ङिमा पाख्रिन/न्युयोर्क
तामाङ सोसाइटी अफ न्युयोर्कको आयोजनामा “सामाजिक न्याय र परिवर्तनको लागि महिला सशक्तीकरण” विषयक कार्यक्रम सम्पन्न भएको छ ।
न्युयोर्कस्थित एल्महर्ष्ट हस्पिटलको अडिटोरियममा डिसेम्बर २२ तारिखका दिन दिउँसो १:०० देखि ६:०० बजेसम्म दुई चरणमा भएको कार्यक्रममा महिला सशक्तीकरणबारे मन्थन भएको हो ।
सबै वर्ग र उमेरका नेपाली महिलालाई शिक्षा, स्वास्थ्य, अर्थ, लैङ्गिक समानता सम्बन्धी ज्ञानको अभिवृद्धि गराउँदै प्रोत्साहित गराउन आयोजित कार्यक्रममा पूर्व डिआइजी पार्वती थापामगर, घरेलु हिंसा तथा यौन शोषणबिरुद्धको सामाजिक अभियन्ता तथा सल्लाहकार विष्णुमाया परियार, अन्तर्राष्ट्रिय अनुसन्धानविद् कविता निरौला, दन्त चिकित्सक तथा एनआरआईसिसि अमेरिकाका युवा संयोजक डा. वर्षा मोक्तान, र व्यवसायी अमृता लामा अतिथि वक्ताले आफ्नो धारणा राखेका थिए ।
दोस्रो चरणमा भएको छलफल कार्यक्रममा मोडरेटरको जिम्मा नीलिमा रुम्बा प्रधानले सम्हालेकी थिइन् । तामाङ सोसाइटी अफ न्युयोर्कका उपाध्यक्ष नीमा गोले तामाङ सभापतित्वमा भएको कार्यक्रममा तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामा प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।
कसले के भने ?
कार्यक्रमको दोस्रो चरणमा महिला सशक्तीकरणबारे अतिथि वक्ताहरूलाई विभिन्न प्रश्न सोधिएको थियो । कार्यक्रममा अभियन्ता विष्णुमाया परियारले तामाङ सोसाइटी अफ न्युयोर्कको कदमको प्रशंसा गरिन् । भनिन्, ‘पहिलो अध्यक्ष नै महिला हुनुहुन्छ । धेरै खुसी लाग्यो । यति धेरै संस्था छन् न्युयोर्कमा। तर टिएसएनले नै यो आयोजना गरेकोमा धेरै महत्त्वपूर्ण छ ।’ आफूले २५ वर्षदेखि उमेन इम्पावरमेन्टमा काम गरेको उल्लेख गर्दै विष्णुमाया परियारले कार्यक्रममा धेरै समय महिलालाई समय दिएकोमासमेत प्रशंसा गरिन्।
यसै गरी उनले सानोमा आफूले बुलिङ ब्योहरेको उल्लेख गर्दै आफ्नो बाटोमा दृढ भएर लाग्नुपर्ने बताइन् । ‘स्कुल जाँदा मलाई किन स्कुल आएकी दमैकी छोरी भएर? कपडा नसिलाएर भन्थे। तर मैले मतलब गरिनँ। किनकि म आफ्नो बाटोमा हिँडिरहेकी थिएँ।’
अर्का वक्ता कविता निरौलाले महिला सशक्तीकरणका लागि शिक्षामा जोड दिइन् । भनिन्, ‘महिला सशक्तीकरणका लागि शिक्षामा जोड दिनुपर्छ। महिला सशक्तीकरण भएमा घर बलियो हुने र देश नै बलियो हुन्छ ।’
यसका लागि दृढ हुनुपर्ने उनको सुझाव थियो । प्रहरीका काम गरेको अनुभव सुनाउँदै निरौलाले आफूले २ वर्ष दोलखामा डिएसपी भएको बताइन् । सुरुमा जिम्मेवारी दिन नै हिच्किचाउने गरेको उनको भनाई थियो । आफू जिल्लामा पुगेपछि महिलाहरूले आफ्नो पीडा लिएर आएको बताइन्। ‘हामी महिला पुरुष बराबर नै हो भन्ने सोचौँ । हामी फोकस डिटरमेन कमिटमेमेन्ट इजुकेट योरसेल्फ इन्फरमेटेड हुनुपर्छ। हामी निराशा हुनुहुँदैन,’ उनले भनिन् ।
पूर्व डिआइजी पार्वती थापा मगरले आफू अमेरिकामा आएको साढे तीन वर्षपछि पहिलो पटक यस्तो कार्यक्रम भएको उल्लेख गर्दै आयोजकको प्रशंसा गरिन् । उनले सशक्तीकरण भनेको शब्दमा नभई काममा देखिनुपर्ने बताइन् । ‘इम्पावरमेन्ट शब्दमा होइन काममा देखाउनुपर्छ,’ उनले भनिन् । कार्यक्रममा अमेरिकामा कार्यक्रम आयोजना गरी आफ्नो काम देखाउनु पनि सशक्तीकरण भएको तर्क गरिन् ।
नारीले कतिपय कुरामा आफै कमजोर सोच्ने भएकोले त्यो त्याग्नुपर्ने सुझाव दिइन् । थापाले भनिन्, ‘चाँडै बिहे गर्नुपर्छ भन्नु भएको थियो । स्कुल जाँदा यो मगरनीलाई किचिमिची पारेर घोलमा हाल्नुपर्छ भन्थे । गाउँबाट पढ्न जाने म एक्लै थिए । मैले त्यो बाधालाई नाघ्दै गए । अहिले जसले मलाई नपढ भन्थे उनीहरू आएर नमस्कार गर्छन् ।’
आफू बलियो हुनका लागि महिला नै अघि बढ्नुपर्ने उनले बताइन् । ‘सिकार भनेको तालिमप्राप्त कुकुरले मात्र गर्न सक्छ। काँधमा बसेर गर्न सकिँदैन। त्यसैले हामी आफै तालिमप्राप्त हुनुपर्छ,’ प्रहरीको अनुभव सेयर गर्दै थापाले बताइन् ।
त्यस्तै डा वर्षा मोक्तानले हरेक कार्यक्रममा महिलाको कमी हुने उदाहरण पेस गरिन् । ‘म एनआरएनमा काम गर्दा जहिले महिलाको कमी हुन्छ । महिलालाई देखाउन पनि एनआरएनमा एमसी गर्न लगाउँछन् । स्पिकरमा महिलाहरू एकदमै कमी हुन्छ ।’
आफू डाक्टर भए पनि कतिपयले नर्स नै भनेर सोध्ने गरेको उल्लेख गर्दै उनले महिला डाक्टर हुन्छन् भन्ने कुरा कमैले सोच्ने गरेको उल्लेख गरिन् । डा मोक्तानले सशक्तीकरणका घरबाटै सुरु हुनुपर्ने बताइन् । ‘इम्पावरमेन्ट घरबाट सुरु हुन्छ। छोराछोरीलाई कस्तो बनाउने परिवारको हात हुन्छ । घरमै तिमी छोरी हौ तिमीले गर्नु हुँदैन भन्यो भने त्यस्तै हुन्छ । यो त साउथ एसियन समाजबाट नै हटाउनुपर्छ। धेरै समय लाग्न सक्छ तर कुनै न कुनै दिन त हट्ला नि,’ उनले भनिन् ।
अर्का वक्ता अमृता लामाले महिला सशक्तीकरण जल्दो बल्दो विषय भएको उल्लेख गर्दै आर्थिक रूपमा बलियो हुनु नै पहिलो आधार भएको बताइन् । भनिन्, ‘यो जल्दो बल्दो विषय हो । आर्थिक क्षेत्र नै सबैभन्दा पहिलो आधार हो महिला सशक्तीकरणको । अरूको भर नपर्नु पर्ने भएपछि महिला बलियो हुन सक्छन् ।’
कार्यक्रममा वक्ताहरुलाई कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयदेखि मीटूसम्म विषयमा प्रश्न सोधिएको थियो ।
पहिलो चरणमा युवाहरूबाट सन्देशमूलक मनोरञ्जनात्मक गीत तथा नाच प्रस्तुत गरिएको थियो । भने अतिथिहरूबाट मन्तव्य व्यक्त गरेका थिए ।
यस्तो रह्यो पहिलो चरणको कार्यक्रम
तामाङ सोसाइटी अफ न्युयोर्ककी अध्यक्ष गोमा योञ्जन सभापतित्वमामा सम्पन्न पहिलो चरणको कार्यक्रममा प्रमुख अतिथि काउन्सिल जेनेरल पुष्पराज भट्टराई थिए ।
कार्यक्रमको नेपालका विभिन्न जातजातिले लगाउने भेषभुषासहितको सन्देशमूलक नाच प्रस्तुत गरिएको थियो ।
प्रमुख अतिथि महा वाणिज्यदुत पुष्पराज भट्टराईले युवाहरूको सहभागिता नै खुसी लाग्दो भएको बताए । भने, ‘भाषा र संस्कृतिको ट्रान्सफरको लागि युवाको सहभागिता चाहिन्छ । यहाँ भएको देखियो । नत्र हामी यस्ता कार्यक्रममा त कति बर्बराउँछौ । युवा नै सहभागी नभएको कार्यक्रममा बोलेर के फाइदा ।’ आफू सहभागी भएको धेरैजसो कार्यक्रम राजनीतिक भएको उल्लेख गर्दै उनले महिला सशक्तीकरण कार्यक्रममा सहभागी हुन पाउँदा निकै खुसी लागेको बताए ।
कार्यक्रमलाई शुभकामना दिँदै आदिवासी जनजाति महासङ्घ अमेरिकाका फिप्नाका उपाध्यक्ष राजकुमार विष्टले महिला उत्थान र विकासको लागि शुभ कार्यको थालनी भएको बताए । विष्टले नेपालदेखि अमेरिकासम्म महिला पुरुष दुवै एकै रथका दुई पाँग्रा भएको स्पष्ट पारे । त्यसै गरी उनले नेपालको वर्तमान स्थितिमा महिलालाई अझै सामान हक उपलब्ध नभएको उल्लेख गर्दै आमाको नामबाट नागरिकता बन्नुपर्ने धारणा राखे ।
यता गैर आवासीय नेपाली सङ्घ अमेरिकाका महासचिव बाबुराम लामाले इरानको १९ वर्षे चेलीको कथा प्रस्तुत गर्दै उनले विश्वमा चेलीहरू असुरक्षित भएको र अन्याय सहिरहेको बताए । भने, ‘नेपालको सवालमा कानुनमा यस्तो खालको विभेद छैन । हरेक सामाजिक क्षेत्रमा संरक्षणको व्यवस्था मिलाइएको छ । संरक्षण होइन सशक्तीकरणको आवश्यता छ । यो नेपालमा पनि हुनु जरुरी छ ।’ नेपालका नारीहरूलाई सशक्तीकरणको अभियान चलाएमा आफू सहयोग गर्न तत्पर रहेको उनको भनाई थियो ।
तामाङ सोसाइटी अफ नर्थ अमेरिकाका अध्यक्ष लक्यान लामाले भने गठन भएको पाँच महिनामै टिएसएनएले यस्तो कार्यक्रम गरेर उदाहरणीय काम गरेको बताए । भने, ‘अहिलेको समितिको जोस र जाँगरको तारिफ गर्नै पर्छ । लामो इतिहास बोकेको तामाङ सोसाइटी अफ अमेरिकाले पनि यति लामो काम गर्न सकेको थिएन । यो कन्सेप्टका लागि यो कार्यसमितिलाई धेरै धेरै धन्यवाद ।’
आयोजक संस्थाकी अध्यक्ष गोमा योञ्जनले कार्यक्रम निरन्तरता दिन चाहेको उल्लेख गर्दै सबैको साथ सहयोगको अपेक्षा गरेकी थिइन् । उपाध्यक्ष नीमा गोले तामाङले स्वागत मन्तब्य दिएकी थिइन् भने सचिव दिपेन्द्र लामाले संचालन संयोजन गरेका थिए ।
कार्यक्रमको डान्स कोरियोग्राफीको जिम्मेवारी विजय वाइबाले सम्हालेका थिए भने म्युजिक कम्पोजर र इडिटर कमल गुरुङ थिए ।
राष्ट्रिय गानमा रेहा तामाङ करिना तामाङ र छोयङ तामाङले साथ दिएका थिए । युवाहरूले सञ्चालन गरेको कार्यक्रममा प्रस्तुत नाचगानसमेत सन्देशमूलक थिए । कार्यक्रमको पहिलो चरण फुरसाङ योञ्जन र सोनिका लामाले सञ्चालन गरेका थिए ।
महिला सशक्तीकरकै विषयलाई निरन्तरताका साथ काम गर्न टिएसएनले टास्क फोर्स कोर ग्रुपसमेत गठन गरेको छ । उक्त समूहमा नीलिमा रुम्बा प्रधान,फुर्सङ तामाङ, सोनिका लामा, शर्मिला वाइबा, विजय वाइबा, कमल गुरुङ, छिरिङ योञ्जन, सुरज मोक्तान, सन्देश लामा, रिन्चेन तामाङ, रश्मि गौचन, याङ्जी शेर्पा र पासाङ पाख्रिन रहेका छन् ।