७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कांग्रेस विधान : महामन्त्री ८ जना बनाउने सहमति, केन्द्रीय समिति अझै जारी रहने


६ पुस २०७५, शुक्रबार  

0
Shares

काठमाडौं: नेपाली कांग्रेसले जारी महासमितिमा विधान पेश गर्न नसक्दा महासमिति लम्बिएको छ ।

विधान संशोधन गर्ने तयारीका साथ महासमिति आयोजना गरेको कांग्रेसले केन्द्रीय समितिबाट विधान पारित गर्ने प्रयास जारी राखेको छ ।

केन्द्रीय समितिबाट विधान पारित नभएकै कारण काठमाडौंको यगम्बर पार्टी प्यालेसमा मंसिर २९ बाट शुरु भएको महासमिति नसकिएपछि शुक्रवारबाट सानेपामा सारिएको छ ।

४ दिनमा सकिने  महासमिति सातौं दिनसम्म जारी रहेको छ। देशभरबाट १६ सय बढी महासमिति काठमाडौंमा भेला भएका छन् ।

शीर्ष नेताबीच विधानमा पटकपटक छलफल भएको छ भने पटकपटकका सहमति फरकफरक भएका छन्।

चालु विधानमा ६ जनामात्र पदाधिकारी रहेकोमा अब बढाएर ८ जना बनाउने सहमति शीर्ष नेताहरुबीच गत मंगलवार साँझ भएको थियो। उक्त सहमतिपछि विधान केन्द्रीय समितिमा पारित गर्नका लागि पेश गरियो।

सिंहदरबारमा बुधवार बसेको केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरु गगन थापा, महेन्द्र यादव, बहादुरसिंह लामालगायतले विरोध गरेपछि केन्द्रीय समिति स्थगित भयो। केन्द्रीय समिति भोलिपल्ट सानेपामा बस्यो।

पदाधिकारी समावेशी नभएसम्म केन्द्रीय समितिबाट विधान पारित हुन नदिने अड्डी अधिकांशले कसेपछि पुन शीर्ष नेताहरुबीच छलफल भयो।

बिहीवार साँझ पदाधिकारी समावेशी बनाउन सहमहामन्त्री ७ जना बनाउने सहमति शीर्ष नेताहरुबीच भएको थियो। आजको केन्द्रीय समितिमा भने सहमहामन्त्री ८ जना बनाउने सहमति भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

त्यसैगरी केन्द्रीय समिति १६७ जनाको बन्ने भएको छ। यसअघि विधान संशोधन समितिका संयोजक पार्टी महामन्त्री पूर्णबहादुर खड्काले तयार गरेको मस्यौदामा १४१ जना केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरिएको थियो। केन्द्रीय सदस्य र पदाधिकारीको संख्य थपिएसँगै केन्द्रीय समितिको आकार बढेको हो।

अब सभापति १, उपसभापति २, महामन्त्री २ सहमहामन्त्री ८ र कोषाध्यक्ष तथा प्रवक्ता एक एकजना हुने भएका छन्। कोषाध्यक्ष र प्रवक्ताबाहेकका सबै पदाधिकारी निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ।

सहमति जुटेपनि केन्द्रीय समिति भने भोलि पनि जारी रहनेछ। केन्द्रीय सदस्यहरुको बोल्ने क्रम जारी रहेकोले केन्द्रीय समिति भोलिसम्म जारी रहने कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामाले जानकारी दिए।

प्रकाशित मिति : ६ पुस २०७५, शुक्रबार  ७ : २३ बजे