वीके नेवा/न्युयोर्क
कविना सिंह व्यस्त कलाकार हुन् । नेपालदेखि अमेरिकासम्मको सांगीतिक यात्राले उनको जीवनलाई नयाँ मोड दिएको छ । उनलाई आफ्नो जन्मभूमि निकै प्यारो लाग्छ । कविना भन्छिन्, ‘म जिन्दगीभर मेरो राष्ट्रको कला र संस्कृतिको प्रचारप्रसार, प्रवद्र्धन र सम्वद्र्धनमा लागिरहने छु ।’
काममा व्यस्त भए पनि कुनै संस्थाको निम्तो पाउनसाथ पुगिहाल्ने उनले सुनाइन् । ‘कुनै पनि संस्थाले नृत्य प्रस्तुत गर्न बोलायो भने अरु काम छाडेर जाने गरेकी छु । मैले धेरै कुरा सिक्न बाँकी छ, तैपनि सिकेका कुरा अरुलाई सिकाइरहेकी छु,’ उनले भनिन् ।
न्युयोर्क विश्वकै राजधानी हो । यहाँ विश्वभरिका मानिस छन् । सबैले आफ्नो देशको कला संस्कृति प्रस्तुत गर्छन् । आफ्नो देशको कला संस्कृति प्रस्तुत गर्न पाउँदा गर्व लाग्छ । विदेशीहरुलाई नेपाली कला संस्कृतिप्रति आकर्षित गर्न पाउँदा कविनालाई आनन्दको अनुभूति हुन्छ ।
उनको कला देखेर विवाह भएकोले श्रीमान्लेसमेत उनलाई कला क्षेत्रमा काम गर्न सहयोग गरेको बताइन् । भन्छिन्, ‘उहाँको सहयोगले गर्दा नै म यो चरणमा आइपुगेकी हुँ ।’
मौलिक कला प्रस्तुति गर्न पाएकोमा देशभन्दा बाहिर भए पनि देशमै रहेजस्तै लागेको उनको भनाई छ । ‘म अमेरिकामा बसेर नेवाः समुदायको कला संस्कृतिको प्रचारप्रसार गर्ने काम गरिहेकी छु । यही कर्मले यति टाढा बस्दा पनि मुलुकबाट टाढा भएजस्तो अनुभव भएको छैन । यही कर्मलाई म निरन्तरता दिन चाहन्छु,’ उनले भनिन् ।
सन् २०१२ देखि हालसम्म ४० भन्दा बढी कार्यक्रममा नृत्य प्रस्तुत गरिसकेकी उनी धेरैजसो कार्यक्रममा चर्या, मञ्जुश्री, कुमारी र नेवा नृत्य प्रस्तुत गर्छिन् । न्युयोर्कमा नेवा नृत्य प्रस्तुत गर्ने कलाकारको कमी देखेर नेवा नृत्यलाई प्राथमिकता दिएको उनले सुनाइन् ।
गएको दसैँ अघिमात्र हामीले रिभाइजिङ नेपाल भाषासँग मिलेर ‘हाउ टु डु बर्थ डे इन नेवाः स्टाइल’ भन्ने सानो डकुमेन्ट्री र उनकोबारेमा भिडियो बन्यो । उनी भन्छिन्, ‘यो निकै लोकप्रिय बन्यो । धेरैले मन पराउनुभयो ।’
उनले तीनवटा म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छन् । गीतकै अभिनय मन परेर विवाह भएको उनले सुनाइन् । भनिन्, ‘न्युयोर्कको डेल्टा मल्टीमिडियासित मेरो सम्पर्क भयो । सो मिडियासँग मिलेर नेपाल भाषा तीनवटा म्युजिक भिडियोमा खेलें । त्यसमा ‘माया रे रत्न’ गीत निकै लोकप्रिय बन्यो नेवार समुदायमा । यही गीतमा मेरो नृत्यबाट प्रभावित भएर सञ्जीवमान सिंह डंगोलले बिहेको प्रस्ताव गर्नुभयो । अन्ततः उहाँसँग मेरो बिहे भयो ।’
कहिले अमेरिका आइपुगिन् त उनी ? भन्छिन्, ‘सन् २०१० को अक्टोबरमा म अमेरिका आएँ । ११ महिना बसेर नेपाल फर्के । फेरि २०१२ मा म अमेरिका आएँ । मेरो भेट न्युजर्सीका आदरणीय समाजसेवी तुलसी महर्जनसित भयो । उहाँको फ्रेन्डसिप अफ नेपाल न्युजर्सीको वार्षिक दशैँतिहार शुभकामना कार्यक्रममा नेपाल भाषाको गीतमा नृत्य प्रस्तुत गरेँ । त्यसपछि उहाँकै सिफासिरमा घरसँग मुटुको डोनेसन कार्यक्रममा नृत्य प्रस्तुत गरेँ ।’
ललितपुर खोकानामा जन्मेकी हुन् उनी । खोकाना शतप्रतिशत नेवा बस्ने गाउँ हो । यहाँ नेवाको कला, संस्कृतिलाई विशेष महत्व दिएर चाडपर्व मनाउने गरिन्छ । त्यसैले खोकनालाई जीवित संग्रहालयको रुपमा लिइन्छ । खोकना तोरीको तेलका लागि पनि प्रसिद्ध छ ।
‘खोकनाजस्तो विशेष नेवा बस्तीमा जन्मेको हुर्केको भएर मलाई नेवा कला, साहित्य, संस्कारप्रति विशेष लगाव छ । नेपालमा हुँदा स्कुलको वार्षिक कार्यक्रम,सांस्कृतिक कार्यक्रमा नाच्ने तथा साना बालबालिकालाई नाच्न सिकाउने गर्थे,’ नृत्यबारे कविना भन्छिन्, ‘नृत्यमा मेरो सानैदेखि रुचि थियो । गाईजात्रालगायत विविध सांस्कृतिक जात्रा मेला पर्वमा म नाच्ने गर्दथे । जसले गर्दा यो क्षेत्र मेरो जीवनको प्रमुख कर्म बन्यो ।’
कविनाको नेपालदेखि अमेरिकासम्मको सांगीतिक यात्रा आफैमा महत्वपूर्ण छ । इच्छाशक्ति, दक्षता र क्षमता भए विश्वको जहाँसुकै बसे पनि आफ्नो भाषा,संस्कृति, कला,साहित्यको सेवा गर्न सकिन्छ भन्ने उदाहरण बनेकी कलाकार कविनालाई यो क्षेत्रमा थप सफलता मिलोस् ,यही कामना छ ।