९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई प्रवासीको सहयोग


११ पुस २०७५, बुधबार  

0
Shares

लेबनानमा कार्यरत सिन्धुपाल्चोक निवासी मञ्जु मोक्तानले आफ्नो जन्मदिन पारेर दोलखा शैलुङको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेकी छिन् ।

शैलुङ गाउँपालिका वडा नम्बर १ स्थित सरस्वती आधारभूत विद्यालयमा सोमबार एक कार्यक्रमकाबीच  शैक्षिक सामग्री सहयोग गरेकी हुन् ।

प्रवासी तामाङ समाज कतार, दुबईबाट सञ्जिता मोक्तान, समाजसेवी चन्द्रबहादुर घिसिङ, सुकबहादुर तामाङ र लेबनानबाट मञ्जु मोक्तानको सहयोगमा ३६ जना विद्यार्थीले प्रतिव्यक्ति एक थान स्वेटर, टोपी र कापी १ दर्जन पाए ।

त्यसैगरी आर्थिक अवस्था कमजोर रहेका ३ विद्यार्थीलाई पोशाकसमेत प्रदान गरिएको छ । कक्षा १ का विशाल घले, कक्षा २ का पवित्र घले र कक्षा ३ का सनिता योञ्जनले शैक्षिक सामग्रीसहित २-२ थान पोशाक पाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालकाजी मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले सांगीतिक प्रस्तुति गरेका थिए ।

शैक्षिक सामग्री हस्तान्तरण गर्दै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष लालमाया योन्जनले विद्यालयको समग्र विकासमा सबै तह, अभिभावक, शिक्षक एवं विद्यार्थी लागिपरेमा शैक्षिक गुणस्तर सुनिश्चित हुने बताइन् । उनले भनिन्  ‘यसरी नै प्रवासमा रहेर पनि यस्तो सहयोग दिने र जुटाउने सहयोगी मनहरुप्रति आभार प्रकट गरिन् ।’

वडाध्यक्ष बिर्खबहादुर मोक्तानले बोर्डिङले विद्यार्थीलाई अल्छी बनाइरहेको बेलामा यस्तो सामुदायिक विद्यालयले जाँगारिला र अब्बल विद्यार्थी उत्पादन गरेको उल्लेख गर्दै सरस्वतीमा पढेका विद्यार्थी शिक्षक हुँदै एमबिबिएस अध्ययन गर्नेसम्मका भएकोमा गर्व गरे ।

कार्यक्रममा तामाङ डाजाङका सम्पादक एवं सैलुङ अनलाइनका प्रधानसम्पादक इन्द्रकुमार तामाङले बालबालिकालाई मातृभाषामा शिक्षा दिलाएमा तामाङ संस्कार संस्कृति नहराउने धारणा राखे ।

प्रवासी तामाङ समाज कतारको महिला विभागीय उपप्रमुख अस्मिता घिसिङले फेरि पनि सकेको सहयोग जुटाइदिन प्रयासरत रहने प्रतिबद्धता गरिन् ।

विद्यालयका प्रधानाध्यापक राम घिसिङले स्वागत तथा रामबहादुर योन्जनद्वारा संचालित गरिएको हस्तान्तरण कार्यक्रममा संयोजक एवं सैलुङ अनलाइनका प्रबन्ध निर्देशक नवराज योन्जन, तामाङ डाजाङका प्रकाशक अर्जुनबहादुर तामाङ, शिक्षक, अभिभावक संघका अध्यक्ष साङबहादुर घिसिङ, नेकपा पालिका सदस्य छोनाम्गेल मोक्तान, सिबिस नेपाल जिल्ला प्रतिनिधि तारा घिसिङ, पालिका सुपरभाइजर भिजन मोक्तान लगायतले शैक्षिक गुणस्तरमा जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति : ११ पुस २०७५, बुधबार  ८ : ५३ बजे