छिन् । त्यस्तै धेरै जसो अभिभावकले पनि कक्षामा चाहिने सरसामान र बेलाबेलामा सहयोग गर्दै आएका छन् ।

‘यो कक्षा भाषामात्र नभइ हामी नेपालीको हरेक सँस्कृतिबारे ज्ञान दिने प्रयोगशाला हो, सबैलाई एक ठाउँ राखेर चाडपर्वको महत्व बुझाउने र मनाइदिने थलो पनि बन्दै गएको छ यो कक्षा,’ राईले सुनाइन् । कक्षामा पदमा, सरस्वती र उमा तीन जनाले सिकाउँदै आएका छन् भने बेलाबेला अभिभावकले पनि स्वयंसेवकको भुमिका निभाउँछन् ।

नेपालमा कामकाजी भाषा नेपाली नै भएकोले पनि यहाँ जन्मेका बालबालिकालाई जहाँ पुगेपनि नेपाली भाषामा समस्या नहोस भन्ने सोचको साथ शुरु भएको नेपाली भाषा कक्षा अति नै राम्रो कदम भएको हो, यो कक्षा निकै महत्वपूर्ण छ,’ अभिभावक यशोदा राईको भनाई । उनी पनि कक्षामा स्वयंसेवकको रुपमा सहयोग गर्दै आइरहेकाहरुमध्येकी एक हुन् ।

कक्षा निरन्तरताका लागि पदमा र सरस्वतीले शुरुमा हरेक महिना सय – सय डलर उठाएर सरसामान किनेर पढाउँदै आएका थिए । यो देखेपछि अभिभावकले चाडपर्वमा सरसमान र उपहार दिन थाले उनीहरुलाई । अभिभावकको सहयोग र ‘कखग’ अंकित टिसर्ट बिक्रीबाट नाफा आएको रकम अहिले उनीहरुलाई कक्षा चलाउनमा राहत मिलेको पदमाले बताइन् ।

यही कक्षालाई दिर्घाकालीन रुपमा अघि बढाउन अहिले ६ जना अभिभावकको टोलीसहित गरी ९ सदस्यीय बोर्ड गठन गरिएको छ । यो भाषा कक्षालाई दीर्घाकालीन रुपमा लैजान उनीहरुले सरल नेपाली भाषा तथा साँस्कृतिक केन्द्र नाम दिएर अहिले संस्था दर्ताको प्रक्रियामा रहेको छ ।

‘अभिभावकको खुसी र बालबालिकाले सिकेको देख्दा हामीले राम्रो अनुभुति मिलेको छ,’ पदमाले सन्तुष्टि सुनाइन् । कक्षा हरेक आइतवार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुन्छ । कक्षामा बच्चाहरु ५ बर्षदेखि माथिका आउने गरेका छन् । निशुल्क रुपमा सञ्चालन भएको उनीहरुको कक्षामा भर्ना हुँदा ५० जना भए पनि प्रत्येक हप्ता सिक्न आउनेहरु ३५ जनकाको हाराहारीमा मात्र छन् । उनीहरुले निः शुल्क रुपमा भाषा स्कुल चलाएको एक वर्षपछि गत वर्षबाट शेर्पा किदुगले पनि नेपाली भाषा कक्षा शुरु गर्दै आएको छ ।

किदुगको भाषा कक्षा

किदुगले हरेक शनिवारको दिन २ समूहमा विभाजन गरी एक दर्जन भन्दा बढीलाई नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको छ । ‘अमेरिकामा जन्मेकालाई आफ्नै भाषाको साथै नेपाली भाषाको ज्ञान दिलाउन किदुगले गत वर्षबाट यो कक्षा शुरु गरेको हो,’ शेर्पा किदुगको सचिव तथा नेपाली तथा शेर्पा भाषा कक्षाको संयोजक तेम्बा शेर्पाले भने ।

उनकाअनुसार किदुगले सञ्चालन गरेको कक्षामा पिसकोरमा लामो समय अमेरिकनलाई नेपाली भाषा सिकाउँदै आएकी प्रभा अधिकारीले बालबालिकालाई नेपाली भाषा सिकाइरहेका छन् । किदुगकै साँस्कृतिक केन्द्रको हल रिग्सुङ लोप्टाको कक्षामा भइरहेको भाषा कक्षामा अध्ययन गर्नेहरुलाई एक सेमिस्टरको २ सय डलर लिँदै आएको छ । ‘हामीले शुरु गरेको कक्षा निकै फलदयी भएको छ,’ किदुगको भाषा संयोजक तेम्बा शेर्पाले भने, ‘बालबालिकाको नेपाली भाषा कक्षामा रुचि भएपनि उनीहरुले समय निकाल्न सकेको छैनन् ।’

उनकाअनुसार किदुगले शुक्रवार, शनिवार र आइतवार फुटबल तालिम पनि राखेकोले विद्यार्थीको संख्या कम भएको हो । भाषा कक्षामा सहसंयोजकको रुपमा बिजय थुलुङ र निमा नुर्बुले सुचनासम्बन्धी काम गर्दै आएका छन् भने स्वयंसेवकमा याङडी शेर्पा र पासी शेर्पा रहेका छन् । त्यस्तै गत बर्ष सोफियाले पनि एक सेमिस्टार स्वयसेवक भएर सहयोग गरेकी थिइन् ।

तामाङ समाजको भाषा कक्षा

किदुगपछि तामाङ समाज अमेरिकाले पनि संस्थाको कार्यालयमा यसै बर्षदेखि ‘नाङसाल’ नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको छ । ‘अमेरिकामा जन्मिएका बालबालिकाले नेपाली भाषा बोल्न छाडेका बेला हामी प्रवासमा रहेको नेपालीहरुले भाषा, रितिथिति भेषभूषा, संस्कारसंस्कृति आदिको संरक्षण र विकासका साथै आगामी पुस्तालाई सिकाउँदै जाने लक्ष्य अनुरुप ‘नाङसाल’ नेपाली भाषा कक्षा सञ्चालन गरेको हौ,’ समाजकी अध्यक्ष सानुमाया तामाङले भनिन् ।

हरेक आइतवार बिहान १० बजेदेखि १२ बजेसम्म नेपाली भाषा कक्षा सञ्चालन गर्दै आएको समाजले निकट भबिश्य मै तामाङ भाषा र अंग्रेजी भाषाको कक्षा पनि सञ्चालन गर्न लागेको अध्यक्ष तामाङले सुनाइन् । समाजको भाषा कक्षाको संयोजन गर्नेलगायत नेपाली भाषा कक्षा संचालन वाल विभागका संयोजक रेणु वाइबा र कोषाध्यक्ष फुरु लामाले गरेका छन् ।

नेपाली डायस्पोरामा एकता र आपसी सदभावको अभिबृद्धिका साथसाथै सबल, सभ्य र स्वस्थ समाजको परिकल्पनासहित शिक्षाले संस्थाको लक्ष्य र उद्देश्यअनुरुपको कार्य गर्नु थालेको अध्यक्ष तामाङको भनाई छ । निशुल्क रुपमा सञ्चालन भइरहेको कक्षामा ११ जना बालबालिकाले नेपाली भाषा सिकिरहेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७५, मंगलबार  ८ : ४३ बजे