७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

कांग्रेस महासमितिमा हिन्दु धर्मको पक्षमा हस्ताक्षर संकलन ‘हात्ती आयो हात्ती आयो फुस्स!’


७ पुस २०७५, शनिबार  

0
Shares

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको शुरुका दिन हिन्दु धर्मको पक्षमा हस्ताक्षर भएको हल्ला चल्यो। महासमितिमा विधान संशोधनबाहेक खासै मुद्दा नरहेकोले महासमितिका केही सदस्यहरुले हिन्दु धर्मको पक्षमा हस्ताक्षर संकलन गरेका थिए।

विभिन्न समाचारहरुमा ७ सय ८० महासमिति सदस्यले हिन्दु धर्मको पक्षमा हस्ताक्षर  गरेको जनाइएको थियो।

बैदिक सनातन हिन्दु राष्ट्र निर्माणका लागि कांग्रेस महासमिति बैठकमार्फत हिन्दु राष्ट्रका लागि भन्दै महासमिति बैठक स्थलमा हस्ताक्षर संकलन गरेको थियो।

सो अभियानमा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी, इन्द्र बानियाँ ,कर्ण मल्ल, शंकर पाण्डे, रमेश पाण्डे लगायतले हस्ताक्षर गरेका थिए ।

 

हस्ताक्षर अभियान ‘हात्ती आयो हात्ती आयो फुस्स’

कांग्रेसका सभापति शेरबहादुर देउवा केन्द्रीय समितिलाई समावेशी बनाउन उदार छन् भने महामन्त्री डा शशांक कोइरालाले देशलाई हिन्दु राष्ट्र बनाउन जनमत संग्रह गर्नुपर्ने अडान राख्दै आएका छन् । महामन्त्री कोइरालाकै आडमा देश हिन्दु राष्ट्र बनाउनुपर्ने मागसहित केही महासमिति सदस्यले हस्ताक्षर संकलन गरेका थिए ।

उक्त हस्ताक्षर सभापति देउवालाई बुझाउने भनिए पनि अहिलेसम्म बुझाइएको छैन । सम्भवत महासमिति भोलि आइतवार सकिने छ ।

हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान भयो, यसलाई पार्टीले कसरी सम्बोधन गर्छ त ? यसबारे कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘राजनीतिक दस्तावेजसँग सम्बन्धित कुरा भयो यो । भिन्न विचारलाई प्रकट गर्न दिने ठाउँ हो कांग्रे । नेपाली कांग्रेसभित्र यस्ता मत प्रकट हुन पाउँछन् । तर निर्णय भने धेरै साथीको भावना र संविधानको भावनालाई केन्द्रमा राखेर गरिनेछ ।’

प्रवक्ता यति भनेर पन्छिए । त्यसैले महासमितिमा यसले खासै ठाउँ पाउने देखिएन ।

कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले पनि हिन्दु राष्ट्र महासमितिको एजेन्डा नभएको बताएका छन् । ‘को को साथीहरुले उठाउनु भएको छ थाह भएन। पार्टीको मेन एजेन्डामा यो नआएकोले हामीले धेरै बोलेर केही हुँदैन,’ सभापति केसीले भने ।

कांग्रेस महासमिति सदस्य ल्हाक्पा ठिन्ले शेर्पाले हिन्दु राष्ट्रको वकालत गर्ने पार्टीको औचित्य नै समाप्त भएको प्रतिक्रिया दिएका छन् । शेर्पाले अहिले आएर कांग्रेसले हिन्दु राष्ट्र बनाउनुपर्छ भन्दै लाग्नु बाटो विराएजस्तै हुने बताए । भने, ‘हिन्दु राष्ट्रको पक्ष लिएर चुनावमा गएको कमल थापाको हालत के भयो ? के कांग्रेसलाई पनि त्यही बाटोमा लैजाने ?’

प्रकाशित मिति : ७ पुस २०७५, शनिबार  ७ : ५९ बजे