१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

सोलुखुम्बुको विकासका लागि सबैले आआफ्नो ठाउँबाट सहयोग गरौं : प्रकाशसिंह कार्की


४ मंसिर २०७५, मंगलबार  

0
Shares

अमेरिकामा थुप्रै पटक आइपुगेका व्यवसायी एवं नेता प्रकाशसिंह कार्की यस पटक न्युयोर्कमा निकै व्यस्त थिए । यसअघि सीमित व्यक्तिलाई मात्र भेटेर फर्कने गरेका उनी यस पटक भने नेपाली कांग्रेसका कार्यकर्ता र सोलुवासीसँगको भेटघाटमा निकै व्यस्त भए । नेपालको कार्गो र ट्राभल व्यवसायमा सफलता हासिल गरेका उनी गत निर्वाचनमा नेपाली कांग्रेसबाट सोलुखुम्बुको प्रदेशसभा उम्मेद्वार बनेपछि देशविदेशमा उनको चर्चा हुन थालेको हो ।

विगत ३ दशकदेखि वल्र्ड फ्रेड इन्टरनेसनल प्रालि र प्यारागन ट्राभलस् एण्ड टुर्स प्रालिका प्रबन्ध निर्देशक कार्की उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य एवं एक्सपोर्ट प्रोमोसन कमिटिको चेयरमेन हुन् । नेता कार्कीले जिल्लामा रहेको प्रचुर व्यवसायिक सम्भावनालाई परम्परागत खेतीको साथै आधुनिक व्यवसायिक रुपमा अघि बढ्न जिल्लावासीलाई प्रेरित गर्दै आएका छन् । यसैको लागि उनका समूहले सोलुखुम्बुको नेलेमा किबीको वाइन कारखाना खोल्न लागेका छन् भने पातालेमा ६ करोड लगानीमा रिर्सोट बनाउन लागेका छन् ।

सोलुखुम्बुको तिङलामा जन्मेर सोलुखुम्बुको विकासमा योगदान पुर्‍याउँदै आएका व्यवसायी एवं नेता कार्कीसँग एभरेस्ट टाइम्सको लागि आङछिरिङ शेर्पाले गरेको कुराकानीको सम्पादित अंशः

यस पटकको भ्रमणमा निकै व्यस्त देखिनुभयो नि ?

म न्युयोर्कमा सन् १९९८ मा पहिलो पटक आइपुगेको हो । त्यसपछि निरन्तर रुपमा अहिलेसम्म करिब १५ पटक आइपुगें । ती भ्रमणहरु नितान्त रुपमा व्यवसायिकमात्र थियो । तर गत निर्वाचनदेखि राजनीतिमा सक्रिय भएपछि विदेशमा शुभचिन्तकहरु र साथीभाईहरुसँग राजनीतिक भेटघाटमै व्यस्त बनाइदियो ।

भनेपछि यस पटकको भ्रमण धेरै नै फलदायी भयो ?

सधै व्यवसायको सिलसिलामा भ्रमणमा आउँदा सीमित व्यक्तिहरु र केही इष्टमित्रहरुसँगमात्र भेटेर  फर्कने गरेको थिएँ । तर यस पटक क्यालिफोर्निया र न्युयोर्कमा जन सम्पर्क समितिको कार्यक्रममा कांग्रेसका शुभचिन्तकहरुसँगको भेटघाट निकै राम्रो भयो । प्रवासमा कार्यकर्ताहरुले भोग्नु परेका कठिनाईहरु र पार्टीले खेल्नु पर्ने भुमिकाबारे पनि गहन छलफल भयो । अमेरिकामा पार्टीलाई माया गर्ने साथीहरुले पार्टीभित्रको गुटबन्दी हटाउनुपर्ने लगायतका सबै कुराहरुलाई जस्ताको त्यस्तै पार्टीको केन्द्रमा राख्ने योजना बनाएको छु । साथीहरुले पार्टीभित्रको गुटउपगुटहरु हटाउनुपर्ने र स्थानीय स्तरदेखि केन्द्रसम्म एकजुट हुनुपर्ने भनाई राख्नुभएको छ । यो भ्रमणमा नेपाली कांग्रेसका सर्मथकहरु मात्र नभई जिल्लावासी र अन्य विचारका साथीहरुसँगको भेटले निकै रमाइलो अनुभव गराइदियो ।

नेपाल पुगेपछि के गर्ने योजना बनाउनुभएको छ ?

नेपालमा पुगेपछि सोलुखुम्बु जान्छु । निर्वाचनको क्रममा पुगेका गाउँगाउँमा जान्छु । गाउँहरुमा चुनावको बेला आश्वसन दिएका गर्न सकिने कामहरु गर्छु । एक महिनाको लागि जाने योजना अन्तर्गत किवीको वाइन कारखाना बनाउन, किवी खेतीको लागि माटो जाँच गराउन र रिर्सोटको लागि केही कार्यहरु गर्ने योजना बनाएको छु ।

 

व्यवसाय हुँदै राजनीतिक यात्रा कसरी तय गर्नुभयो ?

व्यवसायी भए पनि म विद्यार्थी जीवनबाटै नेविसंघमा लागेर कांग्रेसमा राजनीतिमा लाग्दै आएको हुँ । काठमाडौंमा व्यवसाय गर्ने क्रममा सोलुखुम्बु सम्पर्क मञ्च काठमाडौंमा दुई कार्यकाल महासचिव बने । त्यसपछि सोलुखुम्बु नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य हुँदै गत निर्वाचनमा प्रदेश सभा सदस्यको उम्मेद्वार बनें ।

अबको प्राथमिकता व्यवसाय कि राजनीति ?

अहिलेसम्म व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाउँदै आएको छु । छोराछोरीको उच्च अध्ययन पुरा भइसकेकोले व्यवसायको जिम्मा उनीहरुलाई सुम्पेर अबको योजना निस्वार्थ रुपमा सोलुखुम्बुको जनताको हितमा काम गर्दै राजनीतिमा लाग्ने हो । जिल्लाको विकास तथा समृद्धबारे योजना बनाइरहेको छु ।

के के छन् तपाईका योजना ?

सोलुखुम्बुको विकासको लागि सबैभन्दा पहिला शिक्षाको विकासका लागि राम्रो विद्यालय र कलेजका साथै गुणात्माक शिक्षा हुनुपर्ने देखिएको छ । सगरमाथाको मुलद्धार खुम्बु क्षेत्रमा जाने पर्यटकहरुका लागि विमानस्थल र राम्रो बाटोको व्यवस्था हुनुपर्ने देखिएको छ । गाउँगाउँमा अहिलेसम्म नपुगेको ठाउँमा मोटरबाटो पु¥याउनु पर्ने र पु¥याइरहेको बाटोहरु मर्मत सुधार गर्नु पर्ने देखिएको छ ।

त्यसैले हरेक वर्ष जिल्लामा जाने क्रममा यातयातको सुविधा नपुगेको ठाउँमा डेढ सयभन्दा बढी बिरामी भोग्ने स्टेचर वितरण गरे । अब जिल्लालाई परम्परागत खेतीको साथै आधुनिक व्यवसायतर्फ उन्मुख गराउने योजना अनुरुप नेलेमा किवि वाइन कारखाना खोल्ने र पतालेडाँडामा पर्यटक र स्थानीयको लागि रिर्सोट खोल्ने योजना रहेको छ ।

निर्वाचित हुनु भएको भए के गर्नु हुन्थ्यो जस्तो लाग्छ ?

कति मान्छेहरु हारेर चिन्तित भएका छन् । तर हारेर पनि खुसी हुने मान्छे हुँ म । कांग्रेस तलदेखि माथिसम्म स्पष्ट हुनुपर्छ । सोलुको विकासमा मात्र होइन देशकै विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा सोच्दै छु । नराम्रो काम जुनसुकै पार्टीले गरेपनि गलत भन्न सक्नु पर्छ । म काममा विश्वास गर्ने हो ।

यदि मैले चुनाव जितेको भए सबैलाई समान व्यवहार गरेर केन्द्रबाट जिल्लामा आउने सम्पूर्ण बजेट विकास निर्माणमा लगाउँथे । शिक्षा, स्वस्थ र यातायात पहिलो प्रथामिकताको रुपमा राखेर योजनाबद्ध रुपमा कार्य गर्थे । यसको साथै पर्यटन विकाससँगै हरेक गाउँपालिकामा बृद्धाश्रम खोल्ने काममा लागि सक्थे । बृद्धश्रमको लागि सरकारसँग मिलेर आफुले पनि व्यक्तिगत रुपमा लगानी गर्ने सोचाई बनाएको थिए । तैपनि आफूले सक्ने काममा मैले चुनाव हारे पनि सोलुखुम्बुको हितमा निरन्तर रुपमा लागी रहने छु ।

अन्त्यमा के भन्नुहुन्छ ?

गत वर्ष जिल्लावासीले दिएको मायाले मलाई राजनीतिमा पाइला चल्न प्रोत्साहन मिलेको छ । जिल्लाको हितमा अब सवैले आआफनै ठाउँबाट सहयोग गरौं । पहिलो कुरा घरको जग बलियो हुनुपर्छ त्यसपछि मात्र घर राम्रारी उठ्ने भएकोले सबै एक हुनुपर्छ । पार्टीमा पनि कसैले पनि हैकम जन्माउने प्रबृतिको अन्त्य हुनुपर्छ । अन्त्यमा प्रवासमा मेरो यात्रामा साथ दिनेहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलबार  ९ : ५७ बजे