शुभप्रभात राई/काठामाडौं
तामाङ सर्जक कर्णेल सन्तवीर लामा पाख्रिनको १२१ औं जन्मजयन्तीको अवसरमा उनले लेखेको ‘ताम्बा काइतेन ह्वाई रिमठिम’ किताबको परिचर्चा गरिएको छ।
शनिवार राजधानीको अनामनगरस्थित विनायो क्याफेमा आयोजित परिचर्चा कार्यक्रममा डा मुक्तिसिंह थोकरले सन्तवीरको ताम्बा काइतेनबारे चर्चा गरे। उनले शुरुवातकालीन समयमा समाजको विचारपद्दतिबारे उल्लेख गर्दै गीतले नै तामाङको इतिहास बोकेको धारणा राखे। उनले ताम्बा गीतकारमात्र नभएर इतिहासकारसमेत भएको बताए।
भने, ‘ताम्बा गीतकारको रुपमा झनै महत्वपूर्ण रहने देखिएको छ। यस्तो मात्र होइन गीतकार इतिहासकार पनि हो।’ चीनमासमेत यसको प्रयोग भएको उनले उल्लेख गरे।
तामाङको मौखिक विषय देवनागरी र नेपाली भाषामा लेखेर सन्तवीर लामाले तामाङ साहित्यलाई नयाँ युगमा प्रवेश गराएको बताए।
कार्यक्रममा लेखक टि ग्याल्सेन लामाले सन्तवीरको ‘ताम्बा काइतेन ह्वाई रिमठिम’ तामाङ जातिको वेद भएको बताए। यसको नियममा बसेमात्र तामाङको परिचय रहिरहने उनको तर्क थियो।
सन्तवीर पुरस्कार कोष घोषणा
कार्यक्रममा सन्तवीर लामाको नाममा पुरस्कार कोष घोषणा गरिएको छ। पुरस्कार कोष घोषणा गर्दै बहुभाषिक रेडियो हिमालयको तर्फबाट ५० हजार रुपैयाँ दिने रेडियो हिमालयका सञ्चालक बुद्धि विश्वकर्माले घोषणा गरे। पाँच हजार डलरको कोष बनेपछि उक्त कोष बलियो हुने उनले बताए। अध्ययन क्षेत्र, काव्य क्षेत्र र कलाको क्षेत्रमा तामाङका विषयमा लागेका तीन जना साधकलाई प्रदान गरिने बताए।
एभरेस्ट टाइम्सका सम्पादक एवं रेडियो हिमालयका बोर्ड अफ ट्रस्टी ङिमा पाख्रिनले पुरस्कार कोष घोषणाको प्रशंसा गर्दै आफू पनि सहयोग गर्न तयार रहेको बताए। उनले क्यालिफोर्नियामा रहेको सोनाम मोक्तान, न्युयोर्कमा रहेका छेमाङ तामाङलगायतसमेत पुरस्कारको कोषमा सहयोग गर्न तयार रहेको बताए। कार्यक्रममा तामाङ साहित्य, कला र अध्ययन क्षेत्रमा लागेका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
को हुन् सन्तवीर लामा?
आफ्नो संस्कृति र मातृभाषाको उत्थान र विकासमा अमुल्य योगदान पुर्याउनेमध्येका एक अभियन्ता हुन् सन्तवीर लामा। वि.स. १९५४ मङ्सिर ८ मा इलाममा जन्मिएका उनी युवा अवस्थामा खेलमा फुटबल, पार्टीमा कांग्रेसको आस्था राख्ने, राणाकालिन समयमा नेपाली सेनामा भर्ती भएका थिए। आफ्नो कार्यभार साथै तामाङ भाषा र संस्कृतिको विकास एवम् विस्तारमा उनको योगदान रहेको छ।
वि.स.२०१६ मङ्सिर ८ गते झापाको बडाहाकिम भएका लामाले इलाम र झापामा विकास, निर्माण, शान्ति सुरक्षाका साथै साथै कलकारखाना, गुम्बा, मठमन्दिर, चियाखेतीमा उल्लेखनिय गरेका थिए। त्यसैले वि.स. २०१७ चैत्र २० गते बडाहाकिम पदबाट अवकाश लिने बखतमा उनलाई राजा महेन्द्रले अनरेरी (मानार्थ) लेफ्टिनेन्ट कर्णेल उपाधि द्धारा विभूषित गर्दै पोषाक प्रदान गरेका थिए।
नेपाली सेनाबाट अवकाशपछि लामाले थुप्रै जातीय उत्थानका कार्यहरु अघि बढाउदै उनले तामाङ सांस्कृति भाषामा वि.स. २०१६ मा पिहिलो पुस्तक ‘तम्बा कइतेन ह्वाई रिमठिम’ दार्जीलिङबाट प्रकाशित भयो। उनको दोस्रो पुस्तक ‘स्येबु–स्येमु’ वि.स. २०१६ मै प्रकाशन भएको थियो भने, उनले इलाम र झापाका कार्यहरु समेट्दै ‘इलाम दर्पन’ तेस्रो र वि.स. २०२१ मा ‘नाङ्वा साङ्गे’ चौथो पुस्तक प्रकाशन भएको थियो।
तामाङ भाषा, सांस्कृति र धर्मका धरोहर क. सन्तवीर लामा पाख्रिनको निधन वि.स. २०२६ फागुन १ गते काठमाडौको वानेश्वरमा भएको थियो। उनको कदर गर्दै तामाङ भाषा, साहित्य संस्कृति र सञ्चारकर्मीहरुले वि.स. २०४९ देखि हरेक बर्षको मंसिर ८ गते लामाको जन्मजयन्ती मनाउदै आएको छ।