एभरेस्ट टाइम्स/काठमाडौं
क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टका अधुरा काम पूरा गर्न आएको र जिससलेसमेत गर्न नसकेको ‘पवित्र बिहे’ गरेर नयाँ युग शुरु गरेको दाबी गर्ने युनिफिकेसन चर्चसँग आवद्ध विवादास्पद एनजिओले गरेको एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी शर्मा ओली पुरस्कृत भएका छन् ।
युनिभर्सल पिस फाउन्डेसन (युपीएफ)ले प्रधानमन्त्री ओलीलाई मंसिर १६ गते नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको हो । संस्थाकी प्रमुख हक जा हान मुनले प्रधानमन्त्री ओलीलाई उक्त पुरस्कार प्रदान गरेकी हुन् । पुरस्कारका साथमा उनलाई सम्मानपत्र समेत प्रदान गरिएको थियो ।
एसिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशी एक लाख डलर छ ।
कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरे ।
अवार्ड लिने ओली पहिलो प्रधानमन्त्री होइनन्
प्रधानमन्त्री ओलीले अवार्ड ग्रहण गरेसँगै उनको चौतर्फी आलोचना भयो । विवादित संस्थाले दिएको पुरस्कार ग्रहण गरेको आलोचना भइरहँदा यो अवार्ड पाउने उनी एक्ला नेपाली भने होइनन् । यो अवार्डबाट यस अघि तीन जना नेपाली सम्मानित भइसकेका छन् ।
नेपालका दुई जना प्रधानमन्त्रीले यो अवार्ड प्राप्त गरिसकेका छन् । तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले यो अवार्ड पाइसकेका छन् । त्यस्तै अर्का प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई पनि यो अवार्ड प्रदान गरिएको थियो।
त्यस्तै यो अवार्ड डा. सुरेशराज शर्मालाई पनि प्रदान गरिएको थियो । उनी काठमाडौं विश्व विद्यालयका भाइस चान्सलर तथा युपीएफका नेपाल शाखाका संस्थापक अध्यक्ष पनि हुन् ।
विश्व शान्ति निर्माण तथा भातृत्वका साथै नैतिक मान्यता सिर्जनामा योगदान पुराउने व्यक्ति तथा संस्थालाई प्रदान गरिँदै आएको भनिएको यो अवार्डबाट हालसम्म प्रधानमन्त्री ओलीसहित ६६ जनालाई प्रदान गरिएको संस्थाको वेवसाइटमा उल्लेख छ।
कार्यक्रम किन विवादित बन्यो ?
गैरसरकारी संस्थाको कार्यक्रममा शुरुमा सरकार सहआयोजक बनेको थियो । गैरसरकारी संस्थाको सहआयोजक सरकार बनेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसको व्यापाक विरोध गर्यो । सहआयोजकबाट हट्न जनदबाव उत्तिकै थियो । तीव्र विरोधपछि नेपाल परिवार दलनै ने क पामा विलय गराएका एकनाथ ढकालको शक्तिको आडमा सहआयोजक बनेको सरकार पछि हट्न बाध्य भयो ।
त्यस्तै १४ गते शुरु हुने कार्यक्रमका लागि सरकारले गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले मङ्सिर १३ देखि १६ गतेसम्म सवारीमा जोर बिजोर प्रणाली लागू ग¥यो । यो विषय पनि तीव्र विवादमा तानियो । आइएनजिओले गरेको कार्यक्रममा जनतालाई दुःख दिन जोरविजोर प्रणाली लागु गरेको भन्दै अवज्ञा हुन थाल्यो । जसले गर्दा भोलिपल्ट १४ गते नै सरकारले यो प्रणाली हटायो ।
यस्तै गैरसरकारी संस्थाको कार्यक्रममा सरकारी खर्चको व्यवस्थापन विवादको अर्को कारण हो । त्यसले पनि कार्यक्रमलाई झनै विवादमा तान्यो । सरकारले करोडौ खर्च गर्न लागेपछि विवाद ओइरिएको हो । सहआयोजकबाट सरकारको नाम हटाए पनि कार्यक्रमका लागि सरकारसँग ३१ करोड रुपैयाँ माग गरेको थियो । पछि त्यो रकम खर्च गर्ने कुरा पनि सरकारले गरेन ।
आयोजक नै विवादित संस्था
युनिभर्सल पिस फेडेरेसन (युपिएफ) यसको आयोजक हो । युनिभर्सल पिस फेडेरेसन विवादास्पद आइएनजिओ हो । यसका संस्थापक सन म्युङ मून र उनकी पत्नी हाक जा हान मुन हुन् । सन् २००५ मा यो संस्था उनीहरुले स्थापना गरेको सोही संस्थाको वेबसाइटमा उल्लेख छ ।
कम्युनिस्टका कट्टर आलोचक, स्वघोषित मसिहा र अत्यन्तै विवादित व्यक्ति सन म्युङ मूनको सन् २०१२ मा निधन भएको थियो । मूनका गतिविधि विवादास्पद मात्र हैनन्, रोचक पनि छन् ।
मूनले नै युनिफिकेसन चर्चको स्थापना गरेका थिए । जुन यो शताब्दीकै सबैभन्दा विवादास्पद धार्मिक अभियान भएको द इन्डेपेन्डेटले जनाएको छ ।
‘जिसस क्राइस्टले आफ्ना अधुरा काम गर्न मलाई खटाएको हो,’ उनको दाबी यस्तै हुन्थ्यो । उनका अनुयायीहरूलाई उनले दिने निर्देशन पनि रोचक छ ।
अनुयायीहरु आफ्नो जीवन साथी चुन्ने अधिकार मुनलाई छाडिदिन्थे । किनभने उनले भने अनुसारको जोडीले बिहे गरेमात्र पापमुक्त रगतको नाता तयार हुन्छ भन्ने दावी उनको थियो ।
विवाह गरे हुन्छ भनेर मूनले अनुमति दिएपछि के के गर्नुपर्ने भन्नेबारे मूनको युनिफिकेसन चर्चले निर्देशन नै तयार पारेको थियो । जसमध्ये एउटामा नवविवाहित दम्पतीले सबैभन्दा पहिला ब्याटले एक अर्कालाई हान्नुपर्ने र त्यसपछि मूनको चित्र अगाडि निर्देशन दिइएका आसनमा बसेर तीन दिनसम्म यौन सम्पर्क गर्नुपर्ने उल्लेख छ ।
उनी भन्ने गर्थे, ‘विवाहितले मात्रै भगवानको राज्यमा प्रवेश पाउँछन् ।’ मूनले आफ्नै भान्छेकी छोरीसित बिहे गर्दा उनको उमेर ४० वर्षको थियो । दुलही भने मात्र १७ वर्षकी ।
मूनले छोडेर गएको विशाल व्यावसायिक, राजनीतिक र धार्मिक साम्राज्य उनका सन्तानहरूले सम्हालिरहेका छन् । र, उनका एकजना छोरा जस्टिन मून अमेरिकाको हतियार उत्पादन कम्पनी ‘क्हर आर्म्स’ का मालिक छन् ।
अमेरिकामा धर्म प्रचार गरेर उनले प्रशस्त कमाएपछि कर छलेको अभियोगमा १८ महिना जेलसमेत बस्नुपरेको थियो । मूनका अनौठा चर्तिकलाहरुबारे विस्तृत जानकारीसहितको रिपोर्ट द न्यु रिपब्लिकमा छापिएको छ ।
यही संस्थाको नेपाल शाखा युनिभर्सल पिस फेडरेसनका नेपालका अध्यक्ष पूर्व मन्त्री एकनाथ ढकाल हुन्, जो नेपाल परिवार दलका अध्यक्ष पनि थिए । उनको पार्टी चुनावअघि नेकपा एमालेमा विलय भएको थियो । एमाले माओवादीसँग एकीकृत भएपछि उनी पनि अहिले सत्तारुढ दुई तिहाईको नेकपा सरकारका नेता हुन् ।