२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

नेपाली लगानीमा अमेरिकामा खुल्यो लक्सो : ड्राइभरलाई जिरो कमिसन, यात्रुलाई सस्तो


६ पुस २०७५, शुक्रबार  

2
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

न्युयोर्कमा बढ्दो नेपाली चालकको संख्यासँगै नेपालीकै लगानीमा न्युयोर्कमा उबर र लिफ्ट जस्तै लक्सो नामक कम्पनी खुलेको छ । लक्सोले चालकलाई जिरो कमिसन सुविधामा कमाउने अवसर दिनुको साथै यात्रुका लागि सस्तो पैसामा सुरक्षित र भरपर्दो तवरले सुविधा दिन थालेको छ । यो कम्पनी उबर लिफ्ट भएकै टिएलसीको भवनभित्र खोलेको छ ।

पाँचै बोरोमा चलाउन खोजेको कम्पनी चाँडै अमेरिकाको सबै राज्यहरूमा चलाइ सकेर नेपाल र भारतमा पनि विस्तार गर्ने योजना रहेको लक्सोको संस्थापक अध्यक्ष तथा सिइओ जयस श्रेष्ठले बताए ।

‘उबर र लिफ्टले नेपाली चालकलाई धेरै कमिसन लिँदै आइरहेको यो अवस्थामा चालकहरुको राहत दिलाउन हामी नेपालीले यो नयाँ कम्पनी खोलेका हौँ,’ लक्सोको सिइओ श्रेष्ठले भने, ‘यो कम्पनी राम्रो हुँदै गए नेपाली चालकलाई सेयरहोल्डरको रूपमा राखेर सबैको साझा बनाउने योजनामा लागेका छौ ।’ जयसले टेक्ससस्थित युटिए युनिभर्सिटीबाट कम्प्युटर साइन्स तथा इन्जिनियरिङमा मास्टर गर्नुको साथै सेन्टलुइज युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा ब्याचलर गरेका छन् ।

अमेरिकामा गरेको अध्ययनसँगै फाइनान्स, मेडिकल, कम्युनिकेसन र एजुकेसन क्षेत्रमा करिब दुई दशकको लामो अनुभव बोकेका जयसले ३ वर्षदेखि न्युयोर्कमा लक्सो खोल्न लागी परेका थिए । लक्सोमा उनीसँगै केही नेपाली व्यवसायी पार्टनरको रूपमा रहेका छन् । गत अगस्टबाट सुरुवात भएको कम्पनीले अहिले बजार लिन थालेको छ । अहिले नेपालीहरूको साथै भारतीय, पाकिस्तानी, बंगाली र अन्य मुलुकका चालकहरूले यो कम्पनीमार्फत अवसर लिन थालेका छन् ।

‘हामीले यो कम्पनीबाट चालकलाई कमिसन नलिइ कमाउने अवसर दिदैछौ तर कम्पनी चलाउन एप्लीकेसन डेभ्लपमेन्ट फिको रूपमा भने १५ प्रतिशत भने लिने योजना बनाएका छौँ,’ जयसले भने । उबरमा उबर पुल र महाङगो कमिसनले चालकहरूलाई निकै समस्या दिइरहेको बेला लक्सोको यो सुविधाले चालकहरूलाई फाइदा हुने चालकहरू बताउँछन् । चालकहरूलाई मात्र नभई लक्सो चढ्ने यात्रुका लागि पनि यो निकै फाइदाजनक भएको श्रेष्ठ बताउँछन् । भने, ‘चालकलाई मात्र नभई यात्रुलाई पनि उबर र लिफ्टको महँगो भाडाबाट राहत दिलाउने उद्देश्य लक्सोको हो ।’

२० जना दक्ष प्रविधिकहरुको नियमित कार्य, एप बनाउँदा समेत गरी अहिलेसम्म करिब डेढ मिलियन डलर लगानी भइसकेको उनले बताए ।
लक्सोले चालकहरू र यात्रुहरूले एप्पलको आइओएस र सामसङको एन्ड्रोइडबाट एप डाउनलोड गरी सजिलै सुविधा लिन सकिने सिस्टमको एप भएको उनको दाबी रहेको छ । लक्सोको चालक हुन अहिले कार्यालयमै गएर दर्ता गर्नु परे पनि अब चाँडै नै कार्यालय नपुगी चालकहरूकै फोनमा एप डाउनलोड गर्ने बित्तिकै दर्ता गर्न मिल्नेछ । विशेष गरी नेपालीकै लागि केन्द्रित यो व्यवसाय नेपालीले नै सहयोग पु¥याए फाइदा नेपालीलाई नै हुने भएकोले सबै नेपालीले यो एप डाउनलोड गरेर प्रयोग गर्न जयसले अनुरोध गरे ।

प्रकाशित मिति : ६ पुस २०७५, शुक्रबार  १० : ११ बजे